२ साउन , काठमाण्डौ ।
फिफाले कारबाही प्रक्रिया अघि बढाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अर्जेन्टिनाको बचाउ गरेको छ । विश्वकप फुटबलमा इंग्ल्यान्डलाई हराएर फाइनल पुगेपछि फकल्यान्ड्स द्वीपसमूहमाथिको आफ्नो दाबी समर्थन गर्ने ब्यानर प्रदर्शन गरेको विषयमा विवाद चुलिँदै जाँदा ह्वाइट हाउसले अर्जेन्टिनी टोलीको बचाउ गरेको हो ।
अर्जेन्टिनी खेलाडीहरूले सेमिफाइनल जितपछि लास माल्भिनास सन अर्जेन्टिना अर्थात् माल्भिनास अर्जेन्टिनाकै हो भनेर लेखिएको ब्यानर प्रदर्शन गरेका थिए । फिफाको राजनीतिक सन्देशसम्बन्धी नियम उल्लंघन गरेको आरोप लागेपछि अर्जेन्टिनामाथि अनुशासनात्मक कारबाही हुन सक्ने चर्चा भइरहेको छ ।
ह्वाइट हाउसको फिफा कार्यदलका प्रमुख एन्ड्र्यु जुलियानीले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिकामा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकार रहेको उल्लेख गरे । ‘संयुक्त राज्य अमेरिकामा हामी पहिलो संशोधनले दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा विश्वास गर्छौं। उनीहरूसँग त्यस्ता अभिव्यक्ति दिने अवसर र अधिकार थियो,’ उनले भने ।
जुलियानीको अभिव्यक्तिले यस विवादलाई अझ चर्काउने अनुमान गरिएको छ । बेलायत सरकारले भने फिफाले घटनाको अनुसन्धान गर्नुपर्ने मागलाई समर्थन गरेको छ । बेलायती प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटका प्रवक्ताले भने, ‘विश्वकप हाम्रो नहुन सक्छ, तर फकल्यान्ड्स द्वीप भने निश्चित रूपमा हाम्रो हो।
फकल्यान्ड्सप्रतिको हाम्रो प्रतिबद्धता कहिल्यै डगमगाउने छैन।’ डाउनिङ स्ट्रिटले अर्जेन्टिनी खेलाडीमाथि कारबाही गर्ने वा नगर्ने निर्णय फिफाको अधिकार क्षेत्रभित्र पर्ने बताए पनि विश्व फुटबलको सर्वोच्च निकायले घटनाको छानबिन गर्नुपर्ने धारणा दोहो¥याएको छ ।
फकल्यान्ड्स द्वीपसमूहको स्थानीय सरकारले पनि ब्यानरप्रति असन्तुष्टि जनाउँदै फिफाले आफ्नै नियमअनुसार यस्ता गतिविधिमाथि कारबाही गर्ने अपेक्षा गरेको जनाएको छ । सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी खेलमा राजनीति प्रवेश गराउन चाहँदैनौं। साथै, इंग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने हरेक बहसमा फकल्यान्ड्स र यहाँका बासिन्दालाई राजनीतिक हतियार बनाइएको पनि हेर्न चाहँदैनौं।’
यता अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भियारुएलले इंग्ल्यान्डविरुद्धको जितपछि सामाजिक सञ्जाल एक्समा यो खेल ‘सामान्य खेल मात्र नभएको’ उल्लेख गर्दै अर्जेन्टिनी सैनिकहरूको भिडियो साझा गरेकी थिइन् । ‘माल्भिनास अर्जेन्टिनाकै हो। उनीहरूले स्टेडियममा त्यो सन्देश लैजान रोक लगाए, तर उनीहरूले बिर्सिए कि हामी त्यसलाई आफ्नो रगत र हृदयमा बोकेर हिँड्छौं,’ उनले भनेकी छन् ।
यसअघि अन्तिम १६ को खेलमा इजिप्टलाई ३–२ ले हराएपछि पनि अर्जेन्टिनी खेलाडीहरूले माल्भिनास, डिएगो म्याराडोना र लियोनेल मेस्सीलाई जोड्ने नाराहरू गाएका थिए । दक्षिण एटलान्टिक महासागरस्थित फकल्यान्ड्स द्वीपसमूहमाथि बेलायत र अर्जेन्टिना दुवैले सार्वभौमिकताको दाबी गर्दै आएका छन् ।
सन् २०१३ मा त्यहाँ आयोजित जनमतसंग्रहमा ९० प्रतिशतभन्दा बढी मतदान भएको थियो। कुल १,५१७ मतमध्ये १,५१३ मत बेलायती विदेशी भूभागकै रूपमा रहने पक्षमा परेको थियो भने तीन मत मात्र विपक्षमा परेको थियो ।
यसअघि सन् १९८२ मा फकल्यान्ड्सको विषयलाई लिएर बेलायत र अर्जेन्टिनाबीच ७४ दिनसम्म युद्ध भएको थियो ।
