स्वदेश फर्किएलगत्तै पूर्वप्रधानमन्त्री देउवाले के भने ?

२८ साउन ८३, बिहीबार

काठमाडाैं- पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले स्वदेश फर्किएलगत्तै आफू साधारण नागरिकका रूपमा फर्किएको बताएका छन्। लामो समयदेखि उपचारका लागि विदेशमा रहेका देउवा आज नेपाल फर्किएका हुन्।

Advertisement

उनलाई स्वागत गर्न उनी पक्षीय शीर्ष नेताहरू विमानस्थल पुगेका थिए। विमानस्थलमा समर्थक तथा कार्यकर्ताको पनि बाक्लो उपस्थिति थियो। कार्यकर्ताले घेरिएर देउवा महाराजगञ्जस्थित निवास पुगेका छन्।

पार्टी सभापतिसमेत रहेका देउवाले कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल समाधान हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै देउवाले कांग्रेस अंकगणितमा कहिले सानो त कहिले ठूलो भए पनि २००७ सालदेखिका हरेक राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताएका छन्।

Advertisement

कांग्रेस सामूहिकतामा विश्वास गर्ने पार्टी भएकाले नेता–कार्यकर्ता, शुभेच्छुक, समर्थक, मतदाता तथा आम नेपाली जनतालाई यही भावनाका साथ अघि बढ्न देउवाले अपिल गरेका छन्। आफूले राजनीतिक रूपमा लिनुपर्ने अब केही नरहेको भन्दै उनले विगतको अनुभवबाट मुलुक र पार्टीले लाभ लिन सक्नुपर्ने बताएका छन्। नयाँ पुस्तालाई आफ्नो अनुभव बाँड्ने दायित्वसमेत रहेको उनले उल्लेख गरेका छन्।

देउवाले नेपाली कांग्रेस कसैको इगोमा नभई जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका छन्। आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको उनको दाबी छ। उनले आत्मसमीक्षा र मार्ग सुधारप्रति प्रतिबद्ध रहेको पनि बताएका छन्।

Advertisement

‘हामी हाम्रो राजनीतिक यथार्थको जटिलतालाई इमानदारीपूर्वक स्वीकार गर्छौं। म कुनै बहाना प्रस्तुत गर्दिनँ, केवल सत्य स्वीकार गर्दछु,’ देउवाले भनेका छन्, ‘हामी जनताको इच्छालाई सर्वोच्च मान्दै, प्रत्येक जनादेश र लोकतन्त्रलाई दिशा दिने प्रत्येक आवाजको सम्मान गर्दै अघि बढ्नेछौँ।’

उनले विगतका विभाजन र विद्वेषका घाउ निको पार्नसमेत अपिल गरेका छन्। ‘प्रतिशोध होइन, मेलमिलापको मार्ग रोजौँ। यस्तो नेपाल निर्माण गरौँ, जहाँ प्रत्येक बालकले निर्भीक सपना देख्न सकोस्, प्रत्येक ज्येष्ठ नागरिकले सम्मानपूर्वक विश्राम गर्न पाओस् र प्रत्येक समुदाय समृद्धि तथा अवसरका साथ फस्टाउन सकोस्,’ उनले भनेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top