अमेरिकासँग इरानले कसरी लिँदैछ बदला, एकअर्कालाई सिध्याउने ?

३० असार , काठमाण्डौ ।

Advertisement

इरान र अमेरिकाबीचको वर्तमान तनावमा यतिबेला विश्वको नजर केन्द्रित छ । विश्वको चासो केवल होर्मुज जलडमरूमध्यमा नियन्त्रणको विषयमा मात्र सीमित छैन। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको एक घोषणाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति नयाँ चासो र चिन्ता सिर्जना गरेको दाबी गरिएको छ।

उक्त दाबीअनुसार खामेनीले इरानका नागरिकको हत्या गर्ने वा आयातोल्लाह खामेनीलाई निशाना बनाउने जो–कोही पनि सजिलै उम्किन नसक्ने बताएका छन्। साथै, इरानमाथि आक्रमण गर्नेहरूमाथि बदला लिनु प्रत्येक इरानीको धार्मिक तथा नैतिक जिम्मेवारी भएको उल्लेख गरिएको छ।

Advertisement

डोनाल्ड ट्रम्पमाथि यसअघि दुई पटक आक्रमणको प्रयास भइसकेको छ। पहिलो घटना जुलाई २०२४ मा एक चुनावी ¥यालीका क्रममा भएको थियो, जहाँ उनीमाथि गोली प्रहार गरिएको थियो । आक्रमणकारी थोमस म्याथ्यु क्रुक्स घटनास्थलमै मारिएका थिए। त्यसपछि उक्त घटनामा इरानको संलग्नता रहेको आरोप सार्वजनिक रूपमा उठाइएको थियो।

तर इरानले ती आरोपलाई अस्वीकार गर्दै अमेरिकाले र इजरायलले इरानविरुद्ध वातावरण बनाउन यस्तो प्रचार गरेको दाबी गरेको थियो । यस्तै, सेप्टेम्बर २०२४ मा फ्लोरिडास्थित एक गल्फ क्लबमा पनि ट्रम्पमाथि अर्को आक्रमण प्रयास भएको थियो । ट्रम्पलाई लक्षित षड्यन्त्र वा आक्रमणसम्बन्धी विभिन्न अड्कलबाजीमा इरानसँगै रुस र इजरायलको नाम पनि बेला–बेलामा जोडिने गरेको छ।

Advertisement

यसैबीच, खामेनीको पछिल्लो घोषणाले अमेरिका–इरान सम्बन्ध र दुई देशबीचको सम्भावित युद्ध र वार्तामा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ। यस घटनाक्रमसँगै जुलाई ७ पछि अमेरिका र इरानबीचको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको दाबी पनि गरिएको छ।

उपलब्ध विवरणअनुसार, आइतबारदेखि इरानले बहराइन, ओमान, कतार, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै पाँच चरणमा आक्रमण गरेको उल्लेख गरिएको छ। संयुक्त अरब इमिरेट्स (यूएई) ले पनि लामो समयपछि मिसाइल सतर्कता जारी गर्दै आफ्नो सीमातर्फ इरानी मिसाइलको सम्भावित खतरा रहेको जनाएको थियो।

यद्यपि दुबईमा प्रत्यक्ष आक्रमण भएको पुष्टि भएको छैन। केही मिसाइलहरू बीचमै निष्क्रिय पारिएको र पछि खतरा यूएईको सीमाबाहिर रहेको जानकारी सार्वजनिक गरिएको थियो। त्यसैगरी, आइतबार इजरायललाई प्रत्यक्ष रूपमा निशाना नबनाइए पनि खाडी क्षेत्रका ती पाँच देशमा रहेका अमेरिकी सैन्य अड्डामाथि इरानले व्यापक क्षेप्यास्त्र तथा बम आक्रमण गरेको दाबी गरिएको छ।