त्यस युद्धमा २५५ बेलायती सैनिक, तीन स्थानीय बासिन्दा र ६४९ अर्जेन्टिनी सैनिकको मृत्यु भएको थियो । बिबिसीका अनुसार फिफाले अर्जेन्टिनाको ब्यानर प्रदर्शनबारे अनुशासनात्मक अनुसन्धान गर्ने सम्भावनाबारे औपचारिक निर्णय भने सार्वजनिक गरेको छैन । यो विवाद जारी रहँदा फिफाले विश्वकप–२०२६ को फाइनलका लागि आधिकारिक रेफ्री टोली सार्वजनिक गरेको छ ।
फाइनलका लागि स्लोभानियाका तीन र जोर्डनका दुई रेफ्री छनोट भएका छन् । स्लोभेनियाका स्लाभको भिन्चिक फाइनलको मुख्य रेफ्री रहनेछन् । यस विश्वकपमा भिन्चिकले यसअघि समूह चरणका दुई र अन्तिम–३२ का खेल खेलाइसकेका छन् । यो उनको चौथो खेल हुनेछ ।
सहायक रेफ्रीमा स्लोभेनियाकै टोमाज क्लाननिक र एन्ड्राज कोभाचिक रहने छन् । फोर्थ अफिसियलमा जोर्डनका अदम मखादमेह नियुक्त भएका छन् । जोर्डनकै मोहम्मद अल्कलाफ रिजर्भ सहायक रेफ्रीको भूमिकामा छन् । आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने फाइनलमा साबिक विजेता अर्जेन्टिनाले स्पेनको सामना गर्दै छ ।
तीनपटक विश्वकप जितेको अर्जेन्टिनाले अहिलेसम्म ६ पटक फाइनल खेलेको छ । यो सातौँ फाइनल हुनेछ । अघिल्ला ६ संस्करण हेर्ने हो भने टोली तीन फाइनल खेलमा विजयी भएको छ भने तीन खेलमा पराजित भएको छ । अर्जेन्टिनाले सफलता पाएका तीनमध्ये दुई संस्करणमा यस संस्करणझैँ अन्तिम समयमा गोल गरेर ट्रफी उचाल्न सफल भएको छ ।
यता स्पेन दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यमा मैदान उत्रिँदा सबैको ध्यान १९ वर्षीय युवा स्टार लामिन यामलमाथि केन्द्रित हुनेछ । यामलले आफ्नो करियरकै पहिलो विश्वकप खेलिरहेका छन् र पहिलो सहभागितामै टोलीलाई विश्व च्याम्पियन बनाउने अवसर पाएका छन् । स्पेनको बलियो बल नियन्त्रण (पोजेसन) आधारित खेलशैली र अनुशासित रणनीतिले टोलीलाई फाइनलसम्म पु¥याएको हो ।
सेमिफाइनलमा प्रभावशाली जित निकालेपछि प्रशिक्षक लुइस डे ला फुएन्टेको नेतृत्वमा रहेको स्पेन आत्मविश्वासका साथ उपाधि भिडन्तमा उत्रिएको छ । बार्सिलोनाका १९ वर्षीय विङ्गर यामलले दुई वर्षअघि जर्मनीमा भएको युरोपियन च्याम्पियनसिपमा स्पेनलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
यद्यपि यस विश्वकपमा ह्यामस्ट्रिङ चोटबाट पूर्ण रूपमा निको हुने क्रममा रहेकाले उनी आफ्नो उत्कृष्ट लयमा भने देखिएका छैनन् । फाइनल केवल दुई टोलीबीचको प्रतिस्पर्धा मात्र होइन, दुई प्रशिक्षकबीचको भावनात्मक भेट पनि हुनेछ। स्पेनका ६५ वर्षीय प्रशिक्षक लुइस डे ला फुएन्टे र अर्जेन्टिनाका ४८ वर्षीय लियोनल स्कालोनीबीच गुरु–शिष्यको सम्बन्ध रहेको छ ।
सन् २०२२ मा स्पेनको मुख्य प्रशिक्षक बनेका दे ला फुएन्टेले त्यसअघि युवा टोलीमा उल्लेखनीय सफलता हासिल गरेका थिए । सन् २०१८ मा स्कालोनीले व्यावसायिक प्रशिक्षक लाइसेन्सको अध्ययन गर्दा दे ला फुएन्टे उनका मार्गदर्शक थिए । स्पेनमै बसोबास गर्दै आएका र त्यहाँ पारिवारिक सम्बन्धसमेत रहेका स्कालोनीले फाइनलका लागि भने मित्रतालाई केही समयका लागि थाती राख्ने बताएका छन् ।
‘उहाँ मेरो गुरु हुनुहुन्थ्यो। मैले जानेका धेरै कुरा उहाँबाटै सिकेको हुँ। अहिले हामी विश्वकप फाइनलमा एकअर्काको सामना गर्दैछौं,’ स्कालोनीले भने । उनले थपे, ‘सबैलाई थाहा छ म स्पेनमा बस्छु र मेरो परिवार पनि स्पेनसँग जोडिएको छ। तर आइतबार म उहाँलाई हराउने पूरा प्रयास गर्नेछु।’ नेपाली समयअनुसार सोमबार बिहान पौने एक बजे फाइनल हुँदैछ ।




