आगामी ४८ घण्टा भीषण वर्षाको खतरा, कुन–कुन जिल्ला उच्च जोखिममा?

१ साउन ८३, शनिबार

२ साउन , काठमाण्डौ ।

नेपालमा मनसुन थप सक्रिय बन्दैछ । जल तथा मौसम विज्ञान विभागले आउँदो ४८ घण्टाका लागि विशेष बुलेटिन जारी गर्दै नेपालका अधिकांश क्षेत्रमा रेड अलर्ट सरहको चेतावनी दिएको छ । विशेष गरी पहाडी र तराईका जिल्लाहरूमा अति भारी वर्षाको सम्भावना छ ।

बंगालको खाडीमा विकसित भएको एउटा शक्तिशाली न्यूनचापीय प्रणाली अहिले नेपालतर्फ अघि बढिरहेको छ । यो प्रणाली हाल उत्तर–पश्चिम दिशा, अर्थात् भारत हुँदै नेपालको भूभागतर्फ सर्ने क्रममा रहेको छ । जब बंगालको खाडीबाट प्रचुर मात्रामा जलवाष्पयुक्त हावा नेपाल भित्रिन्छ र यहाँका पहाडहरूसँग ठोक्किन्छ, तब यसले छोटो समयमै ठुलो बादल निर्माण गर्छ ।

Advertisement

यही प्रणालीका कारण नेपालमा मनसुनी गतिविधि ह्वात्तै बढेको छ, जसले गर्दा आगामी दुई दिन देशका अधिकांश भूभागमा आकाश बादलले ढाकिनेछ । विशेष गरी साउन २ गते आज शनिबार र ३ गते आइतबारलाई मौसमविद्हरूले सचेत गराएका छन् । देशका अधिकांश स्थानमा बादल लाग्नेछ भने धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ ।

देशका हिमाली र पहाडी भूभागका साथै कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । सबैभन्दा बढी कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका लागि विभागले चेतावनी जारी गरेको छ ।

Advertisement

यी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा (२०० मिलिमिटरभन्दा बढी) हुने सम्भावना छ। साथै, देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ भने उच्च हिमाली भेगमा हिमपातको समेत सम्भावना रहेको छ । विशेषगरी रातिको समयमा वर्षाको मात्रा अझ बढ्ने पूर्वानुमान गरिएको छ ।

यो मौसमी प्रणालीका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्र प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ। सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीमा जुट्न सर्वसाधारण र सरोकारवाला निकायहरूलाई आग्रह गरिएको छ ।

महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेकाले पछिल्लो मौसमी सूचनाको जानकारी लिइरहन समेत सूचित गरेको छ। यस्तै, बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न २५ जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ ।

महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौँ, भक्तपुर र ललितपुर क्षेत्रका साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यसैगरी मकवानपुर, चितवन, पाल्पा, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ, रुकुम पश्चिम, डोटी, बझाङ, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा पनि आकस्मिक बाढी अर्थात् ‘फ्ल्यास फ्लड’ को मध्यम जोखिम रहने महाशाखाको प्रक्षेपण छ ।

मुख्य र ठूला नदीहरूको अवस्था भने हाल सामान्य छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली तथा यिनका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै छ। यसका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि सुरक्षित तहभित्रै रहेको बुलेटिनमा उल्लेख छ ।

महाशाखाले आगामी दुई दिनको पूर्वानुमान पनि सार्वजनिक गरेको छ। जस अनुसार भोलि र पर्सी कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेश भई बहने केही स–साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने सम्भावना छ । ती क्षेत्रका तटीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।…..

प्रकृतिलाई हामी रोक्न सक्दैनौँ, तर सही सूचना र पूर्वतयारीका माध्यमबाट यसबाट हुने क्षतिलाई अवश्य कम गर्न सक्छौँ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top