३ भदौ , काठमाण्डौ ।
प्रविधि क्षेत्रको विश्जब्यापी बहुराष्ट्रिय कम्पनी मेटाले बालबालिका तथा किशोरकिशोरीहरूलाई फेसबुक र इन्स्टाग्रामको जानाजानी लत बसाएको गम्भीर दाबीसहित अमेरिकाको क्यालिफोर्नियास्थित एक अदालतमा बहुप्रतिक्षित कानुनी सुनुवाइ सुरु भएको छ।
सामाजिक सञ्जाल कम्पनीहरूले हालसम्म सामना गर्नुपरेको यो नै सबैभन्दा ठूलो र निर्णायक कानुनी चुनौती मानिएको छ, जसलाई ओकल्याण्डको अदालतमा उपस्थित जुरीसमक्ष औपचारिक रूपमा पेस गरिएको छ।

आगामी छ हप्तासम्म चल्ने यो बहसका क्रममा अमेरिकाका दर्जनौँ राज्यका उजुरीकर्ता र मेटाका उच्चस्तरीय कानुनी प्रतिनिधिहरूले आआफ्ना पक्षमा बलिया प्रमाण तथा तर्कहरू प्रस्तुत गर्नेछन्। सुनुवाइको पहिलो दिन नै दुवै पक्षबाट शब्द, तथ्यांक र आन्तरिक कागजातहरूको साहारा लिँदै कडा प्रतिवाद गरिएको छ।
यस मुद्दाले विश्वभरका अभिभावक, मनोविद् र प्रविधि विश्लेषकहरूको ध्यान केन्द्रित गरेको छ। सन् २०२३ मा न्यूयोर्क र क्यालिफोर्नियासहित ३० वटा राज्यद्वारा संयुक्त रूपमा दायर गरिएको यस मुद्दामा मेटाले बालबालिकाको गोपनीयता र सुरक्षासम्बन्धी सङ्घीय तथा राज्य कानुनहरूको गम्भीर उल्लङ्घन गरेको मुख्य दाबी गरिएको छ ।
राज्यहरूले मेटाले बालबालिकासम्बन्धी संघीय तथा राज्यका कानुन उल्लंघन गर्नुका साथै उनीहरूको गोपनीयतालाई जोखिममा पारेको आरोप लगाएका छन्। राज्यहरूले मेटासँग १ ट्रिलियन डलरभन्दा बढी क्षतिपूर्ति माग गरेका छन्। साथै फेसबुक र इन्स्टाग्राममा विभिन्न परिवर्तन गर्नुपर्ने माग पनि गरेका छन्।
यसमा ‘लाइक’को संख्या हटाउने र प्रयोगकर्तालाई लगातार स्क्रोल गरिरहने व्यवस्था अन्त्य गर्नेलगायतका विषय छन्। ‘लाइक’ संख्या फेसबुकको सुरुवाती समयदेखि नै यसको महत्वपूर्ण हिस्सा रहँदै आएको छ। अहिले सामाजिक सञ्जालमा लाइक अनलाइन पोस्ट, फोटो र भिडियोप्रतिको प्रतिक्रिया जनाउने प्रमुख माध्यम बनेको छ।
तर पछिल्लो समय विशेषगरी युवामा ‘लाइक’ले नकारात्मक भावना बढाउन सक्ने विषयमा चिन्ता बढेको छ। यस वर्षको सुरुवातमा क्याली नामकी एक युवा प्रयोगकर्ताले मेटाविरुद्धको मुद्दामा सफलता हासिल गरेकी थिइन्। अदालतमा बयान दिँदै उनले युट्युब र इन्स्टाग्राममा दर्जनौँ अकाउन्ट बनाएको बताएकी थिइन्।
आफ्ना पोस्टमा धेरै लाइक पाउन र अन्य प्रयोगकर्तासँग जोडिन उनले विभिन्न अकाउन्ट प्रयोग गर्ने गरेको बताएकी थिइन्। यसबाट आफूलाई सन्तुष्टि र आत्मसम्मानको अनुभूति हुने उनको भनाइ थियो। त्यतिबेला उनी केवल ९ वर्षकी थिइन्।
