१३ साउन , काठमाण्डौ ।
दक्षिणपश्चिम जापानको क्युशु टापुलाई केन्द्रबिन्दु बनाएर गएको एक अत्यन्तै शक्तिशाली भूकम्पका कारण व्यापक मानवीय तथा भौतिक क्षति भएको छ । प्राप्त विवरण अनुसार यस विपद्मा परी हालसम्म कम्तीमा १३ जनाले ज्यान गुमाएका छन्।
यस दुखद घडीमा जापानी प्रधानमन्त्री सनाए ताकाइचीले राष्ट्रका नाममा सम्बोधन गर्दै भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति गहिररो समवेदना प्रकट गरेका छन। साथै, उनले विषम परिस्थितिमा पनि ज्यानको बाजी राखेर खोज तथा उद्धारका निम्ति अहोरात्र खटिएका सुरक्षाकर्मी तथा आकस्मिक सेवाका कर्मचारीहरूप्रति उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका हुन।

घटनास्थलबाट प्राप्त विवरणअनुसार कुमामोतोस्थित व्यस्त इओन शपिङ सेन्टरको दोस्रो तला पूर्णरूपमा भत्किएको छ। उक्त भवनभित्र कैयौँ मानिसहरू फसेको आशङ्का गरिएको छ भने तीमध्ये कम्तीमा ३ जनाको मृत्यु भइसकेको जापानी राष्ट्रिय प्रसारण संस्था ले आधिकारिक रूपमा पुष्टि गरेको छ।
भवनभित्र अझै पनि धेरै नागरिकहरू जीवनरक्षाका लागि उद्धारको प्रतीक्षामा रहेकाले यसलाई “समयविरुद्धको कठिन दौड“ भन्दै प्रधानमन्त्री ताकाइचीले उद्धारकार्यलाई युद्धस्तरमा अगाडि बढाइएको जानकारी दिनुभएको छ।
यसका साथै, हाल त्यस क्षेत्रमा कायम रहेको अत्यधिक तापक्रमका कारण उत्पन्न हुन सक्ने उष्णलहर हिटभेव जस्ता समस्याबाट बच्न स्थानीय बासिन्दा र खटिएका उद्धारकर्मीहरूलाई विशेष स्वास्थ्य सावधानी अपनाउन कडा आग्रह गरिएको छ।
अमेरिकी जियोलजिकल सर्भे को तथ्याङ्क अनुसार स्थानीय समयअनुसार मङ्गलबार दिउँसो ४ः२७ बजे गएको उक्त भूकम्प ६.८ म्याग्निट्यूडको रहेको थियो। जापानको तेस्रो ठूलो र दोस्रो सर्वाधिक जनसङ्ख्या भएको क्युशु टापु अन्तर्गत पर्ने कुमामोतो सहर यसको मुख्य केन्द्रबिन्दु रहेको थियो।
यो भूकम्प जमिनमुनि अति कम अर्थात् १० किलोमिटरको गहिराइमा मात्र उत्पन्न भएका कारण यसले सतहमा ठूलो विनाश निम्त्याएको छ र यसका शक्तिशाली परकम्पहरू आगामी दिनहरूमा पनि आउन सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।
भूकम्पका कारण कुमामोतो क्षेत्रमा मात्रै करिब ३ लाख ५० हजार घरधुरीमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ, जसले गर्दा जनजीवन थप कष्टकर बनेको छ। यसबाहेक, विभिन्न स्थानहरूमा मुख्य सडकहरू तथा पुलहरू चर्किएर वा भासिएर पूर्ण रूपमा अवरुद्ध भएका छन् भने कैयौँ आवासीय तथा व्यावसायिक भवनहरूमा आगलागीका घटनासमेत घटेका छन्।
यस आपत्कालीन तथा सङ्कटपूर्ण अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनिक अधिकारीहरूले तदारुकता देखाउँदै अति जोखिमपूर्ण क्षेत्रबाट ९ हजार ८ सय ७२ जनाभन्दा बढी नागरिकहरूलाई सुरक्षित स्थानहरूमा स्थानान्तरण गरिसकेका छन्।
भौगोलिक तथा भूगर्भिक हिसाबले जापान विश्वमै सर्वाधिक भूकम्पको जोखिमयुक्त मुलुकहरूको सूचीमा पर्दछ, जहाँ वार्षिक रूपमा करिब १,५०० वटा साना तथा ठूला भूकम्पहरू जाने गरेका छन्।
यसअघि गएका विभिन्न ठूला भूकम्पहरूको इतिहासलाई स्मरण गर्दै सरकारले यसपटक पनि कुनै किसिमको लापरवाही हुन नदिन र आगामी दिनहरूमा आउन सक्ने थप शक्तिशाली परकम्पहरूबाट सुरक्षित रहन सम्पूर्ण देशवासीलाई उच्च सतर्कता अपनाउन र सरकारी सुरक्षा निर्देशिका पालना गर्न कडा निर्देशन जारी गरेको छ।




