काठमाडौं । छाउपडीजस्तो गम्भीर तथा संवेदनशील सामाजिक विषयलाई कथावस्तु बनाइएको नेपाली चलचित्र ‘हली’ले दर्शकको साथ पाउँदै गएको छ। गत शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र देशभरका विभिन्न हलमा प्रदर्शन भइरहेको निर्माता जश्मिन श्रेष्ठले जानकारी दिइन् ।
जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको ‘हली’मा छाउपडी प्रथाका कारण बालिकाहरूले भोग्नुपरेको सामाजिक दुर्व्यवहार, विभेद र पीडालाई प्रस्तुत गरिएको छ। निर्माता श्रेष्ठका अनुसार सामाजिक विषयवस्तुमा आधारित चलचित्र भएकाले विभिन्न विद्यालयबाट विद्यार्थीहरू समूहमा चलचित्र हेर्न हलसम्म पुगिरहेका छन्।
‘सामाजिक विषयवस्तु भएको हुँदा विभिन्न विद्यालयले समूह–समूहमा हलसम्म पुगेका दृश्य पठाइरहनुभएको छ। यसले हामीलाई आगामी दिनमा पनि यस्ता सामाजिक विषयवस्तु प्रस्तुत गर्न थप हौसला मिलेको छ ।’ श्रेष्ठले भनिन्।

समाज रूपान्तरणका लागि एउटा ‘हली’ नै पर्याप्त हुन्छ भन्ने सन्देश बोकेको चलचित्रको लेखन तथा निर्देशन ओम प्रतीकले गरेका हुन्। चलचित्रका निर्मातामा पूजा गुरुङ र जश्मिन श्रेष्ठ रहेका छन्।
चलचित्रमा ओम प्रतीकसँगै प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायत कलाकारको मुख्य भूमिका छ।चलचित्रको अर्को आकर्षण यसको प्रमोशनल गीत रहेको निर्माण पक्षले जनाएको छ। गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मालगायत कलाकारले अभिनय गरेका छन्।







