भोटेकोशीमा अहिलेसम्म नदेखिएको बाढी कहाँबाट आयो ?

१० भदौ ८३, बुधबार

१० भदौ , काठमाण्डौ ।

Advertisement

रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको अहिलेसम्मकै असामान्य र भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पु¥याएको छ। बाढीले टिमुरे बजार, रसुवागढी भन्सार क्षेत्र, पुल, सडक, घर तथा जलविद्युत् आयोजनामा क्षति पु¥याउनुका साथै ठूलो संख्यामा कन्टेनर र सवारीसाधन बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

बाढीको मुख्य कारणबारे भने अहिलेसम्म यकिन हुन सकेको छैन। जल तथा मौसम विज्ञान विभागले सामान्य वर्षाका कारण मात्रै यति ठूलो बाढी आउन नसक्ने जनाएको छ। हिमपहिरो गएर नदी थुनिएको, त्यसबाट बनेको अस्थायी बाँध फुटेको वा हिमनदीको कुनै भाग अचानक फुटेर ठूलो परिमाणमा पानी एकैपटक बगेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ

Advertisement

तर बाढी कहाँबाट सुरु भयो भन्ने विषयमा नेपालसँग मात्र होइन, चीनतर्फका जानकारहरू समेत अहिलेसम्म स्पष्ट जानकारीमा छैनन्। चीनको छेन्दुमा रहेका विपद्वविज्ञ वसन्तराज अधिकारीका अनुसार चिनियाँ पक्षले समेत अहिलेसम्म बाढीको स्रोत पहिचान गर्न सकेको छैन। उनका अनुसार प्रभावित क्षेत्रमा सम्पर्क नहुँदा घटनाबारे प्रत्यक्ष सूचना प्राप्त हुन सकेको छैन। अहिले भू–उपग्रहबाट बाढी सुरु भएको स्थान पहिचान गर्ने प्रयास भइरहेको छ। प्रारम्भिक रूपमा हिमपहिरो वा पहिरोले नदी थुनेर बनेको बाँध फुटेका कारण बाढी आएको हुन सक्ने दुई सम्भावना रहेको उनले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् मिनकुमार अर्यालका अनुसार रसुवा क्षेत्रमा मंगलबार रातिदेखि बुधबार बिहान ८ बजेसम्म सात मिलिमिटरभन्दा बढी वर्षा भएको थिएन। सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रमा भने केही स्थानमा भारी वर्षा भएको थियो। भोटेकोशीको जलाधारसँग जोडिएको तिब्बततर्फ पनि भारी वर्षा भएको सूचना प्राप्त भएको उनले बताएका छन्।

Advertisement

तर बाढीको प्रकृति हेर्दा वर्षाका कारण मात्रै यति ठूलो पानीको बहाव आएको हुन नसक्ने उनको भनाइ छ। बाँध फुटेको, ठूलो हिमपहिरो गएर नदी थुनिएको वा हिमनदीको कुनै भाग फुटेर केही समय नदीको बहाव रोकिएपछि एक्कासि पानी बगेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। ‘अहिले नै ठ्याक्कै यही कारण हो भनेर भन्न सकिने अवस्था छैन। सम्भावित कारणबारे अध्ययन भइरहेको छ,’ अर्यालले भनेका छन्।

बाढीको वास्तविक कारण पत्ता लगाउन नेपाल र चीनतर्फको अवस्थाबारे थप सूचना आवश्यक रहेको विभागले जनाएको छ। घटनास्थलतर्फ जाने बाटो तथा सञ्चार सम्पर्क अवरुद्ध भएकाले स्थलगत विवरण संकलन गर्न समेत कठिनाइ भएको छ। बाढीका कारण नदी किनारमा राखिएका जलसतह मापन गर्ने सेन्सर तथा अन्य मौसमी उपकरणसमेत बगेका छन्।

बिहान करिब ८ बजेपछि ती उपकरणबाट थप विवरण प्राप्त हुन नसकेको विभागले जनाएको छ। अब भू–उपग्रहबाट प्राप्त तस्वीर, स्थानीय बासिन्दाबाट आएका सूचना तथा अन्य स्रोतको विश्लेषण गरेर घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको छ। बाढीको सबैभन्दा ठूलो असर रसुवाको टिमुरे र रसुवागढी क्षेत्रमा परेको छ।

चीनतर्फबाट आएको ठूलो पानीसँगै लेदो र माटो बजार क्षेत्रमा पसेपछि घर, पसल, होटल तथा सवारीसाधनमा ठूलो क्षति पुगेको छ।रसुवाको टिमुरेस्थित भन्सार कार्यालयको यार्डमा रहेका सयौँ कन्टेनरसमेत बाढीले बगाएको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ। संघका सचिव आङदोर्जे शेर्पाका अनुसार यार्डमा रहेका करिब दुई सय कन्टेनर बगेका छन्।