यदि मेटा यो ठूलो मुद्दामा पराजित भयो भने युवाहरूको सामाजिक सञ्जाल प्रयोग गर्ने अनुभव नै व्यापक रूपमा परिवर्तन हुन सक्छ। मुद्दा दायर गर्ने राज्यहरूले फेसबुक र इन्स्टाग्रामलाई कम उमेरका प्रयोगकर्ता तथा बालबालिकाका लागि सुरक्षित बनाउन सञ्चालन प्रणालीमै परिवर्तन गर्नुपर्ने माग गरेका छन्।
क्यालिफोर्निया राज्यकी प्रमुख अभियोजनकर्ता मेगन ओनिलले अदालतमा प्रस्तुत गरेको प्रारम्भिक बहसमा मेटाले ११ र १२ वर्ष उमेर समूहका दशौँ लाख बालबालिका इन्स्टाग्राममा सक्रिय रहेको स्पष्ट जानकारी हुँदाहुँदै पनि उनीहरूलाई सुरक्षित राख्न कुनै ठोस पहल नगरेको आरोप लगाइन्।
अभियोजनकर्ता ओ’निलले मेटाको आन्तरिक अनुसन्धान प्रतिवेदन, उच्च अधिकारीहरूका इमेलहरू तथा मुख्य कार्यकारी अधिकृत मार्क जुकरबर्गसम्मका च्याट अभिलेखहरूलाई प्रमाणका रूपमा पेस गरेकी छिन्।
मेटाले प्रयोगकर्ताको प्लेटफर्ममा बिताउने समय बढाउनका लागि विशेष फिचरहरू डिजाइन गरेको र यसले जीवनको गुणस्तर सुधार्ने अन्य रचनात्मक गतिविधिबाट युवा पुस्तालाई टाढा धकेलेको दाबी गरिएको छ।
राज्यका तर्फबाट मेटामाथि अर्बौँ डलरको क्षतिपूर्ति मागिनुका साथै ’लाइक’ गणना गर्ने प्रणाली र अनिश्चित समयसम्म स्क्रोल गर्न सकिने (इन्फिनिटी स्क्रोल) फिचर सधैँका लागि बन्द गर्नुपर्ने माग राखिएको छ। राज्य पक्षका सबै आरोपहरूलाई खारेज गर्दै मेटाका प्रमुख वकिल पल स्मिड्ट र उनको कानुनी टोलीले सामाजिक सञ्जालले युवा पुस्तामाथि सकारात्मक प्रभाव पनि पारेको तर्क अघि सार्दै आएका छन्।
स्मिड्टले राज्य पक्षले प्रस्तुत गरेको प्रतिवेदनको अर्को पाटो उजागर गर्दै भनेका छन्, “उक्त दस्तावेजले ४१ प्रतिशत किशोरकिशोरीलाई यसले राम्रो अनुभूत गराएको र अर्को ४१ प्रतिशतमा कुनै नकारात्मक प्रभाव नपारेको स्पष्ट पारेको छ।
“मेटाकोतर्फबाट सामाजिक सञ्जालको ’लत’ भन्ने कुरा वैज्ञानिक रूपमा पूर्ण रूपमा प्रमाणित नभएको र यो आफैँमा एउटा अस्तित्वको बहस मात्र भएको तर्क गरिएको छ।
१३ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई प्लेटफर्ममा प्रवेश गर्नबाट रोक्ने विषयमा स्पष्टीकरण दिँदै वकिल स्मिड्टले गोपनीयतासम्बन्धी वर्तमान कानुनहरूले नै कम उमेरका बालबालिकाको व्यक्तिगत विवरण पहिचान, निगरानी वा सङ्कलन गर्न कम्पनीलाई कानूनी रूपमा वञ्चित गरेको जिकिर गरे।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्ग र इन्स्टाग्रामका प्रमुख एडम मोसेरीका पुराना अभिव्यक्तिलाई उद्धृत गर्दै मेटाले आफ्ना प्लेटफर्महरू कुनै पनि हालतमा प्रयोगकर्तालाई कुलतमा फसाउने उद्देश्यले डिजाइन नगरिएको स्पष्ट पारेको छ।
