१० भदौ , काठमाण्डौ ।
नेपाल–भारतबीचको प्रमुख व्यापारिक नाका जोगबनीबाट हुने आयात–निर्यात दुई दिनदेखि ठप्प भएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) र जोगबनी भन्सार एजेन्टबीचको विवाद चर्किएपछि भन्सारबाट हुने आयात निर्यात ठप्प भएको छ।
जोगबनी भन्सारका एजेन्टहरूले एसएसबी र ल्याण्ड पोर्ट अफ इन्डिया (एलपीआई) बाट आफूहरूलाई अनावश्यक दुःख दिएको भन्दै सोमबारदेखि ‘पेन डाउन’ आन्दोलन थालेपछि विराटनगरतर्फ आउने कुनै पनि मालबाहक सवारी साधन नाकाबाट प्रवेश गर्न सकेका छैनन् ।
व्यापारिक कारोबार अवरुद्ध हुँदा औद्योगिक कच्चा पदार्थ तथा अन्य व्यापारिक सामग्री बोकेका ६०० भन्दा बढी ट्रक र कन्टेनर भारतीय सडकमा रोकिएका छन् । लामो समयसम्म सवारी साधन रोकिँदा उद्योग तथा व्यापारको आपूर्ति शृंखला प्रभावित हुने जोखिम बढेको छ ।

जोगबनी नाकाबाट सामान्य अवस्थामा दैनिक ३५० देखि ४०० सम्म मालबाहक ट्रक तथा कन्टेनर विराटनगर भन्सार हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् । तर, आन्दोलन सुरु भएपछि आयात–निर्यातसँगै भन्सार राजस्व संकलनसमेत प्रभावित भएको छ।
विराटनगर भन्सारले दैनिक औसत १२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
सोमबार भने अघिल्लो दिन प्रवेश गरेका मालवाहक सवारीबाट करिब ९ करोड रुपैयाँ राजस्व उठेको थियो । मंगलबार भने नाकाबाट एउटा पनि मालबाहक सवारी प्रवेश नगरेकाले राजस्व संकलन शून्यमा झरेको छ । विराटनगर भन्सार प्रमुख उमेश श्रेष्ठका अनुसार मंगलबार पारिबाट कुनै पनि मालबाहक ट्रक तथा कन्टेनर नेपाल प्रवेश गरेका छैनन् ।
आयात नै रोकिएपछि भन्सार राजस्व संकलन हुने अवस्था नरहेको उनले बताए । भन्सार एजेन्टका अनुसार एसएसबीले भन्सारमा आउजाउ गर्न सहज वातावरण नबनाएको तथा एलपीआईले अव्यवस्थित पार्किङको नाममा अतिरिक्त आर्थिक भार थपेको भन्दै एजेन्टहरू आन्दोलनमा उत्रिएका हुन् ।
उनका अनुसार भन्सारको सर्भरमा समस्या आएको भन्दै पटक–पटक काम रोकिँदा लोड भएका मालवाहक सवारी तीन दिनसम्म पार्किङमा राख्नुपर्ने अवस्था आउने गरेको छ । त्यसबापत जबर्जस्ती ‘डिटेन्सन शुल्क’ तिर्नुपर्ने अवस्था सिर्जना भएको एजेन्टहरूको आरोप छ ।
व्यापारिक नाकामा लामो समयसम्म अवरोध कायम रहे आयातमा निर्भर उद्योगको उत्पादनदेखि बजारमा वस्तुको आपूर्तिसम्म असर पर्न सक्ने व्यवसायीको चिन्ता छ । नाका सञ्चालनमा नआए दैनिक राजस्व गुमाउनुका साथै भारतीय भूमिमा रोकिएका मालवाहक सवारीको संख्या थपिँदै जाने देखिएको छ ।
जोगबनी भन्सार एजेन्टको आन्दोलन कहिलेसम्म जारी रहने भन्ने स्पष्ट नभएकाले नेपालतर्फको आयात–निर्यात सामान्य अवस्थामा फर्किने समयबारे अन्योल कायमै छ । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीका अनुशार नाकामा आएर कच्चापदार्थ रोकिँदा समस्या सिर्जना भएको छ ।
उनका अनुसार अवरोध अझै केही दिन लम्बिए उद्योगमा कच्चापदार्थको अभाव हुनेछ । जसबाट उत्पादनमा प्रत्यक्ष असर पुग्ने उनको भनाइ छ । उता नेपाल–चीन व्यापारको सबैभन्दा छोटो र महत्वपूर्ण उत्तरी तातोपानी नाका भने ३६ दिनपछि आंशिक रूपमा सञ्चालनमा आएको छ ।
बर्खा सुरु भएसँगै बाढी, पहिरो र सडक भासिने समस्याका कारण अरनिको राजमार्ग अवरुद्ध भएपछि करिब ६ सातादेखि प्रभावित हुँदै आएको नाका सोमबार सडक डिभिजन कार्यालय चरिकोटले अस्थायी रूपमा सडकको ट्र्याक खोलेपछि नेपालतर्फ रोकिएका मालवाहक कन्टेनर तातोपानी भन्सार यार्डसम्म पुगेका छन् ।
