अमेरिकी आक्रमणकैबीच रूसले ‘डुम्सडे’ विमान इरान पठायो

३२ असार , काठमाण्डौ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानमा थप ठूलो आक्रमण गर्ने चेतावनी दिएका छन् । बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा राष्ट्रिय सुरक्षा अधिकारीहरूसँग बैठक गर्दै उनले इरानविरुद्धको सैन्य कारबाही थप तीव्र बनाउने विषयमा छलफल गरेका छन् ।

बैठकमा उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ, संयुक्त चीफ्स अफ स्टाफका अध्यक्ष जनरल ड्यान केन, सीआईएका निर्देशक जोन र्याट्क्लिफ तथा ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफलगायत उच्च अधिकारी सहभागी थिए ।

Advertisement

बैठकअघि फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले अमेरिका आगामी तीन दिनभित्र इरानमाथि अझ शक्तिशाली आक्रमण गर्ने बताएका थिए । उनले ‘पिकएक्स माउन्टेन’माथि पनि अमेरिकाले निगरानी बढाएको उल्लेख गर्दै त्यहाँको पहाडमुनि इरानले आणविक कार्यक्रमसँग सम्बन्धित गतिविधि गरिरहेको विश्वास रहेको दाबी गरेका छन् ।

यता इरानका वरिष्ठ धर्मगुरु तथा धार्मिक शिक्षण संस्थाका प्रमुख अलिरेजा अराफीले भने अमेरिकी दबाबका कारण वासिङ्टनसँग वार्ता अघि नबढाउन सरकारलाई आग्रह गरेका छन् । बुधबार जारी विज्ञप्तिमा उनले आर्थिक कठिनाइ, युद्धको लागत वा विद्युत् केन्द्र तथा अन्य पूर्वाधारमाथि आक्रमणको जोखिमका कारण पछि हट्नु नहुने बताएका छन् ।

Advertisement

उनले इरान सरकारले इस्लामिक राष्ट्रको वैध अधिकारमा सम्झौता गर्न नहुने र अमेरिका जस्ता ‘काफिर’ राष्ट्रसँग वार्ता तथा सम्झौताको बाटोमा अघि नबढ्नुपर्ने धारणा राखेका छन् । अराफीको यो अभिव्यक्ति अमेरिकी राष्ट्रपति ट्रम्पले इरान वार्तामा नफर्किए विद्युत् केन्द्र र पुलहरूलाई निशाना बनाउने चेतावनी दिएको केही समयपछि आएको हो ।

यसैबीच इरान र अमेरिकाबीच पश्चिम एसियामा बढ्दो तनावका बीच रूसको विशेष सैन्य सञ्चार विमान तेहरानमा अवतरण गरेको छ । यससँगै रुसको उद्देश्यलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा चासो र विभिन्न अड्कलबाजी बढेका छन् । विमान ट्रयाकिङ वेबसाइट फ्लाइटराडार२४ का अनुसार दर्ता नम्बर आरए–६४५३१ तथा कलसाइन आरएसडी ४२० भएको रूसी टुपोलेभ टीयू–२१४पीयू विमान जुलाई १३ मा मस्कोबाट उडेर क्यास्पियन सागर हुँदै तेहरान पुगेको थियो।

उपलब्ध तथ्यांकअनुसार उक्त विमान स्थानीय समयअनुसार बिहान तेहरानमा अवतरण गरेको थियो । सो विमान ‘डुम्सडे एयरक्राफ्ट’ भएको ठानिएको छ । यस्ता विमान विशेष रूपमा डिजाइन गरिएका सैन्य विमान हुन्, जसको उद्देश्य परमाणु युद्ध, व्यापक सैन्य द्वन्द्व वा अन्य राष्ट्रिय आपत्कालीन अवस्थाका बेला देशको राजनीतिक तथा सैन्य नेतृत्वलाई सुरक्षित सञ्चार तथा कमाण्ड–नियन्त्रण सुविधा उपलब्ध गराउनु हो ।

यस्ता विमानलाई प्रायः ‘उड्ने कमाण्ड सेन्टर’ वा ‘फ्लाइङ कमाण्ड पोस्ट’ पनि भनिन्छ । जमिनमा रहेका कमाण्ड सेन्टरहरू नष्ट भए वा सञ्चालनमा बाधा पुगेको अवस्थामा यस्ता विमानले सुरक्षित सञ्चार, सैन्य समन्वय र रणनीतिक निर्देशनलाई निरन्तरता दिन सक्छन् ।