यसबाट स्पष्ट हुने दाबी गरिएको छ कि इरानले यसपटक अरब राष्ट्रहरूलाई यस्तो अवस्थामा पु¥याउन खोजिरहेको छ, जहाँ उनीहरू पर्दापछाडि बस्न नसकी खुला रूपमा अमेरिका र इजरायलसँग मिलेर इरानविरुद्ध उभिन वा युद्धमा सहभागी हुन बाध्य होऊन्। फेब्रुअरीदेखि अप्रिलसम्म भएको द्वन्द्वका क्रममा खाडी क्षेत्रका अधिकांश देशहरूले प्रत्यक्ष रूपमा इरानविरुद्ध उभिनबाट जोगिएका थिए ।

यद्यपि ती देशहरूमा अमेरिकी सैन्य अड्डा रहेकाले अमेरिकाले ती अड्डाबाट इरानमाथि आक्रमण गरेको हो कि होइन भन्ने प्रश्न उठ्ने गरेको थियो। तर ती देशहरूले खुला रूपमा अमेरिकासँग मिलेर इरानविरुद्ध युद्धमा भाग लिएका थिएनन्। अब प्रश्न उठिरहेको छ कि, के यसपटक अरब राष्ट्रहरूले इजरायलको रणनीतिलाई समर्थन गर्दै इरानलाई प्रत्यक्ष रूपमा निशाना बनाउनेछन् ?

जुलाई ४ देखि ९ सम्म इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा सहभागी हुन विभिन्न अरब राष्ट्रहरूले आफ्ना प्रतिनिधि पठाएका थिए । यसले खामेनीको मृत्युबारे उनीहरूमा भावनात्मक दबाब रहेको संकेत गरेको दाबी गरिएको छ।

विश्लेषणअनुसार इरानले यस घटनामार्फत खाडी राष्ट्रहरूलाई अमेरिका र इजरायलको साथ छोड्न वा कम्तीमा पनि गोप्य रूपमा सहयोग गर्नुको सट्टा आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्न दबाब दिन खोजेको देखिन्छ। संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानको पछिल्लो आक्रमणलाई खाडी क्षेत्रको सार्वभौमिकतामाथिको आक्रमण भनेको छ।

तर इरानले भने ती देशहरू खाडीका राष्ट्र भएकाले होइन, त्यहाँ अमेरिकी तथा इजरायली सैन्य संरचना र हित रहेको कारण निशाना बनाएको दाबी गरिएको छ।होर्मुज जलडमरूमध्यलाई लिएर अमेरिका र इरानबीच फेब्रुअरी महिनादेखि नै तनाव बढ्दै आएको छ।

तर पछिल्लो घटनाक्रम केवल होर्मुजकै कारण भएको हो वा खामेनी परिवारबाट आएको पछिल्लो चेतावनीले पनि त्यसमा भूमिका खेलेको हो भन्ने विषय अहिले चर्चा र विश्लेषणको केन्द्रमा छ। उपलब्ध दाबीअनुसार जुलाई १२ मा अमेरिकाले दक्षिण तथा पश्चिमी इरानका करिब ३०० स्थानमा हवाई आक्रमण गरेको थियो।

अमेरिकाले ती स्थानहरूमा इरानले मिसाइल, ड्रोन र राडार प्रणाली भण्डारण गरेको दाबी गर्दै ती संरचना ध्वस्त पारिएको जनाएको थियो। तर त्यसको एक दिनअघि अर्थात् जुलाई ११ मा खामेनीका छोरा मुज्तबा खामेनीको लिखित सन्देश सार्वजनिक भएको दाबी गरिएको छ।

उक्त सन्देशमा उनले आफ्ना पिता र इरानी नागरिकको हत्या गर्नेहरू कहिल्यै शान्तिपूर्वक बाँच्न नसक्ने बताएका छन्। उनीहरू अपराधी भएको, उनीहरूको सूची तयार रहेको र उनीहरू प्राकृतिक रूपमा शान्त मृत्यु मर्न नपाउने चेतावनी दिइएको उल्लेख गरिएको छ।

उनले बदला अवश्य लिइने दाबी गर्दै आफ्नो अस्तित्व समाप्त भए पनि वा कुनै अधिकारी बाँकी नरहे पनि प्रतिशोधको अभियान जारी रहने बताएका छन्। साथै, यसलाई प्रत्येक इरानीको धार्मिक तथा नैतिक दायित्व (दैविक मिसन) को रूपमा व्याख्या गरिएको दाबी गरिएको छ।

