काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा सांसद विपिनकुमार आचार्यले नेपालको संसदीय अभ्यास कर्मकाण्डी बन्दै गएको भन्दै सुधारका लागि ‘संसदीय सुधार समिति’ गठन गर्नुपर्ने प्रस्ताव गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले अहिलेको संसदीय अभ्यासबाट सांसदहरू सन्तुष्ट छन् कि छैनन् भन्ने विषयमा सबै सांसदबीच सर्वेक्षण गर्नुपर्ने बताए।
‘के हामी सबै सांसद अहिलेको संसदीय अभ्यासबाट खुसी छौँ ? के हाम्रो क्षमतालाई अहिलेको संसदीय अभ्यासले सदुपयोग गरेको छ ?’ उनले प्रश्न गरे।
आफूले यसअघि पनि संसदभित्र र बाहिर संसदीय अभ्यास कर्मकाण्डी भएको विषय उठाउँदै आएको उल्लेख गर्दै आचार्यले आफ्नो जस्तै धारणा धेरै सांसदको भए संसदलाई थप सिर्जनशील, उपयोगी र प्रभावकारी बनाउन सामूहिक पहल आवश्यक रहेको बताए।

उनले त्यसका लागि ‘संसदीय सुधार समिति’ गठन गरी अहिलेको संसदीय अभ्यासमा आवश्यक सुधारका विषयमा अध्ययन र काम अघि बढाउन सभामुखको ध्यानाकर्षण गराए।