लामो समयदेखि रोकिएका कन्टेनर भन्सार यार्डमा भित्रिएपछि आयात–निर्यात केही सहज हुने अपेक्षा गरिएको छ । नाका सञ्चालनमा आए पनि सडकको अवस्था अझै सहज भइसकेको छैन । अरनिको राजमार्गअन्तर्गत कोदारी र डाक्लाङ क्षेत्रमा सडक खुलाइएको भए पनि लिपिङ बजारमा सडक भासिएपछि सवारी आवागमनमा समस्या कायमै देखिएको छ ।
बाढी र पहिरोका कारण नाका पटक–पटक बन्द हुँदा व्यवसायीले ठूलो आर्थिक क्षति बेहोर्नुपरेको फलफूल व्यवसायी राजेन्द्र भण्डारीले गुनासो गरे । उनले चाडपर्वका लागि सामान आयात हुने मुख्य समय भएकाले सडकलाई सुरक्षित र नियमित सञ्चालनमा ल्याउन सरकारले तत्काल ध्यान दिनुपर्नेमा जोड दिए ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले गत वर्ष समस्या देखिएको स्थानमै यस वर्ष पनि सडकमा समस्या दोहोरिएको बताए । गत वर्ष कोदारी क्षेत्रमा सडक निर्माणका लागि सरकारले टेन्डर प्रक्रिया अघि बढाए पनि पछि चिनियाँ पक्षले निर्माण गर्ने भनिएपछि काम अघि बढ्न नसकेपछि विगतमा जस्तै समस्या यस वर्ष पनि भोग्नु परेको कार्कीको भनाइ छ ।
उनले चीन सरकारले निर्माण गर्ने भनिएको कोदारी सडकको काम छिटो सुरु भए आगामी दिनमा यस्ता समस्या समाधान गर्न सहयोग पुग्ने बताए । संघका महासचिव रामचन्द्र पराजुलीले भूकम्पपछि तातोपानी नाकाको सडकमा देखिएका समस्या अझै पूर्ण रूपमा समाधान हुन नसकेको बताए ।
उनले सडकको अवस्थाका कारण चीनबाट आयात गरिएका सामान ल्याउन व्यवसायीलाई कठिनाइ भएको र यसले सरकारको राजस्व संकलनमा समेत असर परेको गुनासो गरे । सडक डिभिजन कार्यालय चरिकोटका इन्जिनियर नेत्र विलास पौडेलले सडक खुलाउने काम तीव्र रूपमा भइरहेको जानकारी दिए ।
उनले डाक्लाङ र कोदारी क्षेत्रमा ट्र्याक खोल्ने काम सम्पन्न गरी साना सवारीसाधन सञ्चालनमा ल्याइएको उल्लेख गर्दै ठूला मालबाहक कन्टेनर सञ्चालनका लागि पनि सडक सुधारको काम भइरहेको बताए । उनले लिपिङमा भासिएको सडक खुलाउन सडक किनारमा रहेका केही घर हटाएर केही दिनभित्रै सडक सञ्चालनमा ल्याउने जानकारी दिए ।
त्यसैगरी, भौगोलिक जोखिमका कारण लामो समयदेखि भन्सार राजस्व संकलन प्रभावित भएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दीपेन्द्रप्रकाश गिरीले बताए । चीन र नेपाल दुवैतर्फ मालवाहक कन्टेनर रोकिँदा भन्सार यार्डसम्म सामान ल्याउन समस्या भएको उल्लेख गरे ।
भन्सार यार्डबाट काठमाडौं जाने सडकमा समेत विभिन्न स्थानमा सडक भासिएको र कतिपय ठाउँमा अस्थायी रूपमा यातायात सञ्चालन गरिएको गिरिको भनाइ थियो । २०७२ सालको भूकम्पपछि तातोपानी नाकाको सडकमा देखिएका समस्या अझै दीर्घकालीन रूपमा समाधान हुन सकेका छैन ।
हरेक वर्ष बर्खा सुरु हुनेबित्तिकै सडक भासिने, पहिरो जाने र नदीले सडक कटान गर्ने समस्या दोहोरिँदा व्यापार–व्यवसाय प्रभावित हुँदै आएको छ । नेपाल–चीन व्यापार तथा सरकारको राजस्व संकलनका दृष्टिले महत्वपूर्ण तातोपानी नाकालाई नियमित र सुरक्षित रूपमा सञ्चालन गर्न तत्कालीन सडक मर्मतसँगै दीर्घकालीन पूर्वाधार निर्माण आवश्यक देखिएको छ ।
हरेक वर्ष बर्खामा नाका बन्द हुने अवस्था अन्त्य गर्न सरकारले तातोपानी सडकलाई उच्च प्राथमिकतामा राख्नुपर्ने व्यवसायी तथा स्थानीयबासीले माग गरेका छन् ।




