३ भदौ , काठमाण्डौ ।
अमेरिका र इरानबीचको युद्ध अब बमबारी र धाकधम्कीमा मात्रै सिमित रहेन । यो युद्ध अब एकअर्काको भूमि वा क्षेत्र कब्जा गर्ने रणनीति वा तीनलाई आफ्नो क्षेत्र घोषणा गर्नेसम्मको नयाँ चरणमा पुगेको छ । एकातिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’ घोषणा गरेका छन्, अर्कातिर इरानले क्यालिफोर्नियालाई आफ्नो नयाँ भूभाग दाबी गरेको छ ।
मंगलबार ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा सार्वजनिक गर्दै रणनीतिक जलमार्गमाथि अमेरिकी नियन्त्रणको सङ्केत गरेका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल खातामा उक्त नक्सा पोस्ट गरेका हुन् । ‘स्ट्रेट अफ होर्मुज’ विश्वको महत्त्वपूर्ण ऊर्जा मार्गमध्ये एक हो । सामान्य अवस्थामा यहाँबाट विश्वको करिब पाँचौँ भाग तेल ओसारपसार हुने गर्छ ।

इरानले फेब्रुअरीको अन्त्यमा अमेरिकासँग युद्ध सुरु भएपछि ‘स्ट्रेट अफ होर्मुज’मा पानीजहाजको आवागमन प्रभावकारी रूपमा रोकेको छ । अमेरिकाले इजरायलसँग मिलेर इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि तेहरानले यो जलमार्ग बन्द गरेको हो । ट्रम्पले शुक्रबार पहिलोपटक ‘स्ट्रेट अफ होर्मुज’माथि अमेरिकी नियन्त्रणको सम्भावना उल्लेख गरेका थिए ।
उनले त्यसलाई अमेरिकी क्षेत्र घोषणा गर्ने बताएका थिए । इरानले भने उक्त मार्ग ‘इरानी नै रहने’ प्रतिक्रिया दिएको थियो । ट्रम्पले सोमबार ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उक्त विचार दोहो¥याएर ‘स्ट्रेट अफ होर्मुज’माथि अमेरिकी नियन्त्रण कायम गर्नु राम्रो हुने बताएका थिए ।
विदेश नीतिमा विवादास्पद कदम चाल्दै आएका ट्रम्पले यसअघि पनि विदेशी भूभागमाथि अमेरिकी नियन्त्रणको प्रस्ताव अघि सारेका थिए। सन् २०२५ मा राष्ट्रपतिका रूपमा पुनः कार्यभार सम्हालेयता उनले क्यानडालाई अमेरिकी राज्यका रूपमा समेट्ने, ग्रीनल्यान्डमाथि नियन्त्रण कायम गर्ने तथा गाजा पट्टीको नियन्त्रण लिने प्रस्ताव गरेका छन्। यद्यपि तीमध्ये कुनै पनि योजना कार्यान्वयन भएको छैन।
यता ट्रम्पले होर्मुज जलमार्गलाई ‘नयाँ अमेरिकी भूभाग’ भनेर दाबी गरेपछि इरानी कूटनीतिज्ञहरूले व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् । भारतस्थित इरानी कूटनीतिज्ञहरूले अमेरिकाको नक्सा सार्वजनिक गर्दै क्यालिफोर्नियालाई हाइलाइट गरेर त्यसमा ‘इस्लामिक गणतन्त्र इरानको नयाँ भूभाग’ लेखेका छन् ।
भारतको हैदराबादस्थित इरानी वाणिज्य दूतावासले उक्त नक्सा सामाजिक सञ्जालमा पोस्ट गरेको हो । यो पोस्ट स्पष्ट रूपमा व्यङ्ग्यात्मक भए पनि यसको सन्दर्भ अमेरिकामा रहेको ठूलो इरानी आप्रवासी समुदायसँग जोडिएको छ । माइग्रेसन पोलिसी इन्स्टिच्युटका अनुसार अमेरिकामा रहेका इरानी आप्रवासीमध्ये सबैभन्दा ठूलो जनसंख्या क्यालिफोर्नियामा बसोबास गर्छ ।
उनीहरूमध्ये धेरै लस एन्जलस क्षेत्रमा छन् । लस एन्जलसमा ठूलो संख्यामा इरानी तथा फारसीभाषी समुदाय रहेकाले कतिपयले उक्त सहरलाई व्यङ्ग्यात्मक रूपमा ‘टिहरान्जेल्स’ भन्ने गर्छन—टिहरान र लस एन्जलसलाई जोडेर यो नाम बनाइएको हो । इरानमाथि अमेरिका–इजरायलको युद्ध सुरु भएपछि अमेरिकामा रहेका इरानी मूलका समुदायभित्र पनि मत विभाजित भएको छ ।
