२६ साउन , काठमाण्डौ ।
पश्चिमी कोलम्बियालाई केन्द्रबिन्दु बनाएर गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ७७ पुगेको छ। सोमबार स्थानीय समयअनुसार बिहान ७ः३४ बजे गएको उक्त विनाशकारी भूकम्पका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु चोको क्षेत्रको सान जोसे डेल पाल्मारमा ८२ देखि १०७ किलोमिटरको गहिराइमा रहेको थियो।भूकम्पको झड्काले कोलम्बियाका विभिन्न सहरहरूलाई तहसनहस पारेको छ। स्थानीय अधिकारीहरूले पुष्टि गरेअनुसार, हालसम्म ७७ जनाको मृत्यु भएको छ।

विशेष गरी भ्याले डेल काउकाकी गभर्नर डिलियन फ्रान्सिस्का टोरोले कालिमा एल डारिएन नगरपालिकामा पर्खाल भत्किँदा तीन जना बालबालिकाको दर्दनाक मृत्यु भएको पुष्टि गरेकी छन्। यसका साथै, धेरै मानिसहरू अझै पनि भत्किएका घरका भग्नावशेषमुनि पुरिएको आशंका गरिएको छ, जसले गर्दा मृतकको सङ्ख्या अझै बढ्न सक्ने त्रास सिर्जना भएको छ।
शुक्रबार मात्रै पदभार सम्हालेका कोलोम्बियाका राष्ट्रपति अबेलार्दो दे लासप्रिएजा आपत्कालीन उद्धार तथा राहत कार्यको नेतृत्व गर्न राजधानी बोगोटा पुगेका छन् । बीबीसीका अनुसार उनी अहिले उपराष्ट्रपति, मन्त्रीहरू तथा सम्बन्धित क्षेत्रका उच्च अधिकारीहरूसँगै विपद् जोखिम व्यवस्थापनसम्बन्धी राष्ट्रिय एकाइ (यूएनजीआरडी) को राष्ट्रिय संकट कक्षमा छन् ।
यसअघि लासप्रिएजाले सामाजिक सञ्जालमार्फत प्रभावित क्षेत्रको सुरक्षा र सहयोगका लागि ‘आवश्यक सबै काम’ गर्ने बताएका थिए पेरेराका मेयर मौरिसियो सालाजारले उद्दार कार्य निकै चुनौतीपूर्ण रहेको बताउँदै भत्किएका संरचनाभित्र फसेकाहरूको खोजी कार्य जारी रहेको जानकारी दिएका छन्।
काली सहरमा मात्रै कम्तीमा २० वटा भवनहरू पूर्ण रूपमा भत्किएका छन्। मनिजालेस सहरको ऐतिहासिक क्याथेड्रलसहित कैयौँ पुराना संरचनाहरूमा गम्भीर क्षति पुगेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरूले विनाशको भयावह अवस्थालाई चित्रण गर्छन्।
भूकम्पको शक्तिशाली धक्का कोलम्बियाका धेरै सहरहरूमा महसुस गरिएको थियो भने यसको प्रभाव छिमेकी मुलुकहरू भेनेजुएला, इक्वेडर र पानामामा समेत अनुभव गरिएको थियो। यसअघि नै ठूलो भूकम्पीय विपत्तिको सामना गरिरहेको भेनेजुएलाका लागि यो घटना थप पीडादायी बनेको छ।
राजधानी बोगोटाका मेयर कार्लोस फर्नान्डो गालानले राजधानीमा कुनै गम्भीर भौतिक क्षति नभएको र स्थिति सामान्य रहेको जानकारी दिएका छन्। उनले थप विपद्को सामना गर्न १०० जना उद्धारकर्मीहरूलाई सीएटीएएम सैन्य विमानस्थलमा तयारी अवस्थामा राखिएको र आवश्यकताअनुसार प्रभावित क्षेत्रमा परिचालन गरिने बताएका छन्।
भूकम्पका कारण देशका ६ वटा मुख्य विमानस्थलहरूले आफ्नो उडान सेवा अनिश्चितकालका लागि बन्द गरेका छन्। राष्ट्रिय विपद् जोखिम व्यवस्थापन निकायले प्रशान्त महासागरीय क्षेत्रमा सुनामीको कुनै खतरा नरहेको स्पष्ट पारेको छ।
हालै पदभार ग्रहण गरेका कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले भूकम्पपछिको आपत्कालीन उद्धार तथा राहत कार्यको कमान्ड आफैँले सम्हाल्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै भनेका छन्, “क्षतिको समन्वय गर्न र प्रभावित नागरिकहरूलाई तत्काल राहत पु¥याउन मैले एकीकृत कमाण्ड पोस्ट स्थापना गर्न आदेश दिएको छु। म स्वयं पेरेरा पुगेर प्रभावितहरूको साथमा उभिनेछु।”
चोको क्षेत्रकी गभर्नर नुपिया क्यारोलिना कोर्डोबा–क्युरीले पराकम्पको त्रास कायमै रहेको भन्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेकी छन्। राजधानी क्विब्डोमा पनि ठूलो क्षति भएको र घाइतेहरूको सङ्ख्या बढ्न सक्ने उनले चिन्ता व्यक्त गरेकी छन्।