चीनतर्फ सामान लिन जाने क्रममा लाइनमा रहेका करिब तीन सय कन्टेनरसमेत बाढीमा परेको प्रारम्भिक जानकारी छ।संघका अध्यक्ष रामहरि कार्कीले समेत सयौँ कन्टेनर र ठूलो संख्यामा मानिसहरू बाढीमा परेको बताएका छन्। एक्कासि आएको बाढीका कारण क्षतिको मात्रा ठूलो भएको उनको भनाइ छ।

बाढीपछि केही समय टिमुरे क्षेत्रमा सञ्चार सम्पर्कसमेत अवरुद्ध भएको थियो। पछि टेलिफोन सेवा क्रमशः सञ्चालनमा आउन थालेको बताइएको छ। बाढीमा परेर सम्पर्कविहीन भएका नेपाल प्रहरीका केही कर्मचारी सम्पर्कमा आएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार टिमुरेमा १० जना प्रहरी सम्पर्कमा आएका छन् भने १३ जना अझै बेपत्ता छन्।

स्याफ्रुबेँसीबाट चार र मैलुङबाट एक जना प्रहरीसमेत सम्पर्कमा आएका छन्। सम्पर्कमा आएका प्रहरीमध्ये अधिकांश घाइते रहेको र उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाडौं ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।यसअघि रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी र मैलुङ क्षेत्रमा खटिएका ठूलो संख्याका सुरक्षाकर्मी सम्पर्कबाहिर रहेको विवरण आएको थियो।

सशस्त्र प्रहरी बलले प्रभावित क्षेत्रमा विभिन्न युनिटबाट उद्धार टोली परिचालन गरेको छ। सशस्त्र प्रहरीका अनुसार नुवाकोटको नं. १९ गुल्म, ककनीस्थित संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना तालिम शिक्षालय, धादिङ गुल्म, आदमघाटस्थित विपद् व्यवस्थापन बेस तथा चितवनको नं. १७ गणबाट सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पठाइएको छ।

उनीहरूले बाढी तथा डुबानमा परेका नागरिकको खोजी, उद्धार र सुरक्षित स्थानान्तरण गरिरहेका छन्। बाढीपछि उद्धार तथा राहतलाई तीव्रता दिन सरकारले उपलब्ध सबै साधन–स्रोत परिचालन गर्ने निर्णय गरेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रभावित नागरिकको तत्काल उद्धार, खोज तथा राहतमा केन्द्रित हुने निर्णय गरिएको छ।

बैठकमा हालसम्म आठ वटा हेलिकप्टर परिचालन भएको जानकारी दिइएको छ। धुन्चे, त्रिशूलीलगायतका क्षेत्रमा रहेका हेलिप्याड तत्काल उद्धारका लागि प्रयोग गर्ने निर्णय पनि भएको छ। घाइते तथा बिरामीको उपचारका लागि त्रिशूलीस्थित सिभिल अस्पताललाई आवश्यक उपकरणसहित व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको छ।

नेपाली सेनाका तीन वटा हेलिकप्टर स्वास्थ्यकर्मीसहित उद्धारमा खटिएका छन्। निजी क्षेत्रका ३४ वटा हेलिकप्टरलाई समेत अन्यत्र नजान निर्देशन दिइएको छ। ड्रोन एसोसिएसन तथा ¥याफ्टिङ एसोसिएसनलाई पनि तयारी अवस्थामा राखिएको विपद् प्राधिकरणले जनाएको छ।

रसुवाबाट आएको बाढी त्रिशूली नदी हुँदै नुवाकोट पुगेपछि विदुर नगरपालिका तथा आसपासका क्षेत्रमा ठूलो क्षति भएको छ। बजार तथा बस्तीका घरहरूमा पानी पसेको छ भने दुईवटा पक्की पुलसमेत बाढीले बगाएको प्रारम्भिक विवरण छ। विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीका अनुसार वडा नम्बर ४ को सिमचौर क्षेत्रमा विशेष ठूलो क्षति भएको छ।

त्यहाँ पछिल्लो एक–दुई वर्षमा निर्माण भएका दुईवटा पक्की पुल बाढीले बगाएको छ। बजार तथा बस्तीमा बाढी पस्दा घर, बैंक तथा अन्य भौतिक संरचनामा पूर्ण तथा आंशिक क्षति पुगेको छ।वडा नम्बर ७ को सोले बजार, चतेपानी र अकरे, वडा नम्बर १० को बेत्रावती बजार तथा वडा नम्बर १ को त्रिशूली, ढुंगे र इनारपाटी क्षेत्र पनि प्रभावित भएका छन्।

वडा नम्बर ५ को देवीघाट तथा तल्लो क्षेत्रको तिरखानीमा समेत ठूलो क्षति पुगेको प्रारम्भिक विवरण छ। त्रिशूली बजार आसपासका करिब ६० घर बाढीले बगाएको र देवीघाट क्षेत्र पनि प्रभावित भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताएका छन्। बाढी आउनुअघि स्थानीयलाई पूर्वसूचना दिइएकाले उनीहरू सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको उनले बताएका छन्।

