काठमाडौँ- चालु आर्थिक वर्षको बजेट नगरसभामा पेश गर्न नसकेका मधेस प्रदेशका चार नगरपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थलगत सहजीकरण गर्ने भएको छ। मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल नगरपालिका संघका अध्यक्षलगायत प्रतिनिधि सम्मिलित संयुक्त टोली आज सम्बन्धित स्थानीय तहमा जाने भएको हो।
मन्त्रालयका अनुसार विभिन्न पहल, प्रयास र समन्वयबाट बजेट पेश गर्ने वातावरण बनाउन खोजिए पनि हालसम्म नगरसभामा बजेट पेश हुन नसकेका स्थानीय तहमा टोली पुग्न लागेको हो। टोलीले धनुषाको कमला नगरपालिका तथा रौतहटका गरुडा, फतुवा विजयपुर र मौलापुर नगरपालिका पुगेर जनप्रतिनिधि, कर्मचारी तथा अन्य सरोकारवालासँग प्रत्यक्ष छलफल गर्नेछ।
टोलीले बजेट निर्माण तथा नगरसभा सञ्चालनमा देखिएका समस्या पहिचान गरी आवश्यक सहजीकरण र समन्वय गर्ने मन्त्रालयले जनाएको छ। स्थानीय तहको बजेट प्रक्रिया लामो समयसम्म अवरुद्ध हुँदा सेवा प्रवाह तथा विकास निर्माणका काम प्रभावित हुन सक्ने भएकाले समस्या समाधानका लागि मन्त्रालयले स्थलगत रूपमै सहजीकरण गर्न लागेको हो।

मन्त्रालयले स्थानीय तहमा देखिएका बजेट तथा नगरसभा सञ्चालनसम्बन्धी समस्या समाधानका लागि आवश्यक समन्वय र सहजीकरणलाई निरन्तरता दिइरहेको जनाएको छ।