कोलम्बियामा गएको यो विनाशकारी भूकम्पप्रति अन्तर्राष्ट्रिय समुदायले पनि चासो व्यक्त गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकाले कोलम्बियाको अवस्थालाई नजिकबाट नियालिरहेको बताउँदै आवश्यक सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाएका छन्।
यस्तै, एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले आफ्नो सरकार उद्धार टोली, स्वास्थ्यकर्मी, प्यारामेडिक्स, आवश्यक सामग्री वा अन्य जुनसुकै सहयोगसहित तत्काल सहायता उपलब्ध गराउन तयार रहेको बताएका छन् । त्यस्तै, ग्वाटेमालाको विदेश मन्त्रालयले कोलोम्बियामा रहेका आफ्ना नागरिकका लागि आपत्कालीन फोन नम्बर सार्वजनिक गरेको छ ।
उसले नागरिकहरूलाई स्थानीय अधिकारीका निर्देशनप्रति सचेत रहन र आधिकारिक स्रोतबाट मात्र जानकारी लिन आग्रह गरेको छ । चिलीका राष्ट्रपति जोसे एन्टोनियो कास्टले आफ्नो देशले भूकम्पपछि उत्पन्न हुने पीडा र चुनौतीलाई बुझेको बताएका छन् ।
उनले कोलोम्बियालाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताए । इक्वेडरका राष्ट्रपति डानिएल नोबोआले आफ्नो देशको सहरी खोज तथा उद्धार टोली सहयोगका लागि उपलब्ध गराउने बताएका छन् ।
उनका अनुसार टोलीमा ४७ जना उद्धारकर्मी, विशेष तालिमप्राप्त खोजी कुकुर र सात दिनसम्म स्वतन्त्र रूपमा काम गर्न सक्ने उपकरण छन् । उनले आवश्यक परे तत्काल टोली परिचालन गर्न तयार रहेको बताएका छन् । यस्तै, भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोले सोमबारको भूकम्पपछि कोलोम्बियाप्रति ‘ऐक्यबद्धता र प्रार्थना’ व्यक्त गरेकी छन् ।
उनले यस्तो ठूलो विपत्तिको सामना गर्दा अन्तर्राष्ट्रिय ऐक्यबद्धता कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा भेनेजुएलाका नागरिकले ‘प्रत्यक्ष रूपमा बुझेको’ बताएकी छन् । अहिले प्रभावित क्षेत्रहरूमा स्थानीय प्रशासन, रेडक्रस र स्वयंसेवकहरूद्वारा भग्नावशेष हटाउने र घाइतेहरूको उद्धार गर्ने कार्य तीव्र पारिएको छ।
सरकारले आपत्कालीन स्वास्थ्य सेवाहरूलाई उच्च प्राथमिकतामा राख्दै प्रभावित सहरहरूमा चिकित्सक र औषधीको आपूर्ति बढाउने निर्णय गरेको छ। भूकम्पले पु¥याएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ। यो घटना कोलम्बियाका लागि एक ठूलो चुनौतीका रूपमा देखा परेको छ, जसको सामना गर्न राष्ट्रपति एस्प्रिएलाको सरकारले युद्धस्तरमा राहत तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ।
कोलोम्बिया विभिन्न टेक्टोनिक प्लेटको संगमस्थलमा अवस्थित भएकाले यहाँ भूकम्पीय गतिविधि तीव्र हुने गर्छ । त्यसैले देशमा शक्तिशाली भूकम्पहरू पनि बारम्बार जाने गरेका छन् । सामान्यतः तटीय क्षेत्रमा भूकम्पको तीव्रता बढी हुने गर्छ ।
त्यस्ता भूकम्पले सुनामीसमेत निम्त्याउन सक्छन्, जसबाट थप क्षति हुन सक्छ । सन् १९५० यता कोलोम्बियामा भूकम्पका कारण ३ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । तीमध्ये सबैभन्दा विनाशकारी भूकम्प सन् १९९९ मा गएको थियो ।
त्यतिबेला ६.२ म्याग्निच्युडको भूकम्पले आर्मेनिया, कालार्का, पेरेइरा, काल्डास र हुइला क्षेत्रमा क्षति पु¥याउँदा १ हजार १ सय ८५ जनाको मृत्यु भएको थियो । पछिल्लो पटक गत वर्ष कुन्डिनामार्कामा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यसमा भने कसैको मृत्यु भएको थिएन । कोलोम्बियाको भूगर्भसम्बन्धी सेवाका निर्देशक जुलियो फिएरो मोरालेसका अनुसार सोमबार गएको ७.४ म्याग्निच्युडको भूकम्प पछिल्लो दशकमा देशमा मापन भएमध्येकै सबैभन्दा शक्तिशाली हो ।