तर, टीयू–२१४पीयू रूसको प्रमुख आणविक युद्धकालीन कमाण्ड विमान नभई सुरक्षित सञ्चार र उच्चस्तरीय सरकारी भ्रमणका लागि प्रयोग हुने विशेष विमान हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसलाई कहिलेकाहीँ ‘डुम्सडे विमान’ भनेर उल्लेख गर्ने गरे पनि प्राविधिक रूपमा यसको भूमिका त्यसभन्दा फरक छ ।

यो विमान रूसको विशेष उडान स्क्वाड्रन अन्तर्गत सञ्चालन हुन्छ । यसपटकको उडानको उद्देश्यबारे रूस वा इरानले कुनै आधिकारिक जानकारी दिएका छैनन् । यद्यपि, यस्तो विमान प्रायः उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल वा वरिष्ठ अधिकारीहरूको भ्रमणका क्रममा प्रयोग हुने गरेको छ ।

यसअघि जुन १६ मा यही विमान उज्बेकिस्तानको राजधानी तास्कन्द पुगेको थियो, जहाँ रूसी प्रधानमन्त्री मिखाइल मिसुस्टिन औपचारिक भ्रमणमा थिए । त्यसैगरी, अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त सैन्य कारबाही सुरु गर्नुभन्दा केही दिनअघि फेब्रुअरीमा पनि यही विमान तेहरान पुगेको थियो ।

विमान फेब्रुअरी १८ सम्म दुई दिन तेहरानमा रहेको थियो । रिपोर्टहरूका अनुसार त्यसबेला यो विमान सम्भवतः रूसी ऊर्जामन्त्री सर्गेई सिभिल्योभको भ्रमणसँग सम्बन्धित थियो । त्यसको केही दिनपछि रूसी विदेशमन्त्री सर्गेई लाभरोभले पनि तेहरानको भ्रमण गरेका थिए ।

गत वर्ष नोभेम्बरमा पनि यही विमान पाकिस्तानको राजधानी इस्लामावाद पुगेको थियो । उक्त उडान पनि सिभिल्योभको भ्रमणसँग सम्बन्धित रहेको बताइएको थियो । पछिल्लो एक वर्षका सार्वजनिक उडान विवरणहरू हेर्दा टीयू–२१४पीयू प्रायः उच्चस्तरीय कूटनीतिक वा सरकारी भ्रमणसँग सम्बन्धित रहेको देखिन्छ ।

रूसले टीयू–२१४पीयू इरान किन पठायो भन्नेबारे कुनै आधिकारिक विवरण सार्वजनिक गरेको छैन। त्यसैले यसको उद्देश्यबारे भएका अधिकांश चर्चा विश्लेषकहरूको अनुमानमा आधारित छन् । एक सम्भावना अनुसार, यो उडान उच्चस्तरीय रुसी सरकारी वा कूटनीतिक प्रतिनिधिमण्डलको भ्रमणसँग सम्बन्धित हुन सक्ने बताइएको छ ।

विगतका अधिकांश सार्वजनिक उडानहरू पनि प्रधानमन्त्री, ऊर्जामन्त्री वा विदेशमन्त्रीजस्ता वरिष्ठ अधिकारीहरूको भ्रमणसँग जोडिएका थिए । अर्को सम्भावना, अमेरिका–इरान तनावका बीच रूसले इरानप्रति आफ्नो राजनीतिक समर्थनको संकेत दिन खोजेको हुन सक्ने बताइएको छ ।

यस्तो उडानले मस्को र तेहरानबीचको घनिष्ठ सम्बन्धलाई देखाउने कूटनीतिक सन्देश दिन सक्ने विश्लेषकहरूको भनाइ छ । केही सुरक्षा विश्लेषकहरूले सुरक्षित सञ्चार, सैन्य समन्वय वा प्राविधिक सहयोगसम्बन्धी छलफलका लागि पनि यस्तो विमान प्रयोग भएको हुन सक्ने अनुमान गरेका छन् ।

यद्यपि, यी कुनै पनि दाबीलाई रूस वा इरानले आधिकारिक रूपमा पुष्टि गरेका छैनन् । रूसी सरकारी सञ्चारमाध्यमका अनुसार इरानी परराष्ट्र मन्त्रालयले जुलाई १३ मा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा उक्त विमान तेहरान आएको पुष्टि गरेको थियो ।

तर भ्रमणको उद्देश्यबारे थप विवरण सार्वजनिक गरिएको छैन । टीयू–२१४पीयू को तेहरान अवतरणले अमेरिका–इरान तनावका बीच रूस–इरान सम्बन्ध र सम्भावित कूटनीतिक गतिविधिप्रति अन्तर्राष्ट्रिय चासो भने उल्लेखनीय रूपमा बढाएको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top