३२ असार , काठमाण्डौ ।
६० बर्ष पछि उपाधि उठाउने आशामा रहेको इंग्ल्याण्ड विश्वकपको सेमिफाइनल खेलमा लिएको अग्रता जोगाउन नसक्दा चीर प्रतिद्धन्द्धी अर्जेन्टिनासँग पराजित भएको छ । साविक विजेता अर्जेन्टिनाले खेलको अन्त्यतिर सात मिनेटको अन्तरालमा दुई गोल गर्दै ’थ्री लायन्स’ लाई २–१ ले स्तब्ध बनाएको हो ।
एन्जो फर्नान्डेजको बराबरी गोल र लाउटारो मार्टिनेजको ’स्टपेज–टाइम’ (अतिरिक्त समय) को निर्णायक गोलले अर्जेन्टिनाले स्पेनविरुद्धको फाइनल भिडन्त पक्का गरेको हो ।सन् १९६६ यता पहिलो पटक विश्वकपको फाइनलमा पुग्ने अवसर इङ्गल्याण्डले गुमायो । खेलको अन्त्यतिर प्रतिद्वन्द्वी अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै लाउटारो मार्टिनेजको ’स्टपेज–टाइम’ गोलको मद्दतले २–१ को जित हासिल ग¥यो ।
अमेरिकाको एट्लान्टामा भएको खेलको निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा, एन्थोनी गोर्डनले दोस्रो हाफको सुरुवातमै गरेको गोलका कारण ’थ्री लायन्स’ अर्थात इङ्गल्याण्ड १–० ले अघि थियो । तर सात मिनेटको अन्तरालमा दुई गोल गर्दै अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन ग¥यो ।
जसमा एन्जो फर्नान्डेजले ८५औँ मिनेटमा टाढाबाट उत्कृष्ट प्रहार गर्दै खेल बराबरीमा ल्याए भने वैकल्पिक खेलाडी मार्टिनेजले ९२ औँ मिनेटमा हेडरमार्फत विजयी गोल गरे। इङ्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले आफ्नो अग्रता जोगाउने उद्देश्यले रक्षात्मक रणनीति अपनाउँदै केही खेलाडी परिवर्तन गरेपछि अर्जेन्टिनाले खेलमा पुनरागमन गर्न सफल भएको हो ।
ती परिवर्तनहरूपछि अर्जेन्टिनाले खेलमा बलियो पकड जमायो र उत्कृष्ट प्रदर्शन गर्दै खेलमा फर्कियो । यस क्रममा लियोनल मेस्सीले निर्णायक भूमिका निर्वाह गर्दै मार्टिनेजको विजयी गोलका लागि ’असिस्ट’ गरे । लिओनेल स्कालोनीको टोलीले अब न्यु जर्सीमा आइतबार हुने फाइनल खेलमा स्पेनको सामना गर्नेछ भने इङ्ल्यान्डले मियामीमा शनिबार हुने तेस्रो स्थानका लागि हुने खेलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।
युरोपियन च्याम्पियनसिपको लगातार दुईवटा फाइनल गुमाइसकेको इङ्ल्यान्डका लागि यो फेरि एकपटक ’नजिक पुगेर पनि टाढै रहने’ अवस्था बन्यो । किनभने टुचेलले खेलको बीचमा गरेका परिवर्तनहरूपछि गोर्डनले पहिलो गोल गरेदेखि मार्टिनेजले निर्णायक गोल नगर्दासम्म इङ्ल्यान्डले बलमाथि औसतमा मात्र १२ प्रतिशत नियन्त्रण कायम राख्न सकेको थियो ।
