३ साउन , काठमाण्डौ ।
गत सातादेखि नै इरान र अमेरिकाबीच आक्रमण जारी छ । यसबीच दुवैतर्फ नागरिक तथा सैनिकहरुको हताहति भएको छ । शनिबार मात्रै इरानले अमेरिकी आक्रमणमा आफ्ना ३८ नागरिकको ज्यान गएको बताएको थियो । शुक्रबार भने जोर्डनमा इरानको ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमणमा परी दुई अमेरिकी सैनिकको पनि मृत्यु भएको छ ।
एकजना अझै बेपत्ता रहेको अमेरिकी सैन्य अधिकारीहरूले बताएका छन् । अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)का अनुसार चार अमेरिकी सैनिकलाई उपचारका लागि जोर्डनका अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ भने सामान्य घाइते भएका सैनिकहरू पुनः ड्युटीमा फर्किएका छन् ।
यद्यपि, अमेरिकी सैन्य अधिकारीहरूले मृत्यु भएका सैनिकहरूको परिचय, घटना भएको स्थान तथा आक्रमणसम्बन्धी थप विवरण सार्वजनिक गरेका छैनन् । यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकाले शनिबार राति फेरि इरानमाथि हवाई आक्रमण गरेको छ । सेन्टकमले यसको पुष्टि गरेको छ ।
सेन्टकमद्वारा जारी विज्ञप्तिअनुसार लगातार आठौँ रात गरिएको उक्त आक्रमणको उद्देश्य होर्मुजमा व्यावसायिक जहाजहरूका लागि खतरा उत्पन्न गर्ने इरानको क्षमतालाई थप कमजोर बनाउनु रहेको छ । विज्ञप्तिअनुसार, यी आक्रमणहरूको उद्देश्य अघिल्लो रात जोर्डनमा अमेरिकी सेनामाथि आक्रमण गर्ने इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)का फौजलाई तत्काल जवाफ दिनु रहेको छ ।
यद्यपि, यससम्बन्धी थप विवरण भने सार्वजनिक गरिएको छैन । यो घटनाक्रम अमेरिका र इरानबीच पछिल्लो एक सातादेखि पुनः तनाव बढिरहेका बेला सार्वजनिक भएको हो । अमेरिकाले इरानका बन्दरगाहमाथिको नाकाबन्दी पुनः लागू गरेको छ भने इरानले होर्मुज बन्द गरेको छ ।
दुवै देशबीच भएको युद्धविराम एक महिना पनि नपुग्दै पुनः भंग भएको छ । डोनाल्ड ट्रम्पले सैनिकहरूको मृत्यु दुःखद भएको बताउँदै इरानलाई कुनै पनि हालतमा आणविक हतियार विकास गर्न नदिइने बताएका छन् । अमेरिकी सेनाले शनिबार युद्ध सुरु भएयता पहिलोपटक इरानी आक्रमणमा आफ्ना सैनिकको मृत्यु भएको औपचारिक रूपमा पुष्टि गरेको हो ।
शुक्रबार भएको ड्रोन र मिसाइल आक्रमणमा ती सैनिक मारिएका थिए भने एकजना अझै बेपत्ता छन् । थप चारजना सैनिक घाइते भई उपचाररत छन् । यस वर्ष फेब्रुअरी २८ देखि सुरु भएको युद्धयता हालसम्म १६ अमेरिकी सैनिकको मृत्यु भएको र ४३० भन्दा बढी घाइते भएको अमेरिकी सेनाले जनाएको छ ।
इरानका सर्वोच्च नेता मोज्तबा खामेनीईले ट्रम्पको अभिव्यक्तिलाई अस्वीकार गर्दै उनको हस्ताक्षरको कुनै अर्थ नरहेको टिप्पणी गरेका छन् । उनले अमेरिका नै हालै भएको सम्झौता उल्लंघन गर्ने पक्ष भएको आरोप पनि लगाएका छन् । यता कुवेतले इरानी हवाई आक्रमणका कारण आफ्नो सरकारी तेल कम्पनीअन्तर्गतको एक इकाइमा क्षति पुगेको जनाएको छ ।
यसअघि पनि विद्युत् तथा समुद्री पानीलाई पिउने योग्य बनाउने प्लान्टमा इरानी आक्रमण भएको आरोप लगाइएको थियो । इराकको अर्बिलस्थित अमेरिकी वाणिज्य दूतावासलाई ड्रोनमार्फत निशाना बनाउने प्रयास भएको बताइएको छ। त्यसलगत्तै त्यहाँको हवाई सुरक्षा प्रणाली तत्काल सक्रिय पारिएको थियो ।
यता अमेरिकी सेन्ट्रल कमान्डका अनुसार जोर्डनमा शुक्रबार मारिएका दुई अमेरिकी सैनिकको मृत्युको बदला लिन राष्ट्रपति ट्रम्पको स्वीकृतिमा नयाँ हवाई आक्रमण सुरु गरिएको हो । केही दिनअघि पनि ट्रम्पले इरानका सबै पुल र विद्युत् गृहहरू ध्वस्त पार्ने चेतावनी दिएका थिए ।
