३ भदौ , काठमाण्डौ ।
कमेडी गरेकै कारण फेरि एक कलाकार आलोचना र धम्कीको शिकार बनेका छन् । स्ट्याण्ड अप कमेडियन अमरेन्द्र यादवले आफूलाई तीन दिनदेखि निरन्तर मानसिक टर्चर र मार्ने धम्की आइरहेको बताएका छन् । कमेडी शो ‘कमेडी बाज’ मा पछिल्लो पटक प्रस्तुति दिएपछि आफू एमालेका कार्यकर्ता र समर्थकको तारो बनेको उनको गुनासो छ ।
यादवले विगत तीन चार दिनदेखि आफू गम्भीर मानसिक दबाबमा रहेको र कोठाबाट बाहिर निस्किन समेत डर लागिरहेको उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, यो लडाइँ म एक्लै तीन दिनदेखि लडिरहेको थिएँ। तर अब सहन नसकेर आज यो कुरा सार्वजनिक रूपमा लेख्न बाध्य भएको छु।

म एउटा कमेडियन हुँ, र रोस्ट गर्नु मेरो पेसाको एउटा हिस्सा हो। तर रोस्ट गर्दैमा कसैलाई गाली गर्ने, मार्ने धम्की दिने, व्यक्तिगत रूपमा टर्चर गर्ने ,दिनरात तनाव दिने कुरा चाहिँ निकै गम्भीर विषय हो। पछिल्ला ३–४ दिनदेखि भिडियो सार्वजनिक भएदेखि नै म निरन्तर मानसिक दबाब र व्यक्तिगत गालीगलौज झेलिरहेको छु।
यो कसले गरिरहेको हो, नेकपा एमालेका कार्यकर्ता हुन् कि अरू कोही हुन्, म यकिनका साथ भन्न सक्दिनँ। तर मलाई व्यक्तिगत रूपमा गाली गर्ने र टर्चर दिने काम भइरहेको छ। मलाइ रुमबाट बाहिर जान डर लागिरहेको छ ,कहिलेसम्म रुममा बस्ने म ?
एउटा कलाकारले रोस्ट गर्छ भन्ने कुरा सबैलाई थाहा हुन्छ। कार्यक्रममा गेस्ट आउँदा पनि उहाँहरूलाई यहाँ रोस्ट हुन सक्छ भन्ने कुरा थाहा हुन्छ, त्यसैअनुसार सहभागी हुनुहुन्छ। त्यसो भए मैले रोस्ट गरेको कुरामा मैले यति ठूलो गल्ती के गरेँ? आज मलाई भनिँदैछ—“यो एमाले विरोधी हो।” तर तपाईंहरूले यो हप्ता मलाई एमाले विरोधी बनाइदिनुभयो।
अर्को हप्ता मैले जेन्जी अभियन्तालाई रोस्ट गरेको भिडियो आउछ अनि फेरि भन्नुहोला—“यो जेन्जी विरोधी हो।” यसअघि पनि मैले सन्तोष देउजा, जो नेकपा माओवादीसँग सम्बन्धित हुनुहुन्छ, उहाँलाई पनि रोस्ट गरेको छु। त्यसो भए माओवादीलाई रोस्ट गरेँ भनेर मलाई माओवादी विरोधी भन्ने? त्यसभन्दा अघि राजावादी पक्षका पुष्कर खतिवडा गुरु आउनुभएको थियो, उहाँलाई पनि मैले रोस्ट गरेको छु। अब त्यसका आधारमा मलाई राजावादी विरोधी भन्ने?
