१८ वैशाख, काठमाण्डौ।
काठमाडौँ उपत्यकामा नदी किनारका सुकुम्बासी बस्तीहरूमा आज बिहानैदेखि डोजर चलेको छ। बल्खुदेखि रानीबारीसम्म फैलिएका अतिक्रमित बस्ती हटाउने सरकारी अभियान अन्तर्गत ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै घर टहरा भत्काउने काम सुरु गरिएको हो।
शहरी विकास मन्त्रालय र स्थानीय प्रशासनको समन्वयमा सञ्चालन भइरहेको यस अभियानले नदी किनारका जोखिमयुक्त क्षेत्र खाली गराउने र व्यवस्थित पुनःस्थापनाको प्रक्रिया अघि बढाउने लक्ष्य राखेको छ। विहानैदेखि बस्तीमा प्रवेश गरेका डोजरहरूले संरचना भत्काइरहँदा स्थानीय बासिन्दामा त्रास र अन्योल देखिएको छ भने सरकारले भने यसलाई विपद् जोखिम न्यूनीकरण र सार्वजनिक जग्गा संरक्षणको आवश्यक कदमका रूपमा प्रस्तुत गरेको छ ।
काठमाडौँ बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको छ। बल्खुको नदी किनार क्षेत्र अतिक्रमण गरी बनाइएका सुकुम्बासी बस्तीमा शहरी विकास मन्त्रालयले आज बिहानदेखि डोजर चलाएर संरचना भत्काउन सुरु गरेको हो। काठमाडौँ उपत्यकामा बागमती नदी तथा सहायक नदी किनारमा रहेका बस्ती आजदेखि फेरि भत्काउन सुरु गरिएको सरकारले जनाएको छ।
अहिले बल्खुमा अतिक्रमण गरी बनाइएको घर टहरा भत्काउने क्रम जारी छ । ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आजदेखि टेकुको वंशीघाट, शंखमूल, बुद्धनगर, बल्खु, कुलेश्वर, कपन, वसुन्धारा, गोंगबु, बालाजु, माछापोखरीलगायतको ठाउँमा अतिक्रमित जग्गा खाली गर्ने तयारी छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ११ मा पर्ने वंशीघाट क्षेत्रका घरहरुमा डोजर चलेको छ । आज बिहान काठमाडौं महानगरपालिकाले डोजर लगाएर अनाधिकृत बस्ती हटाउन सुरु गरेको हो । घर टहरा भत्काउन ट्रकमा लोड डरेर करिब आधा दर्जन डोजर बस्तीमा पु¥याइएको थियो ।
आज वंशीघाटसहित वडा नम्बर १४ को बल्खु, वडा नम्बर १५ को स्वयम्भु, वडानम्बर १६ को बालाजु तथा वडा नम्बर ३ र २६ मा पर्ने सामाखुशी, खाडिपाखा, रानीबारी लगायतका क्षेत्र अतिक्रमण गरिएका स्थानमा डोजर चलाउने तयारी छ । त्यसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीको टोली परिचालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै विज्ञप्ति जारी गर्दै वैशाख १८ बिहान ७ बजेबाट एकैपटक बस्ती खाली गराउने काम सुरु हुने जनाएको थियो । काठमाडौं जिल्ला भित्रका विभिन्न पालिकाहरुका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा जग्गा समेत अतिक्रमण गरी अनाधिकृत तबरबाट बर्षौदेखि बसाबास भै आएका बस्तीहरू मानवीय रुपमा उद्धार गर्न एवं विपदको जोखिम समेत मध्यनजर गरी एकैपटक विभिन्न स्थानहरुमा डोजर चलाउन सुरु हुने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
सरकारले डोजर लगाउने भनेर माइकिङ गर्न थालेपछि खोला छेउका स्थानका बासिन्दाहरु विहीबारदेखि नै बस्ती छाडेर हिँड्न थालेका थिए । सरकारले यसअघि वैशाख १२ गतेबाट काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल, मनोहरा लगायत क्षेत्रका सुकुमवासी बस्तीमा डोजर चलाएको थियो । बाँकी ठाउँमा आजबाट डोजर लगाउने प्रशासनले जनाएको छ ।
पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती हटाएको थियो। दोस्रो चरणमा उपत्यकाका नदी किनार अतिक्रमण गरेर बनाइएका थप बस्ती हटाउन थालिएको हो। बस्ती भत्काएपछि नदी किनारका बस्तीका नागरिकलाई विवरण संकलन गर्नका लागि दशरथ रंगशाला पु¥याइने मन्त्रालयले जनाएको छ।
त्यसका लागि रंगशालामा तीन वटा सहायता कक्ष सञ्चालन गरिने पनि स्थानीय प्रशासनले जनाएको छछ। पहिलो कक्षमा सूचना तथा तथ्यांक संकलन, दोस्रोमा सुकुम्बासी पहिचानका लागि स्वघोषणा फारम भर्ने तथा आवश्यक सामाजिक विवरण संकलन र तेस्रो कक्षमा गृह मन्त्रालयको टोलीद्वारा डिजिटल तथ्यांक संकलन गर्ने तयारी छ।
त्यस्तै, होल्डिङ सेन्टरमा लैजान नसकिने सरसामान जस्तै दराज, टेबुल, खाटको भण्डारण तथा सुरक्षाका लागि सुरक्षा निकायको सहयोग रहने जनाइएको छ। आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पु¥याउन पनि बसको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
संकलित विवरणका आधारमा सुकुम्बासीको पहिचान तथा प्रमाणीकरण गरिने छ। पहिचान हुन नसकेका व्यक्तिलाई भने होल्डिङ सेन्टरबाट फिर्ता पठाइनेछ। पहिचान भएका परिवारलाई निश्चित अवधिसम्म आवश्यक सहयोग प्रदान गरिने र पुनःस्थापनाका लागि थप प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।
विगतमा नदी किनार अतिक्रमण गरी भाडा वा व्यापार सञ्चालन गरेका तथा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूको छानबिन गरिने र दोषी ठहरिए कानुनी कारबाही गरिने चेतावनी पनि मन्त्रालयले दिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार एक सूचना जारी गर्दै जिल्लाका विभिन्न स्थानीय तहका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वका जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा खाली गर्न हिजो साझसम्मको समय दिएको थियो । विपद्को उच्च जोखिममा रहेकाले नदी किनाराका बस्ती हटाउन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिएका छन् ।


