३० असार, काठमाण्डौ ।
२४औँ बसन्त पार गर्दै गर्दा,
मसँग फूलहरूको हिसाब भन्दा बढी काँडाहरूका स्मृति छन्
मसँग जितेका युद्धहरूको सूची भन्दा हारेर उठेका बिहानहरूका कथा छन्
मसँग तालीको ध्वनी कम तर एकान्तमा बगेका आँसुहरूको प्रतिध्वनि धेरै छन्
सायद त्यही भएर होला,
म अहिले मुस्कुराउँदै गर्दा पनि
मेरो आँखाभित्र कतै एउटा पुरानो वर्षा बाँकी नै छ झै लागिरहेछ
२४ वर्ष ! कति सजिलै उच्चारण हुन्छ है यो दुई अंकको संख्या ?
तर यो संख्या होइन,
आफ्नै पसिनाले लेखिएको दुई दशक बढी लामो एक अदृश्य इतिहास हो
हरेक वर्षले एउटा सपना खोस्यो र अर्को सपना जन्मायो
हरेक चोटले एउटा आँसु झार्यो र अर्को साहस उम्रायो
हरेक बिछोडले केही खोस्यो, तर आफैंलाई भेट्ने बाटो पनि दियो
मैलै समयसँग कहिल्यै जितिनँ, तर हार पनि मानिन् नि !
त्यसैले आज म म भएर बाचिरहेको छु,
हारको भग्नावशेष माथि आशाको घर बनाउँदै,
बाबाले मेरो हात समातेर हिँडाउनुभयो,
मामुले मेरो आँसु लुकाएर मुस्कान उनीदिनुभयो
मलाई जन्म दिनुभयो,त्यो त प्रकृतिको नियम थियो
तर मलाई बारम्बार जन्माइरहनुभयो,
हरेक हारपछि,
हरेक निराशापछि,
हरेक पटक जब म आफैंलाई हराएको ठान्थेँ,
आज म सँग भएका सबैभन्दा ठूलो कुरा
तपाईंहरूको त्याग हो,
यदि मेरो नाम कहिल्यै उज्यालो भयो भने,
त्यो उज्यालोमा, मेरोभन्दा धेरै
तपाईंहरूको पसिनाको चमक हुनेछ,
मेरा लागि तपाईंहरूको सपना,
सेतो स्कार्फले सजिएको भविष्य थियो
सेतो कोटभित्र, मानिसको धड्कन सुन्ने एक सन्तान थियो
तर मेरो सपना त्यो भन्दा धेरै फरक भई दियो, कालो अक्षरको सत्य बोल्ने !
त्यसैले मैले स्टेथोस्कोप नभइ, कलम रोजेँ
मैले अस्पतालका कोठाहरू नभइ, समाजका घाउहरू रोजे
मैले माइक्रोफोन समाते,
किनकि मौनताले पनि आफ्ना आवाज खोजिरहेको थियो
मैले क्यामेरा समाते, किनकि समयका आँसुहरू ,कसैले त सुरक्षित राख्नैपथ्र्यो !
यो भन्दै गर्दा मलाई पश्चाताप महसुश भएको अर्थ नलागोस,
यति भन्न चाहन्छु,
तपाईंहरूले कल्पना गर्नुभएको सेतो कोट मैले लगाउन सकिनँ
तर हेर्नुस न आज पनि हरेक बिहान
म रङ्गीबिरङ्गी कोटहरू लगाएर
सपनाको खोजीमा निस्करहदा
म मनमनै सोच्छु ,कोटको रङ फरक होला
तर त्यसभित्र धड्किने मन,
तपाईंहरूले हुर्काएको त्यही इमानदार सन्तानको हो
मैले मेरो कमाइको पैसाले किताब किनेँ,
किताबले मलाई संसार किनिदियो,
मैले रात बेचेर, बिहानी किने
मैले आराम गुमाएर,सपना बचाएँ
त्यसैले मेरो प्रमाणपत्रमा
विश्वविद्यालयको छापभन्दा धेरै ,मेरो पसिनाको हस्ताक्षर छ
मेरा बाआमा को आशा र भरोसा छ, हैन र?
