अमेरिकामै एफ–३५बी फाइटर जेट दुर्घटना, इरानको हात ?

१६ साउन , काठमाण्डौ ।

Advertisement

इरानले अमेरिकाका तीन वटा एफ ३५ फाइटर जेट खसालेको दाबी गरिरहँदा अमेरिकामै पनि अर्को विमान दुर्घटनामा परेको छ । स्यान डिएगोमा शुक्रबार बिहान मरिन कप्र्सको एफ–३५बी फाइटर जेट मिरामार एयर बेस नजिकै दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनापछि विमानमा लागेको आगोलाई दमकलकर्मीहरूले निभाएका छन् । मरिन कप्र्सका अनुसार, पाइलट समयमै ‘इजेक्ट’ गरेर सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका छन् ।

Advertisement

उनलाई सामान्य चोट लागेको छ र उपचारका लागि अस्पताल भर्ना गरिएको छ । अधिकारीहरूले यस दुर्घटनालाई ‘क्लास ए मिसह्याप’ घोषणा गरेका छन् । यो सैन्य विमान दुर्घटनाहरूको सबैभन्दा गम्भीर श्रेणी हो ।

यसमा विमान पूर्णरूपमा नष्ट हुने, २० लाख डलर भन्दा बढीको नोक्सान हुने वा कुनै सैनिकको मृत्यु हुने जस्ता अवस्थाहरू पर्दछन् । एउटा एफ–३५बी फाइटर जेटको मूल्य करिब १०९ मिलियन डलर रहेको बताइन्छ ।

Advertisement

एफ–३५बी अमेरिकाको निकै अत्याधुनिक र राडारको आँखा छल्न सक्ने ‘स्टेल्थ’ फाइटर जेट हो । यसको सबैभन्दा ठूलो विशेषता भनेको यो निकै छोटो दुरीबाट उडान भर्न सक्छ र हेलिकप्टर जस्तै सिधै तल ओर्लन (भर्टिकल ल्यान्डिङ गर्न) पनि सक्छ ।

यसको प्रयोग अमेरिकी मरिन कप्र्स, नौसेना र वायुसेनाले गर्दछन्। पछिल्लो एक महिनामा अमेरिकी मरिन कप्र्सको एफ–३५बी सँग जोडिएको यो दोस्रो ठूलो दुर्घटना हो । यसअघि वासिङ्टनमा पनि एउटा एफ–३५बी जेट दुर्घटनाग्रस्त भएको थियो।

अहिले यस नयाँ दुर्घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको छ । उता इरानको आईआरजीसीले पनि जोर्डनको अल–अजराक हवाई अड्डामा तीन अमेरिकी एफ–३५ लडाकु विमान नष्ट गरिएको दाबी गरेको छ ।

आईआरजीसीले जोर्डनको अल–अजराक हवाई अड्डामा क्षेप्यास्त्रले आक्रमण गर्दा तीन अमेरिकी एफ–३५ लडाकु विमान ‘पूर्ण रूपमा नष्ट’ भएको र अन्य तीनवटामा गम्भीर क्षति भएको दाबी गरेको हो ।

यो दाबीलाई अमेरिका वा जोर्डनका अधिकारी तथा स्वतन्त्र स्रोतहरूले अझै पुष्टि गरेका छैनन् । आईआरजीसीको जनसम्पर्क विभागले यो आक्रमण केसम टापुमा दुई आवासीय घरमा अमेरिकाले गरेको हवाई आक्रमणको बदला भनेको छ ।

आईआरजीसीले अल–अजराक हवाई अड्डामा गरिएको आक्रमणमा धेरै जना अमेरिकी अधिकारी र प्राविधिक कर्मचारी मारिएको दाबी पनि गरेको छ। तर संख्या दिएको छैन । यसअघि जोर्डन सेनाले इरानबाट प्रहार गरिएका पाँच क्षेप्यास्त्र नष्ट गरिएको र आक्रमणमा कोही हताहत नभएको दाबी गरेको थियो ।

अमेरिकाले भने आक्रमणमा एफ–३५ लडाकु विमान नष्ट भएको वा आफ्ना सेना हताहत भएको सम्बन्धमा अहिलेसम्म केही बताएको छैन । यसैबीच डोनाल्ड ट्रम्पले शुक्रबार राति क्याम्प डेभिडमा मन्त्रिपरिषद्को बैठक गरेका छन् ।