एक गोलले पछि परेको स्थिति उल्ट्याएर अन्तिम समयमा दुई गोल गर्दै लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको अर्जेन्टिनाको धैर्यतापूर्ण खेल उसको जितको कारण बन्यो । ३ पटकको विश्वविजेता अर्जेन्टिनाको यो सातौंपटक विश्वकपको फाइनल यात्रा हो । ३६ वर्षको उपाधि खडेरी तोड्दै सन् २०२२ मा विश्वकप जितेको अर्जेन्टिना लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा देखिएको छ ।
अर्जेन्टिनाले यसअघि सन् १९७८, १९८६ र २०२२ मा उपाधि जितेको जित्दा १९३०, १९९० र २०१४ मा फाइनल गुमाएको थियो । सन् १९६६ मा उपाधि जितेको इंग्ल्यान्डको यो सेमिफाइनल पराजय तेस्रोपटक हो । इंग्ल्याण्ड यसअघि १९९० र २०१८ मा पनि सेमिफाइनल पुगेर पराजित भएको थियो । खेल सुरुवातदेखि नै तनावपूर्ण रहेको थियो । पहिलो हाफको खेल गोलरहित बराबरीमा टुंगिदा सबै तीन गोल दोस्रो हाफमा सम्भव भयो ।
मोर्गन रोजर्सको क्रसमा खेलको ५५औं मिनेटमा इंग्ल्यान्डका एन्थोनी गोर्डनले गोल गर्दा अंग्रेजहरु उत्साहित देखिएका थिए । तर कप्तान लियोनल मेस्सी प्रेरित अर्जेन्टिना हार मान्ने पक्षमा थिएन । उनै मेस्सीको असिष्टमा खेलको ८५ औं मिनेट एन्जो फर्नान्डेज र अतिरिक्त समयको ९२ औं मिनेटमा मेस्सीकै असिष्टमा लाउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई बढत मात्र दिलाएन यही गोल निर्णायक बन्दा इंग्ल्याण्ड निराश बन्न पुग्यो ।
पहिलो गोल गरेपछि इंग्ल्यान्ड रक्षात्मक रणनीति अपनाउँदै अर्जेन्टिनालाई गोल गर्न नदिने प्रयास गरेको थियो । तर लगातारको प्रयास पछि अर्जेन्टिनाले डेडलक तोड्यो । जसले गर्दा खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक बन्यो ।
यो जितमा दुई असिस्ष्ट गरेका अर्जेन्टिनाका कप्तान मेस्सी फिफा विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदारीताको दौडको बलियो उम्मेद्वार बनेका छन् ।
मेस्सीले बिहीबार विहानको इंग्ल्याण्डविरुद्धको खेलसँगै विश्वकपमा सर्वाधिक ३३ खेल खेल्दै २१ गोल गर्न सफल भएका छन् भने ११ असिस्टको नयाँ कीर्तिमान कायम गरेका छन् । अर्जेन्टिनालाई लगातार दोस्रो पटक फाइनल पु¥याउँदै उपाधि रक्षाका लागि मेस्सीले बलियो र महत्वपूर्ण भुमिका खेले ।
हालसम्म विश्वकपमा मेस्सीले व्यक्तिगत उपाधि तर्फ जित्न नसकेको उपाधि भनेको गोल्डेन बुट नै हो । तर यसपटक लयमा रहेका मेस्सीको खेल हेर्दा गोल्डेन बुटको उपाधि पनि उनकै खुट्टामा सजिने सम्भावना प्रबल बनेको छ । इंग्ल्यान्ड विरुद्ध गोल गर्न सफल नभए पनि मेस्सीकै महत्वपूर्ण दुई असिस्टले इंग्ल्याण्डमाथिको जित सम्भव बनाएको थियो ।
फ्रान्सका केलियन एमबाप्पेलाई असिस्ट संख्यामा पछि पार्दै सर्वाधिक गोलकर्ताको सुचीमा मेस्सी अगाडि देखिएका हुन् । मेसी र एमबाप्पेले जारी विश्वकपमा ७ खेल खेल्दै समान ८ गोल गरेका छन् । तर मेसीको असिस्ट ४ पुग्दा एमबाप्पेको असिस्ट ३ छ । अब एम्बाप्पेले इंग्ल्याण्डसँग हुने तेस्रो स्थानको खेलमा गर्न सक्ने योगदान र मेस्सीले स्पेनविरुद्ध खेलमा देखाउन सक्ने कलामा गोल्डेन बुटको छिनोफानो निर्भर रहनेछ ।
