काठमाडौँ- काठमाडौँ महानगरपालिकाका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले पदबहाली गरेका छन्। पदबहालीसँगै कार्यवाहक प्रमुख सुनिता डंगोलले अर्यालबाट सुशासन, सेवा प्रवाह, अन्तरसरकार समन्वय र महानगरका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा नतिजामूलक नेतृत्वको अपेक्षा गरेकी छन्।
पदबहालीपछि कार्यवाहक प्रमुख डंगोलसँग भेटका लागि कार्यकक्षमा पुगेका अर्याललाई स्वागत गर्दै उनले महानगरका स्वीकृत नीति, योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा कर्मचारी परिचालन र व्यवस्थापनमा कुशल नेतृत्व प्रदान गर्न आग्रह गरिन्। डंगोलले सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा अनुशासित र मर्यादित कर्मचारी प्रशासनका लागि समन्वयकारी नेतृत्व आवश्यक रहेको बताइन्। महानगरका ठूला आयोजना सञ्चालनका लागि संघीय सरकारसँग समन्वय गर्नुपर्ने भन्दै उनले बहुतले पार्किङ स्थल निर्माण, भृकुटीमण्डपमा मेगाहल निर्माण तथा नेपाल सरकारसँग भएका सम्झौताबमोजिम प्राप्त गर्नुपर्ने सम्पत्ति प्राप्तिका काम अघि बढाउनुपर्ने उल्लेख गरिन्।
त्यस्तै, कर्मचारी र जनप्रतिनिधिबीच समन्वय तथा सहजीकरण गर्दै सुस्त रहेका योजनालाई तीव्र गतिमा अघि बढाउनुपर्नेमा उनले जोड दिइन्। ‘उहाँको कार्यकाल महानगरवासीका लागि फलदायी बन्नेछ । महानगरपालिकाको सार्वजनिक छवि उच्च बनाउनमा स्मरणीय हुनेछ,’ डंगोलले भनिन्।


वि.सं. २०६६ मा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका अर्याल २०७३ मा उपसचिव र २०८० मा सहसचिव भएका हुन्। उनी पछिल्लो एक वर्षदेखि पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए। त्यसअघि उनले लुम्बिनी प्रदेशको रेसुङ्गा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरेका थिए।
मन्त्रिपरिषद्को साउन २० गतेको निर्णयअनुसार अर्याल पोखरा महानगरपालिकाबाट काठमाडौँ महानगरपालिकामा सरुवा भएका हुन्। यसैबीच, महानगरपालिकाले अर्यालको परिचयात्मक कार्यक्रमसमेत आयोजना गरेको छ। कार्यक्रममा अर्यालले काठमाडौँलाई स्थानीय सुशासन, स्वशासन, विकास र व्यवस्थापनको सिकाइ केन्द्रका रूपमा विकास गर्ने गरी कर्मचारी प्रशासनको नेतृत्व गर्ने बताए।
‘काठमाडौँबाट अहिले पनि धेरै पालिकाले धेरै कुरा सिकिरहेका छन् । महानगरपालिकाका अन्य कामलाई पनि सिकाइयोग्य बनाउनुपर्छ,’ उनले भने। कर्मचारी तटस्थता आफ्नो मुख्य आचरण भएको उल्लेख गर्दै अर्यालले कर्मचारीको आचार र आचरणमा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उपभोक्ताको छनोटलाई ध्यान दिँदै सामूहिक निर्णयका आधारमा कार्यक्रम कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो।
यसअघि सरोज गुरागाईं काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए। उमेर हदका कारण उनी साउन २० गते अनिवार्य अवकाशमा गएका थिए।







