५ साउन , काठमाण्डौ ।
ब्रिटिस काउन्सिलले दक्षिण एसियाका शिक्षक, अनुसन्धानकर्ता तथा शिक्षा क्षेत्रका विज्ञहरूलाई एकै मञ्चमा ल्याउने उद्देश्यसहित ‘साउथ एसिया टिचिङ इङ्लिस अनलाइन कन्फ्रेन्स २०२६’ आयोजना गर्ने भएको छ। जुलाई २३ देखि २५ सम्म सञ्चालन हुने तीनदिने सम्मेलनमा सहभागी हुन इच्छुक सबैका लागि निःशुल्क दर्ताको व्यवस्था गरिएको छ।
सम्मेलनमा सिर्जनशीलता, समावेशी शिक्षा, प्रभावकारी सञ्चार सीप तथा प्रविधिको प्रयोगमार्फत विद्यार्थीलाई बदलिँदो विश्व परिवेशका लागि कसरी सक्षम बनाउने भन्ने विषयमा छलफल हुनेछ। साथै, कृत्रिम बुद्धिमत्ता (एआई) लाई मानव–केन्द्रित शिक्षणको विकल्प नभई पूरकका रूपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषय पनि प्रमुख एजेन्डामा रहनेछ।
ब्रिटिस काउन्सिलका अनुसार दक्षिण एसियाका शिक्षा प्रणालीले पाठ्यक्रम, प्रभावकारी मूल्याङ्कन र विद्यार्थीको बदलिँदो आवश्यकताबीच सन्तुलन कायम गर्नुपर्ने चुनौती सामना गरिरहेका बेला सम्मेलनले व्यवहारिक समाधान खोज्ने प्रयास गर्नेछ।
बंगलादेश, भारत, नेपाल, पाकिस्तान र श्रीलंकाका शिक्षाविद् तथा विशेषज्ञहरूले सिर्जनशील शिक्षण, विद्यार्थी–केन्द्रित सिकाइ, आलोचनात्मक सोच, सहकार्य र समावेशी कक्षाकोठा निर्माणका विषयमा अनुभव आदान–प्रदान गर्नेछन्। सम्मेलनमा मुख्य प्रस्तुति, विषयगत छलफल, कक्षाकोठामा आधारित अभ्यास तथा अनुसन्धानमूलक सत्रहरू सञ्चालन हुनेछन्।
सहभागीहरूले दक्षिण एसियाका विभिन्न देशमा प्रयोग भइरहेका सफल शिक्षण अभ्यास, स्थानीय चुनौतीको समाधान र प्रविधिमैत्री शिक्षण पद्धतिबारे जानकारी प्राप्त गर्ने अवसर पाउनेछन्।
ब्रिटिस काउन्सिल नेपालका कन्ट्री डाइरेक्टर रुस्तम मोदीले बदलिँदो विश्वमा विद्यार्थीलाई सफल बनाउन सिर्जनशीलता, प्रभावकारी सञ्चार, सहकार्य र आलोचनात्मक सोचजस्ता सीप अत्यावश्यक रहेको बताउँदै सम्मेलनले शिक्षकको व्यावसायिक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
सम्मेलनमा नेपालका शोभा भट्टराई, आस्था कुमारी चौधरी र कृष्ण आर.सी. सहित भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका अंग्रेजी भाषा शिक्षण तथा शिक्षक विकासका क्षेत्रमा सक्रिय विज्ञहरूको सहभागिता रहनेछ।
ब्रिटिस काउन्सिलका अनुसार सम्मेलनले कक्षाकोठालाई थप समावेशी, सिर्जनशील र प्रभावकारी बनाउने नयाँ अवधारणा तथा व्यवहारिक रणनीतिबारे शिक्षकलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।




