१० भदौ , काठमाण्डौ ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको जानकारी आफूले पाएको बताएका छन् । तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी आफूले पाएको उनको भनाइ छ ।
उनले भने, ‘बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको भन्ने जानकारी पाएको छु । के कति क्षति भएको छ भन्नेबारे अहिले नै यकिनका साथ भन्न सक्ने अवस्था छैन । बुझ्ने प्रयास भइरहेको छ।’ भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको उनले बताए ।

रसुवामा चिनियाँ क्षेत्रबाट अकास्मात बाढी आएको हो । नदीमा अचानक ठूलो बाढी आउँदा टिमुरे भन्सार कार्यालय र स्याफ्रुबेसीमा ठूलो क्षति गरेको जानकारी प्राप्त भएको हो । गोसाइँकुण्ड गाउँपालिका– २ को टिमुरे र वडा ५ को स्याफ्रुबेसीमा धेरै ठूलो क्षति भएको देखिन्छ ।
भन्सार विभागका महानिर्देशक खेमलाल भुसालले टिमुरे क्षेत्रमा बाढी आएको भनेर त्यहाँका कर्मचारीले बिहान ८ बजे खबर गरेको बताए । ’अरू के के भयो भन्ने कुरा आएको छैन। साथीहरु कति हुनुहुन्छ भन्ने मै छौं हामी। ६÷७ जना सम्पर्कमा हुनुहुन्छ। अरू फोन पनि लागेको छैन,’ उनले भने ।
प्रमुख जिल्ला अधिकारीले तल्लो तटीय क्षेत्रमा पनि खबर गरिसकेको बताए। ’नुवाकोट र धादिङलाई पनि खबर गरिदिएको छु। बाढी चाहिँ अकल्पनीय छ। ठूलो छ,’ उनले भने । यता सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पनि भीषण बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा ठुलो क्षति भएको जानकारी प्राप्त भएको बताएका छन् ।
साथै सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन, उद्धार तथा राहत तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न निर्देशन दिइसकेको जानकारी पनि उनले दिएका छन्।
सञ्चारमन्त्री तिमिल्सिनाले भनेका छन्, ‘भीषण बाढीका कारण रसुवाका स्याफ्रुबेँसी, टिमुरे लगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको दुःखद समाचार प्राप्त भएको छ। सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायहरूलाई उच्च सतर्कता अपनाउन, उद्धार तथा राहत तयारी अवस्थामा रहन र आवश्यक सबै कदम चाल्न निर्देशन दिइसकेको छ। रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई विशेष सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछु। नदी किनार, पहिरोको जोखिम भएका स्थान तथा अनावश्यक यात्रा नगर्नुहोस्। स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आधिकारिक निकायबाट जारी सूचना र चेतावनीलाई पालना गर्नुहोस्। यो अवस्था अझै विकसित हुन सक्ने भएकाले अफवाहभन्दा आधिकारिक सूचनामा विश्वास गरौँ, एकअर्कालाई सचेत गरौँ र आवश्यक परे तत्काल सम्बन्धित निकायलाई जानकारी गराऔँ।’
यस्तै अर्थमन्त्रीको सचिवालयले भनेको छ, ‘रसुवाको टिमुरे र स्याप्रुबेँसी आसपास भीषण वर्षाका कारण केही घण्टाअघि ठूलो बाढी आएको खबर छ। भन्सार कार्यालय र मातहतका निकायसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय,भन्सार विभागका महानिर्देशक यमलाल भुसाल र अर्थ मन्त्रालय प्रशशासन सहितको उच्चस्तरीय नेतृत्वबाट खोज तथा उद्धार लगायतका काममा आवश्यक समन्वय भइरहेको जानकारी गराइन्छ।’
यता गएराति गण्डकी र बागमती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो । पछिल्लो १२ घण्टामा बागमती प्रदेशको सिन्धुपाल्चोकको धेरैजसो ठाउँमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसैगरी कास्की, लमजुङ, नुवाकोट र झापालगायतका जिल्लामा पनि हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । आज कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
आज राति कोशीको हिमाली र पहाडी भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई ठाउँमा पनि ठूलो पानी पर्नेछ ।