यद्यपि अमेरिकी सेनाले हालसम्म हतियार भण्डारण स्थल र सैन्य अड्डाहरूलाई मात्र निशाना बनाइएको पुष्टि गरेको छ । पुल वा विद्युत् पूर्वाधारमाथि आक्रमण गरिएको विषयमा भने कुनै आधिकारिक पुष्टि गरिएको छैन । यसबीच इरानले राजधानी तेहरानमा एउटा नयाँ होर्डिङ बोर्ड राखेको छ, जसमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको सम्पूर्ण परिवारलाई कफिनमा देखाइएको छ ।
कफिनमा अमेरिकी झण्डा टाँसिएको छ भने पृष्ठभूमिमा ह्वाइट हाउसलाई आगोले ढाकेको चित्रण गरिएको छ । बोर्डमा ट्रम्प, उनका श्रीमती मेलानिया र पाँच सन्तानका तस्बिर पनि राखिएको छ। अनि फारसी भाषामा ’रगतको बदला रगत’ लेखिएको छ ।
सार्वजनिक होर्डिङ बोर्डमार्फत इरानले ट्रम्पलाई धम्की दिएको यो दोस्रोपटक हो । यसअघि तेहरानको एन्जलाब स्क्वायरमा एउटा बोर्ड राखिएको थियो, जसमा ट्रम्पलाई कफिनमा सुतिरहेको देखाइएको थियो । यसबीच इरानले अमेरिकी आक्रमण जारी रहे कुनै पनि सीमा सुरक्षित नहुने चेतावनी पनि दिएको छ ।
यो चेतावनी कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि इरानले आक्रमण गरेको बताइएको घटनाअघि सार्वजनिक गरिएको हो । इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीईका वरिष्ठ सैन्य सल्लाहकार तथा रिभोलुसनरी गाड्र्सका पूर्वप्रमुख मेजर जनरल मोहसेन रेजाईले इरानी सञ्चारमाध्यमसँग कुरा गर्दै अमेरिकालाई प्रत्यक्ष चेतावनी दिएका हुन् ।
रेजाईले भने, “यदि, अमेरिकी आक्रमण अझ केही दिन जारी रहे हामी युद्धलाई पूर्ण रूपमा पुनः सुरु गर्ने चरणमा प्रवेश गर्नेछौँ ।” इरानी सरकारी समाचार एजेन्सी आईआरआईबीका अनुसार, उनले इरान अब केवल बराबरीको जवाफी कारबाहीमा सीमित नरहने र त्यसपछि कुनै पनि सीमा सुरक्षित नहुने बताएका हुन् ।
उनको यो अभिव्यक्तिपछि इरानले कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डालक्षित मिसाइल प्रहार गरेको जनाइएको छ । यता अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको पानीलाई पिउनयोग्य बनाउने डिसालिनेसन (पानी शुद्धीकरण) प्लान्टहरू पनि आक्रमणको निशानामा पर्न थालेका छन् ।
इरानले शनिबार अमेरिकाले होर्मोजगान प्रान्तस्थित बोंजी डिसालिनेसन प्लान्टमा हवाई आक्रमण गरी ध्वस्त बनाएको दाबी गरेको छ । इरानी पक्षका अनुसार उक्त आक्रमणपछि आसपासका २० गाउँका करिब १० हजार बासिन्दाको खानेपानी आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार प्लान्ट नष्ट भएपछि प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक खानेपानीको व्यवस्था गर्न कठिनाइ भइरहेको छ । यसले स्थानीय बासिन्दाको दैनिक जीवनमा गम्भीर असर परेको बताइएको छ । यता, कुवेतले पनि इरानले लगातार दोस्रो दिन आफ्नो पानी शुद्धीकरण प्लान्टलाई निशाना बनाएको आरोप लगाएको छ ।
कुवेती अधिकारीहरूका अनुसार देशमा प्रयोग हुने करिब ९० प्रतिशत पिउने पानी समुद्री पानीलाई प्रशोधन गरेर उत्पादन गरिन्छ । त्यसैले यस्ता पूर्वाधारमा हुने कुनै पनि आक्रमणले देशको खानेपानी आपूर्तिमा गम्भीर संकट निम्त्याउन सक्ने चेतावनी दिइएको छ ।
कुवेतले मरुभूमि क्षेत्र भएको सानो देश भएकाले डिसालिनेसन प्लान्टहरू जीवनरेखा सरह रहेको उल्लेख गर्दै ती संरचनामा हुने क्षतिले जनजीवन नै जोखिममा पर्ने जनाएको छ । दुवै पक्षका आरोपबारे अमेरिकाले तत्काल कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।
यद्यपि पछिल्ला दिनहरूमा अमेरिका र इरानबीचको द्वन्द्वले सैन्य अखडा मात्र नभई अत्यावश्यक नागरिक पूर्वाधारहरू पनि प्रभावित हुन थालेको संकेत देखिएको छ ।




