नासा र चीनलाई टक्कर दिँदै भारत, ३५ सम्म ‘भारतीय अन्तरिक्ष स्टेसन’

१० भदौ , काठमाण्डौ ।
अन्तरिक्ष अध्ययनका लागि भारतले अब आफ्नै अन्तरिक्ष स्टेसन निर्माण गर्ने भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो)ले सन् २०३५ सम्ममा भारतको आफ्नै अन्तरिक्ष स्टेसन ‘भारतीय अन्तरिक्ष स्टेसन’स्थापना गर्ने लक्ष्य राखेको छ । अहमदाबादमा आयोजित तेस्रो राष्ट्रिय अन्तरिक्ष दिवस समारोहलाई सम्बोधन गर्दै इस्रोका अध्यक्ष डा. वी. नारायणनले अन्तरिक्ष स्टेसनको पहिलो मोड्युल निर्माणका लागि औपचारिक स्वीकृति प्राप्त भइसकेको जानकारी दिए ।

Advertisement

उनले भारतको पहिलो मानव अन्तरिक्ष मिसन ‘गगनयान’ र आफ्नै अन्तरिक्ष स्टेसन स्थापना गर्ने परियोजनामा एकसाथ तीव्र गतिमा काम भइरहेको बताए । अध्यक्ष नारायणनले ६४ वर्षअघि सुरु भएको भारतको अन्तरिक्ष यात्राले देशलाई अहिले विश्वव्यापी अन्तरिक्ष क्षेत्रमा महत्वपूर्ण स्थानमा पु¥याएको बताए ।

भारतले हाल भू–अवलोकन, रिमोट सेन्सिङ, दूरसञ्चार, टेलिभिजन प्रसारण, दूरशिक्षा, विपद् पूर्वसूचना तथा व्यवस्थापन, नेभिगेसन र वास्तविक–समय अनुगमनलगायत ५० भन्दा बढी क्षेत्रमा सर्वसाधारणको सेवाका लागि अन्तरिक्ष प्रविधिको प्रयोग गरिरहेको छ । भारतले अन्तरिक्ष क्षेत्रमा नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिँदै अघि बढिरहेको पनि नारायणनले बताए ।

Advertisement

यसबाट सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित भइरहेको उनको भनाइ छ। नारायणनले भने, ‘आज हामी तेस्रो राष्ट्रिय अन्तरिक्ष दिवस मनाइरहेका छौँ। यसको विषयवस्तु निकै महत्वपूर्ण छ। नवप्रवर्तन, सहकार्य र अन्तरिक्ष क्षेत्रमा विश्वव्यापी नेतृत्व हासिल गर्ने हाम्रो चाहना हो।’

उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा विभिन्न अन्तरिक्ष कार्यक्रम अघि बढिरहेको बताए। भारतीय अन्तरिक्ष स्टेसनको पहिलो मोड्युलले स्वीकृति पाइसकेको र सन् २०३५ सम्ममा अन्तरिक्ष स्टेसन स्थापना गर्ने भारतको लक्ष्य रहेको उनले जानकारी दिए। कार्यक्रममा केन्द्रीय मन्त्री गजेन्द्र सिंह शेखाबत पनि सहभागी थिए।

Advertisement

उनले चन्द्रयान मिसनको सफलतापछि भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा ‘शिव शक्ति प्वाइन्ट’ नाम दिइएको स्थानमा पुग्न सफल भएको उपलब्धिको स्मरण गरे। उनका अनुसार यही ऐतिहासिक उपलब्धिपछि भारतले सो दिनलाई राष्ट्रिय अन्तरिक्ष दिवसका रूपमा मनाउने घोषणा गरेको हो।

शेखावतले अन्तरिक्ष क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढ्नु भारतका लागि ठूलो सम्भावनाको विषय भएको बताए । उनले निजी क्षेत्रको सहभागिताका कारण उपग्रह, पेलोड, अन्तरिक्षमा आधारित अनुप्रयोग तथा प्रक्षेपणजस्ता गतिविधि तीव्र गतिमा अघि बढिरहेको बताए।

यसैबीच, इसरो प्रमुखले भारतको अन्तरिक्ष क्षेत्रमा अहिले करिब ४४० वटा स्टार्टअप सक्रिय रहेको जानकारी दिएका छन्। यो अन्तरिक्ष क्षेत्रमा बढ्दो निजी सहभागिताको संकेत भएको उनको भनाइ छ। चन्द्रयान–३ को सफलतापछि भारतको अन्तरिक्ष कार्यक्रम नयाँ चरणमा प्रवेश गरिरहेको छ।

