काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीका प्रतिनिधिसँग आज छलफल गर्दैछन्। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खलाअन्तर्गत अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ स्वदेशी तथा विदेशी प्रतिनिधिसँग छलफल गर्न लागेका हुन् ।
मन्त्रालयको सुवर्ण हलमा दिउँसो १२ बजे सुरु हुने छलफलमा कम्पनीहरूले बजेटमार्फत प्राप्त सुविधा, लगानीका क्रममा भोगिरहेका समस्या तथा नेपालमा लगानी विस्तारका विषयमा आफ्ना धारणा राख्नेछन्।
त्यसैगरी रोजगारी सिर्जना, लगानीको प्रतिफल फिर्ता लैजाने प्रक्रिया तथा सरकारले गर्नुपर्ने नीतिगत र प्रशासनिक सहजीकरणबारे पनि छलफल हुने जनाइएको छ। अर्थमन्त्री वाग्लेले कम्पनीका प्रतिनिधिलाई आफ्ना समस्या तथा सुझाव मौखिकसँगै लिखित रूपमा समेत प्रस्तुत गर्न आग्रह गर्नेछन् ।

बजेट कार्यान्वयनसम्बन्धी यही शृङ्खलाअन्तर्गत अर्थमन्त्री वाग्लेले यसअघि उत्पादनमूलक उद्योग सञ्चालन गरी ठूलो मात्रामा रोजगारी सिर्जना गरेका ३३ औद्योगिक घरानाका प्रतिनिधिसँग छलफल गरिसकेका छन् । यस्तै, ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग पनि उनले छलफल गरिसकेका छन् ।



