२६ साउन , काठमाण्डौ ।
प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको साढे चार महिनापछि पहिलोपटक छिमेकी मुलुकका राजदूतहरूसँग औपचारिक भेटवार्ता सुरु गरेका छन्। लामो समयदेखि विदेशी कूटनीतिक अधिकारीसँगको भेटमा दूरी कायम गर्दै आएका प्रधानमन्त्री शाहले सोमबार भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गरे। अब उनले अमेरिकी राजदूतसँग भेटवार्ता गर्नेछन् ।
यहीबीच भारतीय विदेशमन्त्री एस जयशंकर अगस्टको अन्तिम साता काठमाडौं आउने तयारीमा छन्। उनी प्रधानमन्त्री शाहलाई १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणा दिन नेपाल आउने भएका हुन्।
सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा हुने ब्रिक्स सम्मेलनको निम्तो र प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ कूटनीतिक संवादको सुरुवात गर्ने संकेत देखिएको छ। यही सम्मेलनमा बालेनले मोदीसहित चिनियाँ राष्ट्रपति सीसँग समेत भेटवार्ता हुनेछ ।

“यसबीचमा त्यस्तो कुनै घटना नभए यही अगस्ट अन्तिम साता भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ,“ परराष्ट्र मन्त्रालय उच्च स्रोतले भनेको छ, “१८औँ ब्रिक्स शिखर सम्मेलनको निम्तो प्रधानमन्त्री वालेन्द्र शाहलाई दिन नेपाल आउन लाग्नुभएको हो ।“
१८औँ ब्रिक्स शिखर सम्मेलन सेप्टेम्बर १२–१३, २०२६ मा भारतको नयाँ दिल्लीमा आयोजना हुने तय भएको छ । भारतले यसअघि पनि ब्रिक्स शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्रीलाई निमन्त्रणा गरेको थियो । भारतको निमन्त्रणामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड २०७३ असोजमा भारतमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका थिए ।
संयोगले त्यतिबेला प्रचण्ड, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी चिनफिङ तीनजना बीच एकसाथ भेटघाट भएको थियो । यसपटक पनि भारतले प्रधानमन्त्री वालेन्द्र शाहलाई ब्रिक्स सम्मेलनमा सहभागी हुनको लागि निमन्त्रणा दिन लागेको छ ।
त्यसैको लागि भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आउन लागेका हुन् । ब्रिक्समा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इरान, रूस, साउदी अरेबिया, दक्षिण अफ्रिका र युनाइटेड अरब इमिरेट्स सदस्य छन् ।
यता प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले समय मिलाएर भारत भ्रमण गर्ने बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पहिलो पटक भारतीय राजदूत नवीन श्रीवास्तवलाई शाहले भारत भ्रमण गर्ने जानकारी दिएका हुन्।
राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देशसँगै भारत भ्रमणका लागि निमन्त्रणा हस्तान्तरण गरेका थिए। चैतमा नेपालको प्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै शाहलाई मोदीले पठाएको सन्देश सहितको निम्तो प्रधानमन्त्रीसँग भेट्न नपाएपछि राजदूतले हस्तान्तरण गर्ने मौका पाएकै थिएनन्।
पछि मोदीको निमन्त्रणा लिएर भारतका विदेश सचिव विक्रम मिश्री नेपाल आउने तयारी भए पनि प्रधानमन्त्री शाहले भेटका लागि समय नछुट्टयाएपछि स्थगित भएको थियो। यद्यपि यसबारे डिजिटल माध्यमबाट प्रधानमन्त्री शाहलाई जानकारी दिइएको थियो।
जब राजदूतले सोमबार यो मौका पाए, त्यो सन्देश र निम्तो औपचारिक रुपमा हस्तान्तरण गरे। भेटमा सहभागी प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार राजदूत श्रीवास्तवले मोदीको सन्देश सहितको निमन्त्रणासँगै प्रधानमन्त्री शाहलाई भारत भ्रमण गर्न आग्रह गरेका थिए।