यससँगै प्रश्न उठाइएको छ कि यही सन्देशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई थप आक्रामक बन्न प्रेरित ग¥यो? वा अमेरिका–इरान तनावको मुख्य कारण होर्मुज जलडमरूमध्य नै हो? यी दुवै विषयबीचको सम्बन्धबारे अहिले विभिन्न तहमा विश्लेषण भइरहेको छ।

८ जुलाई २०२६ मा अमेरिकी राष्ट्रपति ट्रम्पले आफू इरानको निशानामा रहेको र आफ्नो ज्यानलाई इरानबाट खतरा रहेको दाबी गरेका थिए। त्यसको केही दिनपछि, ११ जुलाईमा इरानका सर्वोच्च नेता मुज्तबा खामेनीको लिखित सन्देश सार्वजनिक भएको दाबी गरिएको छ।

उक्त सन्देशमा आफ्ना पिताको हत्या गराउने वा त्यसमा संलग्न हुनेहरू शान्तिपूर्वक बाँच्न नपाउने र बदला जुनसुकै अवस्थामा पनि लिइने उल्लेख गरिएको छ। अमेरिकामा यस विषयलाई लिएर व्यापक बहस भइरहेको दाबी गरिएको छ। केही विश्लेषणमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ट्रम्पलाई गलत जानकारी दिएको, खामेनीको हत्या भएपछि इरानमा नेतृत्व परिवर्तन हुने र जनता सरकारविरुद्ध सडकमा उत्रने विश्वास दिलाएको उल्लेख गरिएको छ।

तर दाबीअनुसार, इरानी जनता नेतृत्व परिवर्तनका लागि होइन, बरु आयातोल्लाह अली खामेनीप्रति श्रद्धाञ्जली अर्पण गर्न र उनको अन्त्येष्टिलाई ऐतिहासिक बनाउन ठूलो संख्यामा सडकमा उत्रिएका थिए। अन्त्येष्टिका क्रममा ट्रम्पविरुद्ध नाराबाजी भएको र केही ब्यानर तथा पोस्टरमा ट्रम्पलाई मार्ने चेतावनीसमेत लेखिएको दाबी गरिएको छ।

यसले ट्रम्पलाई खामेनीको हत्यापछि आफ्नो सुरक्षाबारे थप चिन्ता उत्पन्न भएको हुन सक्ने विश्लेषण गरिएको छ। यद्यपि ट्रम्पमाथिको सम्भावित खतरासम्बन्धी विभिन्न षड्यन्त्र सिद्धान्तमा रुस र इजरायलको नाम पनि जोडिने गरेको उल्लेख गरिएको छ।

त्यसअघि, ३ जुन २०२६ मा ट्रम्पले एक पोडकास्टमा मुज्तबा खामेनीसँग भेट्ने इच्छा व्यक्त गरेका थिए। उनले कुनै समय भेट हुन सके त्यो सम्मानको विषय हुने बताएका थिए। तर त्यसपछि मुज्तबा खामेनीको बदला लिने सन्देश सार्वजनिक भएपछि अमेरिका–इरान सम्बन्ध थप तनावपूर्ण बनेको विश्लेषण गरिएको छ।

यसैबीच, इरान र अमेरिकाबीच भएको एमओयू (सम्झौता) र वार्ता सफल हुन नदिन नेतन्याहूले प्रयास गरेको भन्ने दाबी पनि गरिएको छ। ट्रम्पले १७ जुनमा एमओयूमा हस्ताक्षर गरेपछि उनी इजरायलको प्रभावबाट बाहिर निस्केर युद्धको सट्टा कूटनीतिक समाधान खोज्न चाहेको सन्देश गएको विश्लेषण प्रस्तुत गरिएको छ।