स्नातकमा मैले सामाजिक कार्य पढ्नु मेरो रोजाई थियो
सायद त्यसैले होला,
मानिसहरूलाई समाचारभन्दा पहिले
मनुष्यका रूपमा हेर्न सिके
पत्रकारिताले, प्रश्न गर्न सिकायो
सामाजिक कार्यले,सुन्न सिकायो
एउटाले आवाज दियो, अर्काले संवेदना भरिदियो
त्यही दुई नदी मिसिएर,आजको म बने
मलाई धेरैले कम आँके,
धेरैले तिरस्कारको आँखाले हेरे,
धेरैले मेरो मौनतालाई हार ठाने,
तर नदीले ढुङ्गासँग बहस कहाँ गर्छ र ? ऊ त बगिरहन्छ निरन्तर…..
किनकि उसलाई थाहा छ, समयसँगै ढुङ्गा पनि घिस्रिन्छ,
म २५औ बसन्तमा पाइला टेक्दै गर्दा,
उमेर मात्र बढेको छैन,
काँध पनि भारी भएको छ,
अब मेरा सपनाहरू, मेरा मात्र रहेनन्
मेरा पाइला,मेरा बाबा–आमाको विश्वास बोकेर हिँडीरहेका छन्
अब मेरो सफलतामा,
मेरो नामभन्दा पहिले उहाँहरूको त्याग लेखिनेछ,
कस्ले के सोच्छन ? के भन्छन ? र के उपनाम दिन्छन ?
मलाई त्यसले अब फरक पार्दैन , किनकी
मलाई अब कसैको तिरस्कारले, सानो बनाउँदैन
कसैको प्रशंसाले पनि, आकाशभन्दा माथि उडाउन सक्दैन
किनकि, मलाई जिवनले यति बुझाइसकेको छ
कि मानिसको मूल्य,अरूका शब्दले नभई,
उसले बाँचेको सत्यले तय गर्छ
म आलोचना र प्रशंसा, दुवैलाई
समान स्नेहले स्वीकार्नेर्छु
किनकि मलाई थाहा छ,
फक्रिन घामको न्यानोपन मात्र पर्याप्त हुँदैन,
वर्षाको चिसो स्पर्श पनि, उत्तिकै आवश्यक हुन्छ
हुरीले हाँगाहरू हल्लाउछ,
तर जराहरू झन गहिरा बनाइदिन्छ
त्यसैले अब मेरो यात्रा
अरूलाई प्रमाणित गर्न नभई ,
आफ्नो सत्यप्रति इमानदार रहनका लागि हुनेछ
म मेरालागी फूल हुँ ,तर मलाई थाहा छ
घामले मात्र, फूल फुल्दैन
हुरी चाहिन्छ,
वर्षा चाहिन्छ,
चिसो रात चाहिन्छ,
माटोभित्रको, लामो अँध्यारो चाहिन्छ
त्यसपछि मात्र एउटा बीउले
फूल भनेर आफ्नो परिचय दिन सक्छ
सायद म पनि त्यही बीउ हुँ
त्यसैले, मलाई भाँच्ने हातहरूलाई धन्यवाद!
किनकि ,
भाँचिएपछि मात्र, म आफूलाई नयाँ आकारमा भेट्न सके
मलाई तिरस्कार गर्ने आँखाहरूलाई धन्यवाद
किनकि ,
तिनै आँखाले मलाई आफ्नै मूल्य खोज्न सिकाए
मलाई प्रेम गर्ने हृदयहरूलाई धन्यवाद
किनकि,
तिनैले थाकेको आत्मामा फेरि एउटा बसन्त रोपिदिए
यदि मेरो परिचय कहिल्यै लेखियो भने,
त्यो मेरा शब्दले नभई
मेरा संघर्ष,
मेरा कर्म
र,
मेरो मौनताले लेख्नेछ
यात्रा यही सकिएको छैन
अहिलेसम्म त केवल
आफ्नो परिचय लेखिरहेको थिएँ
अब आफ्नो इतिहास लेख्न बाँकी छ,
हार, संघर्ष, जिम्मेवारी र सपनाबीच आफैंलाई लेखेको एक खुलापत्र : संचिता श्रेष्ठ