बाढीले त्रिशूली नदीका दुईवटा पक्की पुल तथा त्रिशूली र देवीघाट जलविद्युत् आयोजनामा क्षति पु¥याएको छ। २५ मेगावाट क्षमताको सौर्य प्लान्टका तीनवटा ब्लक र सबस्टेसनसमेत बाढीले बगाएको प्रारम्भिक विवरण छ। बाढीका कारण नेपाल टेलिकमका रसुवामा दुई र नुवाकोटमा पाँच गरी सातवटा टावरमा भौतिक क्षति पुगेको छ।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा पनि धेरै ठाउँमा मोबाइल तथा इन्टरनेट सेवा प्रभावित भएको नेपाल टेलिकमले जनाएको छ। गल्छीदेखि रसुवागढीसम्मको अप्टिकल फाइबरमा समेत क्षति पुगेको छ। यसले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आवश्यक सूचना आदानप्रदानमा थप समस्या सिर्जना गरेको छ।

बाढी त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीसाधनमा समेत रोक लगाइएको छ। नागढुंगा र भीमढुंगा नाकाबाट बाहिरिने सवारीसाधनलाई केही समय उपत्यकामै रोकिएको हो।

बुधबार बिहान करिब ८ः४० बजे बाढी नेपाल प्रवेश गरेको र त्यसको केही समयपछि विपद् प्राधिकरणलाई सूचना आएको प्रारम्भिक विवरण छ। हिमपहिरोले नदी थुनेपछि बनेको अस्थायी बाँध फुटेर एक्कासि ठूलो पानीको बहाव आएको हुन सक्ने प्रारम्भिक निष्कर्ष भए पनि यसको स्वतन्त्र पुष्टि भइसकेको छैन।

यसबीच सरकारले तत्काल उद्धार, घाइतेको उपचार, प्रभावितलाई सुरक्षित स्थानमा सार्ने तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कतामा राख्ने काम अघि बढाएको छ। नेपाली कांग्रेसका सांसद मोहन आचार्यले रसुवामा बुधबार बिहान आएको भीषण बाढीले अनुमानभन्दा धेरै ठूलो क्षति पु¥याएको रसुवाका बताएका छन्।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रमा स्थानीयसँग सम्पर्क टुट्दा उद्धार तथा क्षतिको विवरण संकलनमा चुनौती थपिएको बताए। आचार्यका अनुसार तिब्बती क्षेत्रमा भएको ग्लेसियर आउटबस्र्टका कारण आएको बाढीले टिमुरे, स्याफ्रुबेँसी, मैलुङबेँसी, त्रिशूली बजारलगायत रसुवा तथा नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पु¥याएको छ।

उनले मानवीय क्षतिको यकिन विवरण तत्काल आकलन गर्न सकिने अवस्था नरहेको बताए। धेरै व्यक्तिसँग सम्पर्क हुन नसकेको र टेलिफोन सेवा अवरुद्ध हुँदा परिवारजन त्रसित रहेको उनको भनाइ छ। रसुवा जाने सडकमार्ग अवरुद्ध भएकाले प्रभावित क्षेत्रमा तत्काल सडकबाट पुग्न नसकिने अवस्था रहेको उनले बताए।

अहिले हवाईमार्गबाट उद्धार तथा राहतका लागि पुग्ने प्रयास भइरहेको जानकारी दिँदै उनले उपलब्ध हेलिप्याड र अस्पताललाई पूर्ण रूपमा परिचालन गर्ने तयारी गरिएको बताए। सरकारले विपद्पछि तत्काल प्रतिक्रिया जनाउँदै उद्धार र राहतका लागि संयन्त्र परिचालन गरेको भन्दै आचार्यले सरकार र विपद् व्यवस्थापनमा खटिएका निकायलाई धन्यवाद दिए।

सम्भावित उद्धारका लागि हेलिकोप्टर तथा अस्पताललाई तयारी अवस्थामा राखेर काम भइरहेको उनको भनाइ थियो। बाढीको कारणबारे उनले तिब्बती क्षेत्रमा भएको ग्लेसियर आउटबस्र्ट नै मुख्य कारण रहेको बताए। नेपालमा अत्यधिक वर्षा भएर नभई सीमापारिबाट आएको बाढी भएकाले तत्काल हवाई उडानका लागि दृश्यताको ठूलो समस्या नरहेको उनले बताए।

तर प्रभावित क्षेत्रमै हेलिकोप्टर अवतरण गर्न सक्ने अवस्था भने नरहेको उनको भनाइ छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै सकिएको बैठकमा बाढीले अहिलेसम्म पु¥याएको क्षतिको विवरणबारे ब्रिफिङ भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले आगामी कदमबारे सरोकारवाला सबैलाई निर्देशन दिएका छन्। उनले यो विपद्को क्षणमा सबैलाई आआफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन पनि अनुरोध गरेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top