१९ साउन , काठमाण्डौ ।
हालै विभिन्न सञ्चारमाध्यममा बैंक, यसको सञ्चालक समिति तथा व्यवस्थापनविरुद्ध प्रकाशित समाचारप्रति प्रभु बैंक लिमिटेडले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माद्वारा जारी विज्ञप्तिमा प्रकाशित सामग्री भ्रामक, आधारहीन तथा तथ्यहीन रहेको उल्लेख गर्दै बैंकले ती समाचारको खण्डन गरेको हो।


कर्मचारी सरुवा, कार्य जिम्मेवारी हेरफेर, कर्जा असुली तथा धितो लिलामीसम्बन्धी सूचना प्रकाशनजस्ता गतिविधि प्रचलित कानुन, नियामकीय व्यवस्था र संस्थागत अभ्यासअनुसार नियमित रूपमा सञ्चालन हुँदै आएको बैंकको प्रस्टोक्ति रहेको छ ।
यस्ता नियमित प्रशासनिक तथा व्यावसायिक प्रक्रियालाई तोडमोड गरी अतिरञ्जित रूपमा प्रस्तुत गर्नु पत्रकारिताको व्यावसायिक आचारसंहिताअनुकूल नहुने बैंकको दाबी गरेको छ ।

हालै बैंकका सहायक महाप्रबन्धक (एजीएम) रमेश कुमार श्रेष्ठलाई चिफ बिजनेस अफिसरको जिम्मेवारीबाट धनगढी शाखामा सरुवा गरिएपछि त्यसलाई लिएर विभिन्न समाचार सार्वजनिक भएका थिए।
केही सञ्चारमाध्यमले ठूलो परिमाणको धितो लिलामी प्रक्रियामा असहमति जनाएकै कारण उनलाई सरुवा गरिएको दाबी गरेका थिए। यद्यपि, ती दाबीको कुनै तथ्यगत आधार नरहेको उल्लेख गर्दै आफ्नो सम्पूर्ण प्रशासनिक निर्णय संस्थागत आवश्यकता, कानुनी व्यवस्था र आन्तरिक प्रक्रियाअनुसार हुने प्रभु बैंकको भनाइ छ ।




