६ साउन , काठमाण्डौ ।
अमेरिकाले इरानमाथि युद्ध जारी राख्दा त्यसको प्रत्यक्ष असर यी दुई देशलाई त परेको छ नै, खाडीका मुलुकहरु र यस क्षेत्रबाट टाढा रहेका अन्य धेरै मुलुकहरुलाई पनि परिरहेको छ । अहिले अमेरिका बढी आक्रामक हुँदा इजरायल भने इरानका मामिलामा केही शान्त देखिएको छ ।
तर उसले इरानका प्रोक्सी समूहहरुमाथि भने दबाब जारी राखेको छ । इजरायलले पनि इरानसंगको दुश्मनीको मूल्य चुकाइसकेको छ । यता स्ट्रेट अफ होर्मुज र बाब अल मन्देबमा नाकाबन्दी हुँदा थुप्रै देशहरु यसको चपेटामा आएका छन् । यसका कारण कयौं देशहरुको अर्थतन्त्रमा नै प्रत्यक्ष असर पर्न थालेको छ ।
यी जलमार्गहरुमा कयौं देशका जहाजहरु आक्रमणमा परेका छन्, त्यसमा सवार चालक दलका सदस्यहरुसहितको ज्यान समेत गइरहेको छ । तेल र अन्य मालसामान बोेकेका जहाजहरु ध्वस्त भएका छन् । अर्थात यो युद्धमा नजोडिएका देशहरुले पनि यसकै कारण जनधनको क्षति भोगिरहेका छन् ।
भारत यो मामिलामा निकै अभागी देखिएको छ । उसका जहाजहरु पटक पटक निशानमा परेका छन् भने नागरिकहरु समेत गुमाएको छ । यसैबीच फेरि साउदी अरबको कच्चा तेल बोकेर भारत र चीनतर्फ गइरहेका दुईवटा तेल ट्यांकरले लाल सागरमा बाटो बदलेर आफ्नो मार्ग परिवर्तन गरेको खबर सार्वजनिक भएको छ ।
दुवै जहाज बाब–अल–मन्देब जलमार्गतर्फ अघि बढिरहे पनि यमनका इरान समर्थित हुथी विद्रोहीहरूको धम्कीपछि फर्किएर स्वेज नहरतर्फ मोडिएका छन् । हुथी विद्रोहीहरूले सोमबार साउदी अरबविरुद्ध नौसैनिक नाकाबन्दीको घोषणा गरेका थिए । उनीहरूले विश्वभरका सिपिङ कम्पनीहरूलाई इमेलमार्फत चेतावनी दिँदै साउदी अरबका कुनै पनि बन्दरगाहमा सामान लोड वा अनलोड गर्ने जहाजहरूलाई जहाँसुकै निशाना बनाउन सकिने बताएका थिए ।
समाचार संस्था रोयटर्सका अनुसार, तीमध्ये एउटा सुपर ट्यांकर ‘सिन लोङ याङ’ सोमबार साउदी अरबको यन्बु बन्दरगाहबाट करिब २० लाख ब्यारेल कच्चा तेल बोकेर चीनका लागि प्रस्थान गरेको थियो । उक्त जहाज मंगलबार बिहान बाब–अल–मन्देब जलमार्ग पुग्नुअघि नै रोकियो र त्यसपछि ‘यु–टर्न’ लिएर स्वेज मार्गतर्फ मोडिएको थियो ।
भारततर्फ गइरहेको अर्को ट्यांकरले पनि त्यसैगरी आफ्नो मार्ग परिवर्तन गर्दै उत्तरतर्फ लागेको छ । स्ट्रेट अफ होर्मुज बन्द भएपछि साउदी अरबले आफ्नो ‘इस्ट–वेस्ट पाइपलाइन’ मार्फत कच्चा तेललाई लाल सागरस्थित यन्बु बन्दरगाहसम्म पु¥याएर त्यहाँबाट एसियाली देशहरूमा पठाइरहेको छ ।
यदि, जहाजहरूले बाब–अल–मन्देबको मार्ग प्रयोग गर्न छाडे भने उनीहरूले स्वेज नहर हुँदै अफ्रिकाको लामो समुद्री मार्ग प्रयोग गर्नुपर्नेछ । यसका कारण यात्राको दूरी हजारौँ माइलले बढ्ने, ढुवानी खर्च महँगो हुने तथा भारत, चीनलगायत एसियाली देशहरूमा तेल पुग्न थप समय लाग्नेछ । यसले विश्वव्यापी तेल आपूर्ति र समुद्री व्यापारमा समेत असर पर्ने जोखिम बढाएको छ ।
हुथी विद्रोहीहरू यमनको उत्तरी क्षेत्रमा बसोबास गर्ने जायदी शिया समुदायको एक सशस्त्र समूह हो । यसको सुरुआत सन् १९९० को दशकमा धार्मिक तथा सामाजिक आन्दोलनका रूपमा भएको थियो । हुथीहरूले तत्कालीन सरकारमाथि आफूहरूमाथि विभेद गरेको आरोप लगाउँदै आएका थिए ।
सन् २०११ मा ट्युनिसियाबाट सुरु भएको ‘अरब क्रान्ति’को लहर यमनसम्म फैलियो । त्यतिबेला करिब ३३ वर्षदेखि सत्तामा राष्ट्रपति अली अब्दुल्ला सालेह युवाको आन्दोलनपछि उनले सत्ता छाड्न बाध्य भए । फेब्रुअरी २०१२ मा अब्दरब्बु मन्सुर हादी राष्ट्रपति बने, तर उनको सरकार कमजोर रह्यो ।