आखिर म कस्को बिरोधि हुँ? म आफैँ कन्फ्युज भएँ—म कसको विरोधी हुँ? सत्य यति मात्र हो—म कसैको विरोधी होइन। म नेपालका एक स्वतन्त्र नागरिक हुँ। मेरो पेसा नै कमेडी हो, र कमेडीको एउटा हिस्सा रोस्ट पनि हो।
त्यसैले मैले गरेको रोस्टलाई कृपया कमेडी र मनोरञ्जनको रूपमा सामान्य रूपमा लिनुहोस्। उनले एउटा कुरा चाहिँ गम्भीरतापूर्वक अनुरोध गर्दछु भन्दै उनले थप लेखेका छन्, मलाई व्यक्तिगत गाली नगर्नुहोस्, व्यक्तिगत रूपमा टर्चर नगर्नुहोस्, र गाली तथा मार्ने धम्की नदिनुहोस्।
मलाई विश्वास छ, तपाईंहरूले यो कुरा बुझ्नुहुनेछ। तपाईंहरूको समझदारीप्रति मेरो ठूलो आशा र विश्वास छ। अन्त्यमा उनले कमेडीलाई कमेडीको रूपमा बुझौँ। विचार फरक हुन सक्छ, तर व्यक्तिगत दुव्र्यवहार र धम्कीको ठाउँ नदिऔँ भन्ने उल्लेख गरेका छन् ।
‘कमेडी बाज’ को पछिल्लो एपिसोडमा एमाले नेता सूर्य थापा र रास्वपाका पूर्वमहामन्त्री डा. मुकुल ढकाल गेस्ट थियो । कार्यक्रममा यादवले उनीहरूमाथि ब्यङग गरेका थिए । थापासँग भने एमाले अध्यक्ष केपी शर्मा ओली र बालेनसँग जोडेर उनको निकै सवाल जवाफ भएको थियो ।

यो प्रस्तुतिलाई लिएर धेरैले आफूलाई एमाले विरोधी सोचेको यादवले बताएका छन् । यादवले आफू कुनै पनि राजनीतिक दलको विरोधी नभएको उनको भनाइ छ । उनले विगतमा अन्य विचारधाराका व्यक्तिहरूलाई पनि रोस्ट गरेको स्मरण गराएका छन् ।
यता सूर्य थापाले भने अमरेन्द्रको धम्की आएको भन्ने गुनासोका विषयमा प्रतिक्रिया जनाउदै आफूलाई आश्चर्य लागेको टिप्पणी गरेका छन् । थापाले आफू यस्ता कार्यक्रममा रुचि नराख्ने भए पनि कार्यक्रमका निर्देशक सुन्दर खनालले धेरै अनुरोध गरेपछि अतिथि बन्न सहमत भएको बताएका छन् ।
आफूले कमेडी(बाजको उक्त एपिसोडको भिडिओसमेत सेयर गरेको भन्दै उनले जुनसुकै प्रश्न र रोस्ट सुन्न र सामना गर्न सक्ने दम भएको मान्छेका रुपमा आफूलाई चित्रण गरेका छन् । थापाले लेखेका छन्, ‘कार्यक्रम प्रशारण भएपछि अमरेन्द्र यादवले धम्की आएको भनेर लामो स्टाटस लेखेको देख्दा आश्चर्य लागेको छ ।चर्चामा आउन मच्चाएको फण्डा पक्कै होइन होला ।’
‘जानीबुझी त्यहाँ जानु भनेको रोस्ट, टोस्ट र होस्ट सबै स्वीकार गरेर नै हो’ उनले लेखेकाछन्, ‘म र मेरा समर्थकहरूले यस्तो कार्यक्रम मज्जासँग सुन्न र सहज रूपमा लिनसक्ने सामथ्र्य राख्दछौँ । यद्यपि यस्ता कार्यक्रमहरू सन्देशमूलक नभएर सस्ता बन्नु र अनावश्यक उडान भर्न रमाउनु उचित होइन ।’
कमेडीमा व्यंग्य हुन सक्छ, प्रश्न हुन सक्छ, आलोचना हुन सक्छ—तर त्यसको जवाफ गाली, मानसिक यातना वा ज्यान मार्ने धम्की हुन हुँदैन। राजनीतिक विचारमाथि असहमति राख्न पाइन्छ, कलाकारको प्रस्तुतिमाथि आलोचना गर्न पनि पाइन्छ, तर व्यक्तिमाथि नै आक्रमण गर्ने प्रवृत्तिले अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउँछ।
पछिल्लो समय स्ट्याण्डअप कमेडियन अमरेन्द्रले आफूलाई कमेडी प्रस्तुतिकै कारण निरन्तर गालीगलौज, मानसिक दबाब र ज्यान मार्ने धम्की आएको दाबी गरेपछि यो विषय फेरि बहसमा आएको छ।




