२४ साउन , काठमाण्डौ ।
भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा उपभोक्ताबाट लगातार गुनासा तथा सूचना प्राप्त हुन थालेपछि उद्योगमन्त्री गौरी यादवले यस विषयमा चासो लिएकी हुन् ।
ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि बजारमा अभाव देखाएर उपभोक्तालाई महँगोमा ग्यास बिक्री गर्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि नियन्त्रण गर्न मन्त्री यादवले गृहमन्त्री सुधन गुरुङसँग अनुगमनमा प्रहरीको सहयोग मागेकी थिइन् ।

मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी बढाउन र आवश्यकताअनुसार सादा पोसाकका प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् । सरकारले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाउने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने व्यवसायीप्रित निगरानी बढाउँदै दोषी भेटिए कानुनअनुसार कारबाही गर्ने तयारी गरेको छ ।
साथै उपभोक्ताले ग्यास सहज रूपमा पाउने वातावरण सुनिश्चित गर्न अनुगमनलाई थप प्रभावकारी बनाइने बताइएको छ । यसैबीच काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता अभाव देखिएको खाना पकाउने एलपी ग्यासको बिक्री वितरण विस्तारै सहज हुन थालेको दावी नेपाल आयल निगमले गरेको छ ।
गत असार ३१ गतेदेखि १४.२ किलोग्राम ग्यास भएको सिलिन्डर बिक्री गर्न थालेपछि एक्कासी अभावजस्तो देखिए पनि साविकको तुलनामा भारतबाट आयातको परिमाण निरन्तर वृद्धि र वितरण प्रक्रियालाई चुस्त बनाइएसँगै ग्यासको अभाव कम हुँदै गएको निगमले जनाएको छ ।
निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले १४.२ किलो ग्यास बिक्री गर्न थालिएपछि सुरुआती दिनमा केही समस्या देखिए पनि अहिले कम हुँदै गएको बताए । ‘उपभोक्तालाई मागअनुसारको ग्यास उपलब्ध गराउने उद्देश्यले आपूर्ति बढाइएको छ, यसका लागि इन्डियन आयल कर्पोरेसनले पनि सहयोग गरेको छ’, उनले भने।
ग्यासको आपूर्ति निरन्तर भइरहेको जानकारी दिँदै उनले आवश्यक मात्रामा मात्रै ग्यासको भण्डारण गर्न आमउपभोक्तालाई आग्रह गरे । ‘अहिले पनि आइओसीको रिफाइनरीबाट दैनिक १०० भन्दा बढी बुलेट लोडिङ भएर आइरहेको छ, ७.१ किलोबाट १४.२ किलोमा ‘सिफ्ट’ हुँदा केही समस्या देखिएको हो, बढीमा एक सातामा ग्यासको बिक्री वितरण सामान्य हुन्छ’, निर्देशक उपाध्यायले भने ।
पश्चिम एसियामा विकसित परिस्थितिलाई दृष्टिगत गर्दै निगमले ग्यासको आपूर्ति र वितरणलाई व्यवस्थित बनाउन गत फागुन २९ गतेदेखि ७.१ किलो ग्यास भरिएको सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएको थियो । तर आधा सिलिन्डरको बिक्रीले तत्कालको समस्या समाधान गरे पनि छिट्टै पूरा ग्यास भरिएको सिलिन्डर पाउने आशामा उपभोक्ताले सिलिन्डर ‘होल्ड’ गर्दा अहिले समस्या आएको उद्योगी बताउँछन् ।
सात दशमलव एक किलोग्राम ग्यास बिक्री गर्न थालेसँगै ग्यासको मागमा कमी आएको थियो । नेपालमा मासिक करिब ४६ हजार मेट्रिक टन ग्यासको खपत हुँदै आएको थियो। फागुन २९ देखि असार ३१ सम्म चार महिनाको अवधिमा ५० हजार मेट्रिक टन कम ग्यास आयात भएको थियो ।
हाल ग्यासको आयात निरन्तर वृद्धि भइरहेको छ । गत आवको साउनमा ४४ हजार ३१८ मेट्रिक टन ग्यास आयात भएको तथ्याङ्क छ । पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिक टन ग्यास आयात भएको निगमले जनाएको छ । यस आधारमा चालु आवको साउनमा करिब ५५ हजार मेट्रिक टन ग्यास आयात हुने अनुमान गरिएको छ ।
त्यसो त सरकारले नजिकिँदा ठूला चाडपर्वमा ग्यासको अभाव नहोस् भनेर तीन महिनाका लागि ग्यास आयातको कोटा वृद्धि गर्न भारतसँग कूटनीतिक प्रयास गरिरहेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले प्रतिनिधिसभा बैठकमा खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको बताइन् ।
अघिल्लो वर्षको तुलनामा नियमित माग धान्नसक्ने परिमाणमै ग्यास आयात भए पनि बीचमा आधा सिलिन्डर दिइँदै आएकामा पूर्ण सिलिन्डर उपलब्ध गराउन थालिएपछि बजारमा माग र आपूर्तिको असन्तुलन भएको उहनको भनाइ थियो । नेपालमा हाल ५८ एलपी ग्यास उद्योग सञ्चालनमा रहेका छन् ।
ती उद्योगमा १० हजार १६६ मेट्रिक टन भण्डारण र दैनिक एक करोड ७५ लाख सिलिन्डर दैनिक फिलिङ क्षमता रहेको छ । यसैबीच ग्यासको बिक्री वितरणलाई सहज बनाउन उद्योगमन्त्री गौरीकुमारी यादवसहित निगमको उच्च अधिकारीले उद्योग तथा डिलरको अनुगमनलाई तीव्र पारेकी छन् ।
शनिबार उद्योगमन्त्रीले बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन गर्दै बोटलिङ र वितरण प्रणालीबारे जानकारी लिएकी छन् । मन्त्री यादवसहितको टोली टेकुस्थित निगम परिसर नेपाल, एसपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासको बिक्री केन्द्रको निरीक्षणका लागि पुगेको थियो ।