केहीले यसबाट इरानको वर्तमान सरकारको पतन हुने आशा गरेका छन् भने केहीले यस्तो सैन्य हस्तक्षेप उल्टै प्रतिकूल परिणाम ल्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । इरानी वाणिज्य दूतावासको पछिल्लो पोस्ट भने ट्रम्पको होर्मुजसम्बन्धी दाबीको राजनीतिक व्यङ्ग्यका रूपमा आएको देखिन्छ।
ट्रम्पले होर्मुज जलडमरूमध्यलाई ‘नयाँ अमेरिकी भूभाग’ भनेर उल्लेख गरेपछि इरानतर्फबाट आएको यो प्रतिक्रियाले दुई देशबीचको बढ्दो तनावबीच सामाजिक सञ्जालमा चलिरहेको कटाक्षपूर्ण कूटनीतिक अभिव्यक्तिलाई पनि उजागर गरेको छ ।
यसबीच ट्रम्पले इरानसँग अहिले कुनै वार्ता नभएको पनि बताएका छन् । उनको यो भनाइ आफूहरूले आईआरजीसीसँग ‘ब्याक च्यानल’ स्थापना गरेको दाबी गरेको एक दिनपछि आएको हो । इरानी संसद्का सभामुखले भने अमेरिकाले तेहरानबाट थप सहुलियत लिन दबाब दिइरहेको आरोप लगाएका छन् ।
वार्ताको सम्भावना कमजोर बनेसँगै मध्यपूर्वको तनाव थप बढ्ने चिन्ता देखिएको छ । यसबिच विश्व बजारमा कच्चा तेलको मूल्य जुलाईयताकै उच्च स्तरमा पुगेको छ । इरानसँगको संकट समाधान हुने आशा कमजोर भएपछि तेल आपूर्तिमा सम्भावित अवरोधको चिन्ताले मूल्य बढाएको हो ।
इरानले विश्वको महत्वपूर्ण ऊर्जा तथा व्यापारिक मार्ग होर्मुज जलमार्ग पुनःखोल्न आफ्ना प्रमुख मागहरू दोहो¥याएको छ । यसको जवाफमा ट्रम्पले सामाजिक सञ्जालमा जलमार्गको तस्बिर पोस्ट गर्दै त्यसलाई ‘नयाँ अमेरिकी भूभाग’का रूपमा उल्लेख गरेका हुन् ।
होर्मुज हुँदै हुने समुद्री आवागमन भने युद्धअघिको तुलनामा निकै घटेको छ । पछिल्लो २४ घण्टामा कम्तीमा सातवटा व्यावसायिक जहाज मात्र स्ट्रेट अफ होर्मुजबाट गएको तथ्यांक सार्वजनिक भएको छ । युद्धअघि दैनिक औसत करिब ११० जहाजले होर्मुज पार गर्ने गरेका थिए ।
बाब अल–मन्देब जलमार्गबाट पनि व्यापारिक जहाजको आवागमन दबाबमा रहेको छ । दुवै जलमार्ग वरिपरि जीपीएस ‘स्पुफिङ’का कारण जहाजको वास्तविक स्थान पहिचान गर्नसमेत कठिनाइ भइरहेको बताइएको छ । यता क्षेत्रीय तनाव विस्तार हुँदै गएको संकेत पनि देखिएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानबाट आफ्नो दिशातर्फ दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार भएको पत्ता लगाएको जनाएको छ । यमनमा इरान समर्थित हुथीहरूले साउदी अरबको एउटा तेल प्रशोधन केन्द्रलाई पुनः निशाना बनाएको बताएका छन् । यसले इरानसँग जोडिएको द्वन्द्व मध्यपूर्वका अन्य क्षेत्रमा फैलिन सक्ने जोखिम बढाएको छ ।
यसैबीच इजरायलले सिरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको अबु अल–दुहुर सैन्य विमानस्थलमा हवाई आक्रमण गरेको छ । अमेरिकी प्रशासनले उक्त आक्रमणलाई ‘अनावश्यक तनाव वृद्धि’ भन्दै आलोचना गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने सम्भावित टर्किस सेना तैनाथीबाट इजरायलको सुरक्षामा खतरा उत्पन्न हुन सक्ने भन्दै आक्रमणको बचाउ गरेका छन् ।
उनका अनुसार सिरियाले अबु अल–दुहुर विमानस्थलमा टर्किस सेना तैनाथ गर्ने तयारी गरेपछि इजरायलले कारबाही गरेको हो । अमेरिकी विशेष दूत टम बाराकले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै थप सैन्य घटनाभन्दा ‘तार्किक संवाद’लाई प्राथमिकता दिन सबै पक्षलाई आग्रह गरेका छन् ।
यसरी इरान–अमेरिका संवादको सम्भावना कमजोर भइरहेका बेला स्ट्रेट अफ होर्मुजको तनाव, तेल बजारमा बढ्दो दबाब र पश्चिम एशियाका विभिन्न मोर्चामा भइरहेका सैन्य गतिविधिले क्षेत्रीय संकट थप जटिल बन्ने संकेत गरेका छन् ।