गगनयानमार्फत मानिसलाई अन्तरिक्षमा पठाउने तयारी र त्यसपछि भारतीय अन्तरिक्ष स्टेसन स्थापना गर्ने योजना भारतको दीर्घकालीन अन्तरिक्ष महत्वाकांक्षा मानिएको छ । पाँच वटा मोड्युल रहने यस अन्तरिक्ष स्टेसनलाई सन् २०३५ सम्ममा पूर्ण रूपमा सञ्चालनमा ल्याउने भारतको लक्ष्य छ।

यसमार्फत भारतले सूक्ष्म गुरुत्वाकर्षणको अवस्थामा वैज्ञानिक अनुसन्धान गर्नुका साथै भविष्यमा मानव अन्तरिक्ष अभियान सञ्चालन गर्न आवश्यक प्राविधिक क्षमता थप सुदृढ गर्ने लक्ष्य राखेको छ। अन्तरिक्ष स्टेसन भनेको पृथ्वीको कक्षमा घुमिरहेको ठूलो वैज्ञानिक प्रयोगशाला तथा अन्तरिक्षमा मानिस बस्न र काम गर्न मिल्ने केन्द्र हो।

यसलाई पृथ्वीभन्दा करिब सयौँ किलोमिटर माथि कक्षमा राखिएको हुन्छ। अन्तरिक्षयात्रीहरू त्यहाँ केही महिना बसेर विभिन्न वैज्ञानिक अनुसन्धान, प्रविधि परीक्षण र पृथ्वीको अध्ययन गर्छन्। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन सन् १९९८ देखि निर्माण हुँदै आएको हो र सन् २००० देखि त्यहाँ मानिसको निरन्तर उपस्थिति रहँदै आएको छ।

अन्तरिक्ष स्टेसनको मुख्य उद्देश्य सूक्ष्म गुरुत्वाकर्षणमा वैज्ञानिक अनुसन्धान गर्नु हो। त्यहाँ औषधि, जीवविज्ञान, मानव शरीर, भौतिक विज्ञान र नयाँ सामग्रीसम्बन्धी प्रयोग गरिन्छ। त्यस्तै, लामो समय अन्तरिक्षमा बस्दा मानिसको शरीरमा पर्ने असरबारे अध्ययन गरिन्छ। नयाँ अन्तरिक्ष प्रविधि, उपकरण र रोबोटको परीक्षण तथा पृथ्वीको वातावरण, मौसम र प्राकृतिक परिवर्तनको अवलोकन पनि गरिन्छ।

यस्ता अनुसन्धानले भविष्यमा चन्द्रमा र मंगल ग्रहमा मानव अभियान सञ्चालन गर्न आवश्यक प्रविधि विकास गर्न सहयोग पु¥याउँछ। अहिले सञ्चालनमा रहेका प्रमुख मानवयुक्त अन्तरिक्ष स्टेसनमध्ये अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन र चीनको तियानगोङ अन्तरिक्ष स्टेसन प्रमुख हुन्। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन संयुक्त परियोजना हो।

यसमा अमेरिका, रुस, क्यानडा, जापान र युरोपेली अन्तरिक्ष एजेन्सीका सदस्य राष्ट्रहरू सहभागी छन्। पाँच प्रमुख अन्तरिक्ष संस्थाले यसको सञ्चालनमा भूमिका खेल्छन्। त्यसैगरी, चीनले आफ्नै तियानगोङ अन्तरिक्ष स्टेसन सञ्चालन गरिरहेको छ। चीनले यसलाई आफ्नो अन्तरिक्ष अनुसन्धान र मानवयुक्त अन्तरिक्ष कार्यक्रमका लागि प्रयोग गर्दै आएको छ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको डिजाइन आयु करिब ३० वर्ष मानिएको छ। यसको पहिलो मोड्युल सन् १९९८ मा प्रक्षेपण गरिएको थियो र सन् २००० देखि अन्तरिक्षयात्रीहरू निरन्तर बस्दै आएका छन्। हालको योजनाअनुसार आइएसएसलाई सन् २०३० सम्म सञ्चालन गर्ने लक्ष्य छ। त्यसपछि यसलाई नियन्त्रित रूपमा पृथ्वीको वायुमण्डलतर्फ झारेर प्रशान्त महासागरको दुर्गम क्षेत्रमा खसाल्ने योजना छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top