सन् २०२२ मा फिफा विश्वकपको उपाधि जितेका मेस्सीले गोल्डेन बल अवार्ड भने दुई पटक जितिसकेका छन् । सन् २०१४ मा अर्जेन्टिनालाई फाइनल पु¥याउँदा उत्कृष्ट खेलाडी घोषित मेस्सीले पहिलो पटक गोल्डेन बल अवार्ड जित्दा सन् २०२२ मा अर्जेन्टिनाले उपाधि उठाउँदा उनले दोस्रो पटक गोल्डेन बल उक्त अवार्ड जितेका थिए ।
दुई पटक गोल्डेन बल अवार्ड जित्ने पहिलो र एक मात्र खेलाडीको कीर्तिमान पनि मेस्सीकै नाममा छ । जारी विश्वकपमा अर्जेन्टिनालाई फाइनल पु¥याएपछि मेसी पुनः गोल्डेन बलको दाबेदार देखिएका छन् भने अर्जेन्टिनालाई ६४ वर्षपछि लगातार दोस्रो पटक उपाधि जिताउने लक्ष्यमा पनि उनी कस्सिएका छन् ।
यता १–० को अग्रता पछि खेलाडी परिवर्तन गरेर हारको बाटो खोलेको भन्दै इंग्ल्याण्डका मुख्य प्रशिक्षक थोमस टुचेलको चर्को आलोचना हुन थालेको छ । आफ्नो टोली जित नजिक पुगे पनि उनीहरुको गोल पछि टोली निस्क्रिय हुन पुगेको टुचेलको स्पष्टीकरण छ ।
हार पछि सञ्चारकर्मीसँग टुचेलले भने – “हामीले ब्याक फाइभमा जाने निर्णय गर्यौं किनभने त्यहाँ धेरै खाली ठाउँहरू थिए र तिनीहरू धेरै खुला थिए। हामीले भित्री खाली ठाउँहरू बन्द गर्न र हावामा बलियो हुन यो रणनीति अपनायौं, “हामी जितको धेरै नजिक थियौं, तर अर्जेन्टिनाले पहिलो गोल गरेपछि हामी धेरै निष्क्रिय भयौं।“
उनले अगाडि भने “मेक्सिकोविरुद्धको अन्तिम १६ को खेलमा हामी १० खेलाडीमा सीमित हुँदा पनि जित हात पार्न सफल भयौ र निकै दबाबमा पर्दाको अवस्था म बुझ्न सक्छु; तर यहाँ हामीले उनीहरूविरुद्ध केही फरक रणनीति अपनाउनुपर्ने थियो । हामीले यसबाट पाठ सिक्नुपर्छ र ’युरोज’ (युरो च्याम्पियनशीप ) तर्फ ध्यान केन्द्रित गर्नुपर्छ।
यता चर्चित खेल समीक्षक रोब डोर्सेटले भने टुचेलले खेलमा भयानक गल्ती गरेको निष्कर्ष सुनाए । उनले भने – “यो प्रष्ट महसुस हुन्छ कि टुचेलले त्यो गलत गरे। नकआउट खेलहरूमा उनको उत्कृष्ट रणनीतिक दाउपेचका कारण टुचेलले बाँकी खेलमा पनि आफ्नो हात माथि राख्न सक्नु पथ्र्यो । तर महत्वपूर्ण खेलमा चुके ।
डोर्सेटले अगाडि थपे – “इङ्गल्याण्डले गोल गर्यो र आफ्नो हात माथि राख्यो पनि तर टुचेलले आधा घण्टाभन्दा बढी समयसम्म टोलीलाई रक्षात्मक खेलमा मात्र केन्द्रित गर्नु गलत रहयो, त्यसमाथि खेलाडी परिवर्तन उस्को अर्को भयानक गलत रणनीति रहयो,खेलाडी परिवर्तन लगत्तै अर्जेन्टिनाले आफुलाई खेलमा फर्काउन सकेको प्रष्ट देखियो, जो इंग्लिस टोलीका लागि भयानक अनुभूति भएर रहनेछ । ’




