३ साउन , काठमाण्डौ ।
विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ को उपाधिका लागि आइतबार राति दुई शक्तिशाली टोली अर्जेन्टिना र स्पेन आमनेसामने हुँदैछन् । यी दुई टोलीका रुपमा १२ औं पटक युरोप र ल्याटिन अमेरिका विश्वकपमा आमनेसामने हुन लागेका हुन् ।
एकातर्फ लगातार दोस्रो विश्वकप जितेर इतिहास रच्ने लक्ष्यमा अर्जेन्टिना छ भने अर्कोतर्फ सन् २०१० पछि दोस्रो पटक विश्व च्याम्पियन बन्ने योजनासहित स्पेन मैदान उत्रँदैछ । यस पटकको फाइनललाई केवल दुई देशबीचको प्रतिस्पर्धामात्र नभई दुई फरक फुटबल दर्शनबीचको भिडन्तका रूपमा पनि हेरिएको छ ।
अर्जेन्टिनाको भावनात्मक, आक्रामक र क्षणमै खेलको गति बदल्न सक्ने शैलीको सामना स्पेनको बल नियन्त्रण, पासिङ र सामूहिक रणनीतिले गर्नेछ । यही कारण विश्वभरका समर्थक र विश्लेषकले यस खेललाई पछिल्लो दशककै सबैभन्दा रोमाञ्चक विश्वकप फाइनलमध्ये एक मानिरहेका छन् ।
युरोप र ल्याटिन अमेरिकाका टोलीहरू बीच फाइनल प्रतिस्पर्धा हुने यो १२ औं पटक हो । यी दुई महादेशका टोलीहरू बीच भएका अघिल्ला ११ फाइनलहरूमा ल्याटिन अमेरिकी टोलीहरूले आठ पटक उपाधि जितेका छन्, जबकि युरोपेली टोलीहरूले तीन पटक मात्र जितेका छन् । यसअघि ११ विश्वकप युरोप बाहिर आयोजना भएका थिए ।
तीमध्ये नौ वटा ल्याटिन अमेरिकी टोलीले जितेका थिए भने युरोपेली टोलीले दुई पटक मात्र जितेका थिए । यद्यपि, यसले स्पेनको दाबीलाई कमजोर पार्दैन । स्पेन युरोप बाहिर विश्वकप जित्ने दुई युरोपेली टोलीहरू मध्ये एक हो । स्पेनले दक्षिण अफ्रिकामा २०१० को विश्वकपमा उपाधि जितेको थियो ।
१९३० देखि २०२२ सम्म खेलिएका २२ विश्वकपमा युरोप र ल्याटिन अमेरिकाका टोलीहरू मात्र च्याम्पियन बनेका छन् । पाँच देश भएको युरोपले १२ उपाधि जितेको छ भने तीन देश भएको ल्याटिन अमेरिकाले १० उपाधि जितेको छ । यसको अर्थ ९६ वर्षमा कुनै पनि एसियाली, अफ्रिकी वा उत्तर अमेरिकी टोली विश्व च्याम्पियन बन्न सकेको छैन ।
यस्तै हालसम्म ११ वटा विश्वकप युरोप बाहिर आयोजना भइसकेका छन् । ल्याटिन अमेरिकी टोलीहरू नौ पटक च्याम्पियन बनेका छन् । युरोपेली टोलीहरू केवल दुई पटक । स्पेन (२०१०) र जर्मनी (२०१४) मात्र युरोपेली टोलीहरू हुन् जसले युरोप बाहिर विश्वकप जितेका छन् ।
यसबीच अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप जित्नबाट केवल एक कदम टाढा छ । टोलीले २०२२ मा कतारमा तेस्रो पटक जितेको थियो । यदि यसले न्यु जर्सीमा स्पेनलाई हराएर आफ्नो उपाधि रक्षा गर्न सफल भयो भने, यो १९६२ पछि लगातार दुई पटक विश्वकप जित्ने पहिलो टोली बन्नेछ ।
अहिलेसम्म केवल दुई देशले मात्र आफ्नो विश्वकप उपाधि सफलतापूर्वक रक्षा गरेका छन– इटालीले १९३४ र १९३८ मा जितेको थियो भने ब्राजिलले १९५८ र १९६२ मा दुई पटक जितेको थियो । यता स्पेनले २०१० मा दक्षिण अफ्रिकामा भएको आफ्नो एक मात्र विश्वकप जितेको थियो ।
अब उसँग दोस्रो ट्रफी जित्ने र गैर–युरोपेली भूमिमा ल्याटिन अमेरिकाको लामो समयदेखिको प्रभुत्वलाई चुनौती दिने अवसर छ । स्पेनको विश्वकप यात्रा उतारचढावहरूले भरिएको छ। २०१० को उपाधि जितेपछि टोली २०१४, २०१८ र २०२२ मा नकआउटभन्दा अगाडि बढ्न असफल भयो।
