८ भदौ, काठमाण्डौ ।
छिमेकी मुलुक भारत पछिल्लो समय स्वाइन फ्लुको चपेटामा परेको छ । राजधानी दिल्लीसहितका राज्यहरुमा यसको संक्रमण तीव्र हुँदै जाँदा त्यसले नेपाललाई पनि आफ्नो चपेटामा पार्ने हो कि भन्ने जोखिम बढेको छ । भारतका दिल्लीसहित ६ राज्यमा स्वाइन फ्लुको संक्रमण तिब्र भएसंगै सतर्कता अपनाउन उच्च स्वास्थ्य परामर्श जारी गरिएको छ ।
नयाँ दिल्लीसहित कम्तीमा ६ वटा प्रमुख राज्यमा स्वाइन फ्लु अर्थात् एच१एन१ भाइरसको संक्रमणले गम्भीर रूप लिन थालेको हो । संक्रमणको दर अप्रत्याशित रूपमा बढेसँगै त्यहाँका स्वास्थ्य निकायहरूले उच्च सतर्कता अपनाएका छन् भने प्रभावित राज्यहरूले विशेष स्वास्थ्य परामर्श जारी गर्दै अस्पतालहरूलाई तयारी अवस्थामा रहन कडा निर्देशन दिएका छन् ।

विशेष गरी दिल्लीमा स्वाइन फ्लुको संक्रमण नियन्त्रण बाहिर गइरहेको छ । स्वास्थ्य अधिकारीहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस वर्ष हालसम्म दिल्लीमा इन्फ्लुएन्जा–ए का २ हजार ३ सय ९२ जना सङ्क्रमित फेला परिसकेका छन् । तीमध्ये १ हजार ७ सय७७ जनामा एच १एन१ अर्थात् स्वाइन फ्लु पुष्टि भएको छ ।
तुलनात्मक रूपमा हेर्दा, गत वर्षको सोही अवधिको तुलनामा यो संख्या करिब आठ गुणाले बढी हो । गत वर्ष यसै अवधिमा एच१एन१ का २ सय २९ जना मात्रै सङ्क्रमित भेटिएका थिए । गत अगस्ट २० मा मात्रै दिल्लीमा १ सय १४ नयाँ सङ्क्रमित थपिएका थिए ।
यसबाहेक, इन्फ्लुएन्जा अन्तर्गत पर्ने एच३ का १ सय ३८ र एच१ का ३७ जना सङ्क्रमित पनि पुष्टि भएका छन्, जसले गर्दा त्यहाँका अस्पतालहरूमा बिरामीको चाप उच्च बन्दै गएको छ।दिल्लीको मात्र नभई छिमेकी तथा अन्य राज्यहरूमा पनि स्वाइन फ्लुको प्रभाव गहिरिँदै गएको छ।
उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा र पञ्जाबसहितका राज्यहरूले स्वास्थ्यसम्बन्धी कडा परामर्श जारी गर्दै सम्भावित आपतकालीन स्थिति सामना गर्न अस्पतालहरूलाई तयारी अवस्थामा राखेका छन्। उत्तर प्रदेशमा मात्रै हालसम्म ३ सय ३७ जना स्वाइन फ्लु सङ्क्रमित भेटिएका छन् ।
विशेषगरी राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) सँग जोडिएका जिल्लाहरूमा संक्रमणको प्रभाव अधिक देखिएको छ। राज्यका मेरठ, गाजियाबाद र गौतमबुद्ध नगरमा मात्रै ११ जना सङ्क्रमितहरू अहिले पनि गम्भीर रूपमा उपचाररत रहेको स्वास्थ्य विभागले जनाएको छ।
हरियाणामा १ सय १९ र पञ्जाबमा ९३ जनामा स्वाइन फ्लुको संक्रमण पुष्टि भएको छ, जसले गर्दा ती क्षेत्रमा पनि स्वास्थ्य सतर्कता बढाइएको छ । उता महाराष्ट्रको मुम्बई सहरमा पनि अगस्ट १५ सम्मको तथ्याङ्क अनुसार त्यहाँ ३ सय ९ जना एच१एन१ सङ्क्रमित फेला परेका छन्।
गत वर्ष सोही अवधिमा मुम्बईमा जम्मा ७२ जना सङ्क्रमित मात्र थिए, जसले यस वर्ष संक्रमण चार गुणाभन्दा बढीले वृद्धि भएको देखाउँछ। यसैगरी, छत्तीसगढमा पनि एक जना सङ्क्रमित भेटिएको पुष्टि भएको छ।
संक्रमणको ग्राफ तीव्र गतिमा उकालो लागेपछि सर्वसाधारणमा केही हदसम्म त्रास सिर्जना भएको छ। तर, भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद् (आईसीएमआर) ले अहिले फैलिरहेको स्वाइन फ्लु कुनै पनि नयाँ भेरियन्ट नभएको स्पष्ट पारेको छ।
परिषद्का अनुसार यो भाइरस सन् २०२५ देखि नै भारतमा सक्रिय रहेको र यसको नियमित तथा कडा निगरानी भइरहेको छ। बढ्दो संक्रमणको अवस्थालाई मध्यनजर गर्दै भारतका केन्द्रीय स्वास्थ्यमन्त्री जेपी नड्डाले उच्चस्तरीय समीक्षा बैठक सम्पन्न गरेका छन ।
बैठकले रोगको निगरानीलाई थप प्रभावकारी बनाउने, परीक्षणको दायरा विस्तार गर्ने, अस्पतालको पूर्वतयारी सुनिश्चित गर्ने र सङ्क्रमित बिरामीलाई समयमै उचित उपचार उपलब्ध गराउने विषयमा राज्यहरूलाई कडा निर्देशन दिएको छ ।
विशेष गरी गम्भीर अवस्थामा पुग्न सक्ने जोखिमयुक्त बिरामीको पहिचान छिटो गर्न भनिएको छ। यता, विश्व स्वास्थ्य संगठनकी पूर्वमुख्य वैज्ञानिक डा. सौम्या स्वामीनाथनले हाल देखिएको यो संक्रमण मौसमी इन्फ्लुएन्जासँग मात्र सम्बन्धित रहेको बताएकी छन् ।
उनका अनुसार परीक्षणको दायरा फराकिलो बनाइएको र निगरानी कडा पारिएका कारण पनि सङ्क्रमितको संख्या तथ्यांकमा बढी देखिएको हुन सक्छ। त्यसैले नागरिकहरूले आत्तिहाल्नुपर्ने अवस्था नरहेको तर पूर्ण रूपमा सतर्कता अपनाउनुपर्ने उनको सुझाव छ।
विशेषज्ञहरूले विशेषगरी उच्च जोखिममा रहेका बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरूलाई भिडभाडयुक्त स्थानहरूमा जानबाट जोगिन, नियमित रूपमा मास्कको प्रयोग गर्न तथा रुघाखोकी, ज्वरो वा स्वासप्रस्वाससम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन आग्रह गरेका छन् ।




