सांसद बब्लु गुप्ताले ‘स्टन्ट’ देखाए कारबाही चाँही चालकलाई

७ साउन ८३, शुक्रबार

८ साउन , काठमाण्डौ ।

Advertisement

मोटरसाइकलको पछाडि उभिएर सांसद बब्लु गुप्ताले ‘स्टन्ट’ गर्दा ट्राफिक प्रहरीले चालकलाई कारबाही गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिरहा–१ बाट निर्वाचित सांसद गुप्ताले गुडिरहेको मोटरसाइकलमा उभिएर भिडिओ खिचेका थिए। पछाडि उभिएर ‘स्टन्ट’ गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।

यसबारे सामाजिक सञ्जालमा प्रश्न उठेपछि ट्राफिक प्रहरीले जरिवानासहित कारबाही गरेको हो। पछाडि उभिएर बब्लुले ‘स्टन्ट’ गरेपछि मोटरसाइकल चालकलाई कारबाही गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानले ट्राफिक नियम उल्लंघन गरेको कसुरमा मोटरसाइकल चालक पिताम्बर चौधरीलाई जरिवाना गराएको हो।

Advertisement

ट्राफिक प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सिरहा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित माननीय बब्लु गुप्ता सवार बागमती प्रदेश ०२–०२५ प ५२३१ नम्बरको बुलेट मोटरसाइकल चालकले ट्राफिक नियम उल्लंघन गरेको हुँदा मोटरसाइकल चालक पिताम्बर चौधरीलाई यातायात व्यवस्था ऐन, २०४९ बमोजिम ट्राफिक प्रहरीद्वारा रु.५०० (पाँच सय) जरिवाना गराइ छाडियो।’

ट्राफिक प्रहरीले चालकलाई कारबाही गर्दा सांसद गुप्तामा पश्चताप नदेखिएको तथा समान रुपमा उनलाई कारबाही नगरिएको भन्दै प्रश्न उठेको छ । ट्राफिक प्रहरीले चालकलाई कारबाहीसहितको रसिद बुझाउदा बब्लु भने पछाडि पट्टी कुनै गल्ती गरेको छनक समेत नदेखिने गरी उभिएका छन् ।

Advertisement

ट्राफिक प्रहरीले थमाएको रसिदमा पनि चालक चौधरीलाई पाँच सय रुपैयाँ जरिवाना गराएको उल्लेख छ । यद्यपि सांसद गुप्ताले सामाजिक संजालमार्फत गल्ती भएको स्वीकारेका छन्। ‘बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए। त्यही खुशी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडिओ बनाउँदा मैले ट्राफिक नियम उल्लंघन गरेको रहेछु भन्ने कुरा मैले आफैं महसुस गरेको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले यसमा माफी माग्दै लेखेका छन्, ‘मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु!’ सांसद गुप्तासँग रहेका उनका साथी रहिश खानको टिकटक आइडीबाट करिब १४ घण्टाअघि पोस्ट गरिएको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ।

भिडियोमा ‘घुमघाम सांसद बब्लु दोस्त’ क्याप्सन राखिएको छ। उनीहरू कहाँ जाँदै थिए भन्ने विषयमा सुरुवातमा खुलाइएको थिएन।पृष्ठभूमिमा ‘साइड लाग, साइड लाग, हाम्रो पारा यस्तै हो’ भन्ने ¥याप गीतसहित पोस्ट गरिएको भिडियोमा सांसद गुप्ता बागमती प्रदेश ०२–०२५ प ५२३१ नम्बरको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट पछाडि आइरहेका अन्य मोटरसाइकलहरूको भिडियो खिचिरहेको देखिन्छ ।

यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएर ट्राफिक नियम उल्लंघन गरेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ५ सय रुपैयाँ जरिमाना तिराएको थियो । यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)लाई पनि ट्राफिक नियम उल्लंघनको कसुरमा ट्राफिक प्रहरीले कारबाही गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top