यसैबीच, अर्जेन्टिना पछिल्ला चार विश्वकपमा तीन पटक सेमिफाइनल र दुई पटक फाइनलमा पुगेको छ । समग्रमा तीन पटक उपाधि उचालिसकेको अर्जेन्टिना अब सातौं पटक २०२६ को फाइनलमा प्रतिस्पर्धा गर्दैछ । तर फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी क्षेत्रका बहुसंख्यक फुटबल प्रशंसक अर्जेन्टिनाको विपक्षमा उभिएका छन् ।
विगतमा आफ्नो क्षेत्रको टोलीलाई समर्थन गर्ने परम्परा रहे पनि यस पटक सामाजिक सञ्जालमा भाइरल मिम्स र आलोचनाका कारण अर्जेन्टिना अपवाद बनेको छ । ब्राजिल, मेक्सिको, कोलम्बिया र चिली जस्ता देशका फुटबल प्रेमी आइतबार हुने फाइनल खेलमा लियोनेल मेसीको टोली पराजित होस् भन्ने चाहन्छन्।
सामाजिक सञ्जालमा अर्जेन्टिनाको प्रतिद्वन्द्वी स्पेनका खेलाडी लामिन यमालले ब्राजिलको जर्सी लगाएको तस्बिर भाइरल बनाउँदै त्यसलाई ‘ब्राजिलियनहरूको आशा’ भनिएको छ । कोलम्बियाली समाजशास्त्री जर्मन गोमेजका अनुसार यसअघि देखिने गरिएको क्षेत्रीय ऐक्यबद्धता यस पटक तोडिएको छ ।
डिजिटल युगमा अर्जेन्टिना फिफा र त्यसका अध्यक्ष जियानी इन्फान्टिनोको ‘प्रिय पात्र’ बनेको र उसले खेलमा रेफ्रीहरूबाट अनुचित सहयोग पाउने गरेको भाष्य बलियो बनेको छ । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले पत्रकार सम्मेलनमा सोधेको प्रश्नमा समेत सञ्चारकर्मीले स्पेनलाई समर्थन गर्ने बताएका थिए ।
यसका साथै, अर्जेन्टिनाका कट्टरपन्थी राष्ट्रपति हाभियर मिलेईको राजनीतिक छविका कारण पनि कतिपय समर्थक अर्जेन्टिनाको जित चाहँदैनन् । फ्रान्सेली टोलीका अश्वेत खेलाडीमाथि अर्जेन्टिनी खेलाडीले गरेको रंगभेदी टिप्पणी र खेलका क्रममा ब्राजिलियन एवं अश्वेत समर्थकमाथि गरिने दुव्र्यवहारले पनि विपक्षी भावना बढाएको हो ।
हालै मात्र फिफाले एक अश्वेत अमेरिकी इन्फ्लुएन्सरमाथि अर्जेन्टिनी समर्थकले गरेको रंगभेदी टिप्पणीको निन्दा गरेको थियो । यता, कप्तान लियोनेल मेसीले भने आफ्नो टोलीले मिहिनेत गरेर फाइनल यात्रा तय गरेको दाबी गरेका छन् । उनले भनेका छन्, “हामीले फेरि प्रमाणित गरेका छौँ कि कसैले हामीलाई सित्तैमा केही दिएको होइन, कसैलाई चित्त दुख्छ भने दुखोस्।”
अर्जेन्टिनाभित्रै पनि यो विरोधी भावनालाई ठट्टाको रूपमा लिँदै ‘हामी असह्य छौँ’ भन्ने नारा सार्वजनिक भइरहेका छन् । यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने अर्जेन्टिनाको टोलीलाई आफ्नो समर्थन रहने घोषणा गरेका छन् । स्पेनविरुद्ध हुने फाइनल भिडन्तको पूर्वसन्ध्यामा इजरायलका लागि अर्जेन्टिनी राजदूतले प्रधानमन्त्री नेतान्याहुलाई राष्ट्रिय टोलीको फुटबल जर्सी उपहार स्वरूप प्रदान गरेपछि उनले यस्तो घोषणा गरेका हुन् ।
राजदूत रब्बी सिमोन एक्सेल वाहनिससँगको भेटघाटका क्रममा प्रधानमन्त्री नेतान्याहुले अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेईसँग आफ्नो निकै राम्रो र घनिष्ठ सम्बन्ध रहेको उल्लेख गरे । नेतान्याहुले राष्ट्रपति मिलेईलाई एक ‘सच्चा र महान् मित्र’ को संज्ञा दिँदै इजरायलले अर्जेन्टिनालाई विभिन्न क्षेत्रमा सहयोग गरिरहेको र फाइनल खेलमा पनि आफ्नो देशको समर्थन उसैलाई रहने बताए ।
