८ साउन , काठमाण्डौ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेकाले आज देशभर नै मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड आज विहानैदेखि प्रभावित भएका छन् ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश साथै र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी र कर्णाली प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा मधेश प्रदेश, कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भाग तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति भने देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
कोशी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ ।
यसैबीच नेपाल प्रहरीले शुक्रबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका जनाएको हो । अविरल वर्षासँगै खसेको पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्।
प्रहरीका अनुसार काभ्रे र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै साँझ ६ बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
कान्ति लोकपथमा पनि वर्षायामभर बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलाम्मे भएपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी क्षेत्रमा पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित घोराही–थवाङ सहिद राजमार्ग, मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिना खोलास्थित नाग्म–गमगडी सडक, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङ ल्हामु सडकखण्ड, अछामको पञ्चदेवल विनायक नगरपालिका–४ पानीखोलास्थित मध्यपहाडी लोकमार्ग तथा लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ म्याग्दे भीरस्थित बेँसीसहर–चामे–मनाङ सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्।
यसैबीच, दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा तामाकोशी नदीको कटानका कारण सडक अवरुद्ध भए पनि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।