जवाफमा प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, ‘निमन्त्रणाका लागि धन्यवाद, म समय मिलाएर चाँडै भारत भ्रमण गर्नेछु।’ यसअघि राजदूतहरूसँग एक्लै नभेट्ने भन्दै सामूहिक भेटघाट गरेका शाहले प्रधानमन्त्री भएको साढे चार महिनापछि पहिलो पटक आज एकै दिन भारतीय र चिनियाँ राजदूतसँग भेट गरेका हुन्।
भेटमा प्रधानमन्त्री शाहसँग उनका प्रमुख स्वकीय सचिव सुवास शर्मा र आईटी सल्लाहकार विवेक मिश्र तथा परराष्ट्र मन्त्रालयको भारत डेस्कका प्रमुख सहसचिवसहित दुई जना थिए। राजदूत श्रीवास्तवसँग डेपुटी चिफ अफ मिसन र राजनीतिक अधिकारी संलग्न थिए।
पाल सानो र आर्थिक रुपमा विदेशी सहायतामा निर्भर रहने मुलुक भएकाले प्रधानमन्त्रीकै तहका कूटनीतिक भेटघाटको अर्थ रहने भन्दै कुरा उठ्न थालेपछि प्रधानमन्त्रीले सोमबारबाट आफूले पनि छुट्टै भेट्न थालेका छन् । भेटघाटको पहिलो प्राथिमकतामा उनले छिमेकी मुलुकलाई दिएका छन् ।
सोमबार सुरूमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग सिंहरदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटे । त्यसपछि उनले दिउँसो चीनका लागि नेपाली राजदूत झाङ माओमिङसँग भेटेका हुन् । उनले आज अमेरिकी कार्यबहाक राजदूत स्कर्ट अर्बमलाई भेट्ने कार्यक्रम छ ।
राजदूतहरूसँगका दुवै भेट दुइपक्षीय हित र साझेदारीका विषयमा केन्द्रित थिए । भारतीय राजदूत नवीन श्रीवात्सवले भारत र नेपालबीचको सुदृढ र बुहआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा कुरा भएको बताएका छन् । उनले प्रधानमन्त्री शाह सँग अर्थपूर्ण र रचनात्मक विचार आदानप्रदान भएको उल्लेख गरे ।
‘ नेपालको सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेट्न पाउँदा सम्मानित महसुस भयो। प्रधानमन्त्री नरेन्द्र मोदीज्यूका तर्फबाट हार्दिक शुभकामना व्यक्त गरेँ। भारत–नेपालबीचको सुदृढ र बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा उहाँसँग अर्थपूर्ण र रचनात्मक विचार आदानप्रदान भयो,’ राजदूतले भनेका छन् ।
भेटवार्ताका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएका थिए ।
चीनका राजदूत झाङ माओमिङसँग पनि नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको छ। प्रधानमन्त्रीले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोडको उनको सचिवालयद्वारा जारी प्रेसनोटमा छ ।
राजदूत माओमिङले पनि प्रधानमन्त्रीसँगको भेटबारे उल्लेख गर्दै हामीले मैत्रीपूर्ण वातावरणमा द्विपक्षीय सम्बन्ध तथा व्यावहारिक सहकार्यका विषयहरू, साथै साझा चासोका विषयमा विचार आदानप्रदान गरेको बताएका छन् । ‘नेपाल र चीनका जनतालाई थप लाभ पु¥याउने तथा दुवै पक्षका लागि हितकारी सहकार्यलाई अझ गहिरो बनाउने विषयमा हामी सहमत भयौं’ राजदूत माओमिङले भनेका छन् ।
साढे चार महिनापछि आफ्नै अडानबाट पछि हटेर प्रधानमन्त्रीले राजदूत भेट्नेतर्फ लाग्नुको पछि केही कूटनीतिक व्यवहार बदल्न खोजेको संकेतको रुपमा बुझ्न सकिने कूटनीतिक मामिला जानकारहरू बताउँछन् ।
यसअघि प्रधानमन्त्री शाहले भारतीय अधिकारीसँग औपचारिक भेट नगरेको भन्दै कतिपयले विदेश नीति र छिमेकीसँगको सम्बन्धलाई लिएर प्रश्न उठाएका थिए। तर सोमबार भारतीय र चिनियाँ राजदूतसँग भएको भेटवार्ताले प्रधानमन्त्रीको कूटनीतिक व्यवहारमा आएको परिवर्तनलाई संकेत गरेको छ।
अब भारतीय विदेशमन्त्रीको काठमाडौं आगमन र त्यसपछि प्रधानमन्त्री शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध कुन दिशामा अघि बढ्छ भन्ने विषयलाई थप चासोका साथ हेरिएको छ।