सञ्चारमाध्यमका अनुसार पछिल्लो समय अर्जेन्टिनाका राष्ट्रपति मिलेईले इजरायलसँगको सम्बन्धलाई थप सुदृढ बनाएका छन्, जसका कारण फुटबल मैदानको प्रतिस्पर्धामा राजनीतिक नेतृत्वको ऐक्यबद्धता पनि जोडिन पुगेको छ । नेतान्याहुले अर्जेन्टिनी टोलीलाई फाइनल खेलका लागि शुभकामना समेत दिएका छन् ।
यता फाइनल अघि सबैभन्दा धेरै चर्चा भने अर्जेन्टिनाका कप्तान लियोनल मेसीको भइरहेको छ । ३९ वर्षीय मेसीका लागि यो अन्तिम विश्वकप खेल हुन सक्ने अनुमान गरिएको छ । सन् २०२२ मा कतारमा विश्वकप जितिसकेका मेसीसामु अब लगातार दोस्रो विश्वकप जित्दै आफ्नो अन्तर्राष्ट्रिय करियरलाई ऐतिहासिक उचाइमा पु¥याउने अवसर छ।
अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले मेसीलाई ‘जीवित इतिहास’ भन्दै टोलीका लागि उनको योगदान अतुलनीय रहेको बताएका छन् । स्पेन भने नयाँ पुस्ताको जोशमा भरिएको टोलीका रूपमा फाइनलमा पुगेको छ। युवा प्रतिभा र अनुशासित सामूहिक खेलका कारण स्पेन प्रतियोगिताभर निकै प्रभावशाली देखिएको छ ।
बलमाथिको नियन्त्रण, छिटो पास आदानप्रदान र विपक्षीलाई दबाबमा राख्ने शैली स्पेनको सबैभन्दा ठूलो र बलियो पक्ष बनेको छ । प्रतियोगिताभर स्पेनले निकै कम गल्ती गरेको र रक्षात्मक रूपमा पनि उत्कृष्ट प्रदर्शन गरेको विश्लेषण गरिएको छ ।
फाइनलसम्मको यात्रामा दुवै टोलीले प्रभावशाली प्रदर्शन गरेका छन्। अर्जेन्टिना सेमिफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै उपाधि नजिक पुगेको हो। त्यसअघि क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड र अन्तिम १६ मा इजिप्टलाई पराजित गर्दै अर्जेन्टिना फाइनलसम्म पुगेको हो ।
स्पेनले सेमिफाइनलमा फ्रान्सलाई २–० गोलले स्तब्ध पारेको थियो भने क्वार्टरफाइनलमा बेल्जियम र अन्तिम १६ मा पोर्चुगललाई पराजित गर्दै आफ्नो उत्कृष्ट लय कायम राखेको छ । मिडफिल्डको प्रतिस्पर्धा फाइनलको निर्णायक पक्ष बन्न सक्ने विश्लेषकहरूले बताउँदै आएका छन् ।
अर्जेन्टिनाले प्रतिआक्रमणमा निकै प्रभावकारी खेल देखाएको छ भने स्पेनले लामो समय बल आफ्नो नियन्त्रणमा राख्दै विपक्षीलाई थकाउने शैली अपनाउँदै आएको छ । त्यसैले खेलको गति कसले नियन्त्रण गर्छ भन्ने पक्षले नतिजामा ठूलो प्रभाव पार्न सक्छ ।
अर्जेन्टिनाको अर्को बलियो पक्ष भनेको कठिन परिस्थितिबाट खेलमा फर्किने क्षमता हो । प्रतियोगिताभर टोलीले दबाबका क्षणमा पनि संयम गुमाएन । अनुभवी खेलाडीहरूको नेतृत्व र टोलीको मानसिक मजबुतीले अर्जेन्टिनालाई कठिन खेलहरू जिताउन मद्दत गरेको छ। यही अनुभव फाइनलमा पनि निर्णायक बन्न सक्ने देखिएको छ ।
स्पेनले भने सामूहिक खेललाई नै आफ्नो मुख्य हतियार बनाएको छ। व्यक्तिगत प्रतिभाभन्दा पनि टोलीगत समन्वय र उत्कृष्ट पासको संयोजनका कारण स्पेनले प्रतियोगिताभर विपक्षीलाई कमै मात्र अवसर दिएको छ। यस्तै प्रशिक्षकले अपनाएको रणनीतिक अनुशासनले टोलीलाई लगातार सफलता दिलाएको छ ।
फाइनल खेलमा गोलरक्षकको प्रदर्शन पनि उत्तिकै महत्वपूर्ण हुनेछ। अर्जेन्टिनाका एमिलियानो मार्टिनेज ठूला खेलमा निर्णायक बचाउ गर्न सक्षम गोलरक्षकका रूपमा परिचित छन्। अर्कोतर्फ स्पेनका रक्षक र गोलरक्षकको समन्वयले प्रतियोगिताभर निकै कम गोल खाएको तथ्यांक छ। त्यसैले फाइनलमा एउटा सानो गल्तीले पनि उपाधिको भाग्य बदल्न सक्छ ।