त्यसपछि ११ जुलाईमा सार्वजनिक भएको मुज्तबा खामेनीको सन्देशले एमओयूको प्रभावकारितामाथि प्रश्न उठाएको र अमेरिका–इरान सम्बन्धलाई फेरि युद्धतर्फ धकेलेको दाबी गरिएको छ। यसै क्रममा अमेरिकी रिपब्लिकन सिनेटर तथा ट्रम्पका निकट सहयोगी लिन्डसी ग्राहमको १२ जुलाईमा ७१ वर्षको उमेरमा अचानक निधन भएको खबरले पनि विभिन्न अड्कलबाजीलाई बढावा दिएको उल्लेख गरिएको छ।

ग्राहम इजरायलका समर्थक मानिन्थे र अमेरिकाले इरानमाथि प्रत्यक्ष आक्रमण गर्नुपर्ने धारणा राख्दै आएका थिए। उनको निधनपछि इरानका सरकारी सञ्चारमाध्यमहरूले खुसी व्यक्त गरेको र इरानविरुद्ध आक्रमणको वकालत गर्ने व्यक्ति नरकमा गएको टिप्पणी गरेको दाबी गरिएको छ। यता, नेतन्याहूले ग्राहमलाई इजरायलको असल मित्रको संज्ञा दिएका छन् ।

ग्राहमको मृत्युलाई लिएर अमेरिका र सामाजिक सञ्जालमा विभिन्न षड्यन्त्रका चर्चा भए पनि, उनको कार्यालयले रुसको आक्रमण वा अन्य कुनै षड्यन्त्रसँग सम्बन्ध रहेको दाबी अस्वीकार गरेको जनाएको छ। यसैबीच, होर्मुज जलडमरूमध्यको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीचको विवाद अझ चर्किएको उल्लेख गरिएको छ।

दाबीअनुसार, ७ जुलाईदेखि इरानले आफ्नो प्रभाव क्षेत्रबाहिर ओमानको समुद्री मार्ग प्रयोग गरेर गएका केही जहाजमाथि आक्रमण गरेपछि अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण गरेको थियो। त्यसपछि अमेरिकाले तीन दिनमा इरानका करिब ३०० स्थानमा आक्रमण गरेको दाबी पनि गरिएको छ।

इरानको भनाइअनुसार, होर्मुज हुँदै गुज्रिने जहाजहरूले इरानसँग समन्वय गरेर मात्र यात्रा गर्नुपर्नेछ। तर अमेरिका र अन्तर्राष्ट्रिय पक्षहरूले वैकल्पिक समुद्री मार्गको प्रयास गरेपछि इरानले त्यसको विरोध गरेको दाबी गरिएको छ। पछिल्लो समय त ट्रम्पले इरानमाथि प्रतिबन्ध लगाउँदै होर्मुज आफैले चलाउने र २)० प्रतिशत कर आफैले उठाउने घोषणा गरेका छन् ।

यसले इरानलाई झनै क्रुद्ध बनाएको छ । अमेरिकाले इरानले निर्दोष नागरिक बोकेका जहाजलाई निशाना बनाएको र युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै आफ्नो सैन्य कारबाहीलाई उचित ठहराएको छ। हाल होर्मुज जलडमरूमध्यको अवस्थाबारे दुवै पक्षका दाबी फरक–फरक छन्।

इरानले जलडमरूमध्य आफ्नो नियन्त्रणमा रहेको र जहाज आवतजावत रोकिएको दाबी गरेको छ भने अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले समुद्री मार्ग खुला रहेको र अमेरिकी सुरक्षामा जहाज आवतजावत गरिरहेको जनाएको छ। दुवै देशबीचको विवाद अहिले केवल होर्मुजको नियन्त्रणमा सीमित नभई कूटनीतिक वार्ता, सुरक्षा, क्षेत्रीय प्रभाव र सैन्य शक्ति प्रदर्शनसम्म विस्तार भएको छ ।

यस्तो अवस्था लामो समयसम्म रहिरहे खाडी क्षेत्रका देश, विश्व अर्थतन्त्र तथा ऊर्जा आयातमा निर्भर सबै मुलुकहरू पनि प्रत्यक्ष प्रभावित हुन सक्ने आंकलन गरिएको छ। यसबाट इन्धनका लागि भारतसँग पूर्ण निर्भर नेपाल पनि अछुतो रहने छैन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top