१ भदौ , काठमाण्डौ ।
के विश्व राजनीतिमा फेरि अर्को एउटा ठूलो परकम्प आउन लागेको हो? के एसियाको सुरक्षा समीकरण अब बदलिनेवाला छ ? भर्खरै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा यस्तो घोषणा गरेका छन्, जसले पेन्टागनदेखि सियोलसम्म र प्योङयाङदेखि टोकियोसम्म हलचल पैदा गरिदिएको छ ।
ट्रम्पले दक्षिण कोरियासँग अमेरिकाले दशकौंदेखि गर्दै आएको संयुक्त सैन्य अभ्यासलाई उल्लेख्य रूपमा घटाउने बताएका छन् । तर, यो घोषणाको पछाडि केवल पैसा मात्र कारण छैन, यसमा लुकेको छ— ट्रम्प र किम जोङ उनबीचको रहस्यमय सम्बन्ध र इरानसँगको एउटा भित्री कथा ।

ट्रम्पले किन अचानक सैन्य अभ्यास घटाउन चाहे? दक्षिण कोरियाले किन ट्रम्पलाई ’नो थ्याङ्क्यू’ भन्यो? के किम जोङ उन र ट्रम्पको ’मित्रता’ ले दक्षिण कोरियालाई असुरक्षित बनाउँदैछ? र, रुस–युक्रेन युद्धको छायाँ यो निर्णयमा कसरी पर्यो? आज हामी यी विषयमा चर्चा गर्नेछौं ।
डोनाल्ड ट्रम्प, जो आफ्नो अप्रत्याशित निर्णयका लागि चिनिन्छन्, उनले आफ्नो सामाजिक सञ्जाल ’ट्रुथ सोसल’ मार्फत विश्वलाई चकित पारे । दक्षिण कोरियासँग चल्दै आएको संयुक्त सैन्य अभ्यासलाई उल्लेख्य रूपमा घटाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको घोषणाले विश्व भू–राजनीतिमा पुनः नयाँ बहस छेडेको छ ।
उनले स्पष्ट शब्दमा लेखेका छन् कि दक्षिण कोरियासँगको सैन्य अभ्यास केवल ’महँगो’ मात्र छैन, बरु यो ’पूर्ण रूपमा अनुपयुक्त र शत्रुतापूर्ण’ पनि छ । एकातिर ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत यस अभ्यासलाई महँगो र अनुपयुक्त सन्देश दिने कदमका रूपमा व्याख्या गरेका छन् भने अर्कोतिर दक्षिण कोरियाले आफ्ना पूर्व–निर्धारित सैन्य अभ्यासहरू यथावत् सञ्चालन हुने स्पष्ट पारेको छ ।
आफ्नो ’ट्रुथ सोसल’ अकाउन्टमार्फत दिएको अभिव्यक्तिले अमेरिका र दक्षिण कोरियाको परम्परागत सुरक्षा साझेदारितामाथि नयाँ प्रश्न उठाएको छ । ट्रम्पको दाबी अनुसार यी अभ्यासहरू निकै महँगा छन् र तिनको अधिकांश आर्थिक भार अमेरिकाले नै व्यहोर्दै आएको छ ।
आफ्नो अघिल्लो कार्यकालदेखि नै ‘अमेरिका फस्र्ट’ नीति अनुरूप मित्रराष्ट्रहरूले सुरक्षा खर्चमा बढी योगदान गर्नुपर्ने अडान राख्दै आएका छन् । यस्ता ठूला सैन्य अभ्यासहरूले उत्तर कोरियातर्फ अनुपयुक्त र शत्रुतापूर्ण सन्देश प्रवाह गर्छन्, जसले गर्दा कूटनीतिक संवादको वातावरण बिग्रन सक्छ ।