यस क्रममा उनले इरानबारे बोल्दै आफूलाई अब इरानमाथि भरोसा नरहेको बताएका छन् । क्याम्प डेभिडको बैठकमा ट्रम्पले भने, ‘इरान झुट बोल्छ, गलत जानकारी दिन्छ। कुराकानी गर्ने कुरा त गर्छ, तर बारम्बार आफ्नो वाचाबाट पछि हट्छ।’

यद्यपि, ट्रम्पले दुई देशबीच अझै पनि कुराकानी भइरहेको स्पष्ट पारेका छन् । उनले अमेरिकाको तर्फबाट स्टिभ विटकफ, जेडी भ्यान्स, मार्को रुबियो र जेरेड कुश्नरले वार्ता सम्हालिरहेको जानकारी दिए ।

उता, अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारमा ठूलो हमलाको तयारी गरिरहेका खबर सार्वजनिक भएको छ । सीबीएस न्युजको रिपोर्टअनुसार, यस सप्ताहन्तमा विद्युत् प्लान्ट र तेल रिफाइनरीहरूलाई निसाना बनाउने गरी अमेरिकाले तयारी गरिरहेको छ ।

यद्यपि, ट्रम्पले यसलाई अन्तिम स्वीकृति दिइसकेका छैनन् । दुवै देशबीच हमलालाई लिएर समन्वय भइरहेको छ र क्याम्प डेभिडको क्याबिनेट बैठकमा पनि यस योजनाबारे छलफल भएको थियो ।

उता, इरानका एक वरिष्ठ अधिकारीले यदि अमेरिकाले हमला गरेमा त्यसको पूर्ण तयारीका साथ जवाफ दिइने चेतावनी दिएका छन् । उनका अनुसार, जवाफी कारबाहीमा अमेरिका र इजरायलका महत्त्वपूर्ण सैन्य अखडा र पूर्वाधारहरूलाई निसाना बनाइनेछ ।

तर, अमेरिकाको तर्फबाट सम्भावित नयाँ हमलाको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भएको छैन। रक्षा मन्त्रालयले पनि यसबारे कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ । पेन्टागनले इरान युद्धका क्रममा प्रयोग भएका मिसाइलहरूको भण्डार पुनः भर्न १८.२ अर्ब डलरको आपतकालीन कोष माग गरेको छ ।

अमेरिका–इरान तनावको असर समुद्री व्यापारमा स्पष्ट देखिन थालेको छ। सिप ट्र्याकिङ कम्पनी केप्लरका अनुसार, होर्मुज स्ट्रेट भएर जाने जहाजहरूको सङ्ख्या एकै दिनमा ७७ प्रतिशतले घटेको छ ।

बुधबार २२ वटा जहाज निस्किएकोमा बिहीबार यो सङ्ख्या घटेर जम्मा ५ मा सीमित भएको छ । इरानको राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकालाई चेतावनी दिँदै यदि आफ्ना दक्षिणी बन्दरगाहहरूको समुद्री नाकाबन्दी जारी रहेमा विश्वको ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने बताएको छ।

यस्तो अवस्थामा होर्मुज स्ट्रेटमाथिको नियन्त्रण अझ कडा पारिने र अन्य समुद्री मार्ग पनि प्रभावित हुन सक्ने इरानले सङ्केत गरेको छ । अल जजिराका अनुसार, इरानको इसारा बाब अल–मन्देब जलसन्धि र गल्फ अफ एडेनतिर हुन सक्छ, जहाँ इरान समर्थित हुथी विद्रोहीहरूको प्रभाव छ ।

हुथी विद्रोहीहरूले बाब अल–मन्देब स्ट्रेट भएर जाने जहाजहरूसँग कुनै शुल्क नलिइने बताएका छन्।

मिडियामा आएका शुल्क असुल्ने दाबीलाई खारेज गर्दै समूहको मानवीय अपरेसन समन्वय केन्द्रले भनेको छ, ‘बाब अल–मन्देबबाट हिड्न पूर्ण रूपमा निःशुल्क छ। हाम्रोतर्फबाट प्रतिबन्ध नलागेका जहाजहरू पहिले जस्तै सुरक्षित रूपमा आवतजावत गर्न सक्छन्।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top