हुथी विद्रोहीहरूले यही अवस्थाको फाइदा उठाउँदै सेप्टेम्बर २०१४ मा राजधानी सानामा कब्जा जमाए । सन् २०१५ मा राष्ट्रपति हादीले देश छाडेर साउदी अरबमा शरण लिए । त्यसयता यमनमा कुनै एक सरकारको पूर्ण नियन्त्रण कायम हुन सकेको छैन ।
हाल यमन विभिन्न शक्ति समूहहरूको नियन्त्रणमा विभाजित छ । हुथी विद्रोहीहरूलाई इरानको समर्थन प्राप्त छ भने अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई साउदी अरब र उसका सहयोगी राष्ट्रहरूको समर्थन छ । यता इरानले अमेरिकाले आफ्नो भूमिमाथि सैन्य आक्रमण जारी राखेसम्म रणनीतिक महत्त्वको स्ट्रेट अफ होर्मुज नखुल्ने चेतावनी दिएको छ ।
इरानी सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै सरकारी तथा अर्धसरकारी सञ्चारमाध्यमहरूले सुरक्षा अवस्था नबदलिएकाले जहाज आवागमनमा लगाइएका प्रतिबन्ध कायम रहने बताएका छन् । इरानका अनुसार जलडमरू पुनः खोल्ने वा प्रतिबन्ध कायम राख्ने निर्णय पूर्ण रूपमा सुरक्षा अवस्था र राष्ट्रिय हितका आधारमा हुनेछ ।
अमेरिकी सैन्य कारबाही नरोकिएसम्म जहाजलाई आवागमन अनुमति नदिइने इरानको अडान छ । यता अमेरिकाले भने इरानले अन्तर्राष्ट्रिय जलमार्ग नियन्त्रण गर्न नसक्ने दाबी गर्दै इरानी सैन्य पूर्वाधारमाथि थप हवाई आक्रमण जारी राखेको जनाएको छ । पछिल्ला दिनहरूमा दुवै पक्षबिच सैन्य तनाव झन् बढ्दै गएको छ ।
यसैबिच होर्मुज क्षेत्रमा व्यावसायिक जहाजमाथि आक्रमणका घटनाहरू दोहोरिन थालेका छन् । जहाज ट्र्याकिङ तथ्याङ्कअनुसार जलडमरूमार्फत हुने जहाज आवागमन उल्लेखनीय रूपमा घटेको छ, जसले विश्व ऊर्जा आपूर्तिमा थप अनिश्चितता सिर्जना गरेको छ । होर्मुज जलडमरू विश्वको सबैभन्दा महत्त्वपूर्ण समुद्री तेल मार्गमध्ये एक मानिन्छ ।
विश्वको ठूलो परिमाणमा निर्यात हुने कच्चा तेल र प्राकृतिक ग्यास यही मार्ग हुँदै ओसारपसार हुने भएकाले यहाँको तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजार र तेलको मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषण गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी जलमार्गहरुमा अमेरिकाले सुरक्षा प्रदान गर्ने बताएपनि त्यो सम्भव हुन सकिरहेको छैन ।
तर ट्रम्पले अब इरानको भूमिगत आणविक केन्द्रलाई पनि निशाना बनाउने चेतावनी दिएका छन् । उनको यो चेतावनीपछि पश्चिम एसियामा तनाव थप चर्किएको छ । ट्रम्पले ह्वाइट हाउसमा लेबनानका राष्ट्रपति जोसेफ आउनसँगको भेटका क्रममा नातान्ज नजिक रहेको –पिकएक्स माउन्टेन’ नामक भूमिगत आणविक केन्द्र चाँडै र अत्यन्त शक्तिशाली रूपमा आक्रमण गरिने बताएका छन् ।
उनले भने– ‘हामी त्यो क्षेत्रमा चाँडै नै ठुलो आक्रमण गर्नेछौँ । उनीहरूले त्यसलाई रोक्न सक्ने केही पनि छैन ।’ यता इरानको खातम अल–अनबिया सैन्य कमान्डले भने यस्तो आक्रमणलाई युद्धको थप विस्तारका रूपमा लिने चेतावनी दिएको छ । इरानले अमेरिकाका सबै हित, उसका सहयोगी र समर्थकमाथि प्रतिकारात्मक हमला गर्ने धम्की दिएको छ ।
यसअघि अप्रिलमा अमेरिका र इरानबिच युद्धविराम भएको थियो । तर गत सातादेखि स्ट्रेट अफ होर्मुजको नियन्त्रणलाई लिएर दुवै देशबिच फेरि सैन्य झडप सुरु भएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले पछिल्लो आक्रमणको उद्देश्य इरानको स्ट्रेट अफ होर्मुज क्षेत्रमा व्यापारिक जहाजलाई धम्की दिने सैन्य क्षमतालाई कमजोर बनाउनु रहेको जनाएको छ ।




