सरकारले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) को अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गरेको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
नवनियुक्त अध्यक्ष प्रा. डा. केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुन् । तत्कालीन उपकुलपति प्रा. डा. केसरजंग बरालले राजीनामा दिएपछि उनले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारीसमेत सम्हालेका थिए । पर्वतको मोदी गाउँपालिका–५, बाजुङका स्थायी बासिन्दा केसी अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति र नेपालको परराष्ट्र नीतिका विज्ञका रूपमा परिचित छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा स्नातकोत्तर तथा विद्यावारिधि (पीएचडी) हासिल गरेका छन् ।
तीन दशकभन्दा बढी समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन, अनुसन्धान र शैक्षिक नेतृत्वमा सक्रिय रहेका उनी शिक्षाध्यक्ष नियुक्त हुनुअघि अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागको प्रमुखकाे जिम्मेवारीमा थिए। उनका अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र परराष्ट्र नीतिसम्बन्धी विभिन्न अनुसन्धानमूलक लेख तथा पुस्तक प्रकाशित छन्।

यस्तै, आयोगको सचिवमा नियुक्त प्रा. डा. रोजी श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने पहिलो नेपाली हुन् ।
सचिव नियुक्त हुनुअघि उनी बी एन्ड बी अस्पतालमा नर्सिङ निर्देशकका रूपमा कार्यरत थिइन् । उनले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), त्रिभुवन विश्वविद्यालयबाट नर्सिङमा विद्यावारिधि, भारतको क्रिश्चियन मेडिकल कलेज (सीएमसी), लुधियानाबाट मेडिकल–सर्जिकल नर्सिङमा एमएससी तथा कलकत्ताबाट सम्बन्धित विषयमा डिप्लोमा हासिल गरेकी छिन्। साथै, नर्सिङ क्याम्पस, महाराजगञ्जबाट स्नातक र पीसीएल नर्सिङ अध्ययन पनि पूरा गरेकी छिन् ।
प्रा. डा. श्रेष्ठले बी एन्ड बी मेडिकल इन्स्टिच्युटमा क्याम्पस प्रमुख, पूर्वाञ्चल विश्वविद्यालयमा नर्सिङ प्राध्यापक, नर्भिक इन्टरनेशनल अस्पतालमा नर्सिङ निर्देशक, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक तथा चितवन मेडिकल कलेजमा सहप्राध्यापक एवं प्रौढ स्वास्थ्य नर्सिङ विभाग प्रमुखका रूपमा समेत जिम्मेवारी सम्हालिसकेकी छिन् ।
नर्सिङ अनुसन्धानमा विद्यावारिधि हासिल गरेबापत उनी राष्ट्रपतिबाट ‘नेपाल विद्या भूषण’ पदकबाट सम्मानित भएकी थिइन् । साथै, नेपालमा नर्सिङ विषयमा पहिलो विद्यावारिधि गर्ने शोधकर्ताका रूपमा दीक्षान्त समारोहमा तत्कालीन प्रधानमन्त्रीबाट विशेष सम्मानसमेत प्रदान गरिएकाे थियाे ।