यो घोषणा गर्नुभन्दा ठीक २४ घण्टा अगाडि ट्रम्पले एउटा पुरानो फोटो पोस्ट गरे । सन् २०१८ मा किम जोङ उनसँग खिचिएको त्यो ऐतिहासिक तस्वीर पोस्ट गर्दै ट्रम्पले लेखे— ’हामी त्यतिबेला मित्रवत् नदेखिए पनि, हामी वास्तवमा निकै असल मित्र हौं।’ यो केवल एउटा फोटो मात्र होइन, यो एउटा कूटनीतिक संकेत हो ।
ट्रम्पले के देखाउन खोजिरहेका छन् भने— उनीसँग किम जोङ उनलाई सम्हाल्ने ’आर्ट अफ द डिल’ छ । उनले दक्षिण कोरियालाई सैन्य दबाब दिनुभन्दा उत्तर कोरियाली नेतासँगको व्यक्तिगत सम्बन्धलाई बढी प्राथमिकता दिइरहेका छन् । तर के एउटा देशको सुरक्षा नीति कसैको ’व्यक्तिगत मित्रता’ मा टिकेको हुनुपर्छ? यो प्रश्न अहिले विश्वभर उठिरहेको छ ।
ट्रम्पको पोस्टमा एउटा यस्तो खुलासा छ जसले धेरैलाई चकित पारेको छ । ट्रम्पले दाबी गरेका छन् कि उनले हालै दक्षिण कोरियाली राष्ट्रपतिसँग एउटा प्रस्ताव राखेका थिए । प्रस्ताव थियो— ’के दक्षिण कोरिया इरानको निःशस्त्रीकरणमा अमेरिकासँग सहकार्य गर्न चाहन्छ?’ दक्षिण कोरियाको जवाफ थियो— ’नो थ्याङ्यु’ ।
यो विषय निकै गम्भीर छ । ट्रम्पले दक्षिण कोरियालाई इरानसँगको तनावमा तानेर अमेरिकाको बोझ बाँड्न खोजेका थिए। तर दक्षिण कोरियाले आफ्नै छिमेकी उत्तर कोरियाबाट खतरा झेलिरहेको बेला मध्यपूर्वको लडाइँमा फस्न चाहेन । सायद, ट्रम्पले सैन्य अभ्यास घटाउने घोषणा गरेर दक्षिण कोरियाको यही ’अस्वीकार’ को बदला लिन खोजेका त होइनन् ?
ट्रम्पले ’धेरै ढिला भइसकेको’ र ’महँगो’ भएको बताए पनि दक्षिण कोरिया आफ्नो अडानमा टसको मस भएको छैन। दक्षिण कोरियाली रक्षा मन्त्रालयले स्पष्ट पारेको छ कि— ’निर्धारित कार्यक्रमअनुसार नै सैन्य अभ्यास सञ्चालन हुनेछ ।’ अमेरिकी र दक्षिण कोरियाली सैन्य अधिकारीहरूले संयुक्त पत्रकार सम्मेलन गर्दै ११ दिनसम्म चल्ने ‘उल्ची फ्रिडम शिल्ड’ सैन्य अभ्यासको घोषणा गरिसकेका छन् ।
यस अभ्यासमा करिब १८,००० दक्षिण कोरियाली सैनिक सहभागी हुनेछन् र यो अघिल्ला वर्षहरूकै हाराहारीमा सञ्चालन हुने सैन्य अधिकारीहरूको भनाइ छ । हाल दक्षिण कोरियामा करिब २८,५०० अमेरिकी सैनिक तैनाथ छन्, जसले दशकौँदेखि क्षेत्रीय सुरक्षाको बलियो आधारका रूपमा काम गर्दै आएका छन् ।
ट्रम्पले सैन्य अभ्यास रद्द वा घटाउन ढिला भइसकेको बताए तापनि सैन्य तहमा पूर्व–निर्धारित रणनीति अनुसार नै तयारी अघि बढेको देखिन्छ । यस घटनाक्रममा उत्तर कोरियाको भूमिका र पछिल्ला गतिविधिहरू पनि उत्तिकै महत्त्वपूर्ण रहेका छन् ।
क्षेप्यास्त्र परीक्षणः ट्रम्पको घोषणाभन्दा अघि यही महिना उत्तर कोरियाले संयुक्त राष्ट्रसंघद्वारा प्रतिबन्धित ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । पछिल्लो वक्तव्यमा उत्तर कोरियाली सरकार वा त्यहाँका सञ्चारमाध्यमहरूले तत्काल कुनै औपचारिक प्रतिक्रिया जनाएका छैनन् ।
संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी सैन्य प्रवक्ता रायन डोनाल्डले रुस–युक्रेन युद्धमा रुसलाई सघाउन उत्तर कोरियाले सैनिक पठाएको विषय उठाएका थिए । युद्धभूमिमा प्राप्त अनुभवसहित फर्कने उत्तर कोरियाली सैनिकहरूबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर नै तालिम र प्रशिक्षणका रणनीतिहरू तयार पारिएको अमेरिकी पक्षको भनाइ छ ।
अहिलेको सैन्य अभ्यास किन अघिल्ला वर्षहरूभन्दा फरक र महत्त्वपूर्ण छ? यसको उत्तर हो— रुस र युक्रेनको युद्ध । अमेरिकी सैन्य प्रवक्ता रायन डोनाल्डले एउटा डरलाग्दो तथ्यतर्फ संकेत गरेका छन् । उत्तर कोरियाले रुसलाई सहयोग गर्न आफ्ना सैनिकहरू पठाएको रिपोर्टहरू बाहिर आएका छन् ।
भोलि युक्रेनको युद्धभूमिबाट अनुभव बटुलेर फर्कने उत्तर कोरियाली सैनिकहरू दक्षिण कोरियाका लागि ठूलो खतरा हुन सक्छन् । उनीहरूले आधुनिक युद्धकला र ड्रोन प्रविधिको ज्ञान लिएर फर्कनेछन । त्यसैले, अमेरिकी र दक्षिण कोरियाली अधिकारीहरूले ’उल्ची फ्रिडम शिल्ड’ मा यस्ता नयाँ जोखिमहरूलाई ध्यानमा राखेर तालिम गर्ने रणनीति बनाएका छन् ।
यो घोषणाले वासिङ्टन र सोलबीचको सम्बन्धमा केही वैचारिक भिन्नता उजागर गरेको छ । ट्रम्प प्रत्यक्ष कूटनीति र खर्च कटौतीलाई जोड दिन्छन् भने दक्षिण कोरिया र अमेरिकी सैन्य संस्थापन पक्ष संयुक्त सैन्य तयारीलाई उत्तर कोरियाको आक्रामकता विरुद्धको मुख्य प्रतिरोधक मान्छन् ।
किम जोङ उनसँग व्यक्तिगत सम्बन्ध सुधारेर शान्ति वार्ताको बाटो खोल्ने ट्रम्पको प्रयास प्रशंसनीय मानिए तापनि, क्षेप्यास्त्र परीक्षण र रुससँगको उत्तर कोरियाली सैन्य सहकार्यले गर्दा जोखिम भने यथावत् छ । इरान मामिला र सैन्य अभ्यासको खर्चलाई लिएर सार्वजनिक रूपमा आएका मतभेदहरूले दुवै देशका रणनीतिकारहरूलाई थप गम्भीर बनाएको छ ।
ट्रम्पको घोषणाले कोरियाली प्रायद्वीपमा कूटनीतिक र सुरक्षा रणनीतिबारे पुनः बहस सिर्जना गरेको छ । एकातिर कूटनीतिक सम्वाद र लागत कटौतीको प्रयास छ भने अर्कोतिर क्षेत्रीय सुरक्षा र सैन्य तयारीको आवश्यकता । आ
गामी दिनमा अमेरिका, दक्षिण कोरिया र उत्तर कोरियाका कदमहरूले यस क्षेत्रको शक्ति सन्तुलन र शान्ति प्रक्रियालाई कुन दिशामा लैजानेछन् भन्ने कुरा विश्व समुदायका लागि निकै चासोको विषय बनेको छ । डोनाल्ड ट्रम्पको यो पछिल्लो घोषणा केवल एउटा सामाजिक सञ्जालको पोस्ट मात्र होइन, यो आगामी दिनमा आउन सक्ने ठूलो परिवर्तनको पूर्वसंकेत हो ।