प्रयोगकर्ताहरूले सामाजिक सञ्जालको प्रयोगसँग जुधिरहेको हुन सक्ने यथार्थलाई स्वीकार गर्दै मेटाले यसलाई व्यवस्थित गर्न विभिन्न उपयोगी ’टूल्स’ हरू सार्वजनिक गरिसकेको दाबी गरिएको छ।सुनुवाइको क्रममा बहसले निकै उग्र रूप लिएको थियो जब अभियोजनकर्ता ओ’निलले मेटाको व्यवसायिक मोडेलमाथि प्रत्यक्ष प्रहार गरिन्।
उनले भनिन्, “मेटाले सार्वजनिक रूपमा सधैँ सुरक्षालाई नाफाभन्दा माथि राख्ने दाबी गर्यो, तर यथार्थमा भने हरेक निर्णय गर्दा कम्पनीको नाफाले नै बाजी मारेको छ।“
बालबालिकाको मानसिक स्वास्थ्यमा पर्न सक्ने गम्भीर तथा नकारात्मक असरहरूबारे पूर्ण रूपमा जानकार हुँदाहुँदै पनि कम्पनीले किशोरकिशोरीहरूलाई मुख्य लक्ष्य बनाएको र उनीहरूको डेटा सङ्कलन गरी व्यावसायिक लाभ लिइरहेको आरोप अदालतमा दोहोर्याइएको छ।
अभियोजनकर्ताहरूको यो प्रहारले प्रविधि कम्पनीहरूको आन्तरिक पारदर्शिता र उत्तरदायित्वमाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ। यो कानुनी लडाइँको निर्णयले आगामी दिनमा विश्वभरका प्रविधि कम्पनीहरूले बालबालिकाको डिजिटल सुरक्षा र गोपनीयतालाई हेर्ने दृष्टकोणमा दूरगामी परिवर्तन ल्याउने निश्चित मानिएको छ।
जारी रहने यस सुनुवाइमा प्रस्तुत हुने थप प्रमाण र बयानहरूले सामाजिक सञ्जाल उद्योगको भविष्य, प्रयोगकर्ताको डेटा सुरक्षा नीति तथा कर्पोरेट उत्तरदायित्वको दायरालाई नै सदाका लागि प्रभावित पार्न सक्ने विश्लेषकहरूको ठम्याइ छ।
यदि अदालतले राज्य पक्षको पक्षमा फैसला सुनाएमा यसले विश्वभरका अन्य ठूला प्रविधि कम्पनीहरूलाई समेत आफ्नो व्यवसायिक मोडेल परिवर्तन गर्न बाध्य पार्न सक्नेछ भने फेसबुक र इस्टाग्राममा प्रयोगकर्ताहरुले नसोचेको परिवर्तनको सामना गर्नुपर्नेछ ।
खासगरी मेटाले मुद्दा हारेको खण्डमा विपक्षी राज्यहरुको माग गरेवमोजिम किशोर प्रयोगकर्ताका अभिभावकको प्रमाणीकरण गर्ने व्यवस्था लागू गर्नुपर्ने हुन् सक्छ ।
यस्तै प्रयोगकर्तालाई लगातार घण्टौँसम्म स्क्रोल गरिरहन नदिने गरी एल्गोरिदम परिवर्तन , व्यक्तिको रूप परिवर्तन गर्ने केही इमेज फिल्टर हटाउनुपर्ने, भिडियो सामग्रीको ‘अटोप्ले’ सुविधा हटाउनुपर्ने, एउटाभन्दा बढी अकाउन्ट बनाउन रोक लगाउने तथा इन्स्टाग्राम स्टोरीजजस्ता हराउने वा अस्थायी पोस्टको सुविधा बन्द गर्नुपर्ने हुन् सक्छ ।




