१० भदौ , काठमाण्डौ ।
आज बिहान रसुवाको भोटेकोसीमा आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ । अवस्था यस्तो छ कि कति क्षति भयो, कति मानिस बगे, कतिको ज्यान गयो, घाइते कति भए, कति वेपत्ता छन् ? भन्नेसम्म खुल्न सकेको छैन । यस्तो अकल्पनीय, भयानक क्षति भएको छ कि बाढी पसेको नदीले छोएका कयौं बस्तीहरु, गाउँहरु सबै बगेका छन् ।
स्थानीय अधिकारी, जनप्रतिनिधि, प्रहरीहरुका अनुसार कतिपय स्थानमा त केही पनि बाँकी छैन । रसुवादेखि सुस्तासम्मै बाढीले ताण्डव मच्चाएको छ । बजारहरु, जलविद्युत परियोजनाहरु, पुल, संरचना, सरकारी कार्यालय, बैंकहरु, प्रहरी चौकी, पोष्टहरुमा ब्यापक क्षति भएको छ, कयौं बाढीले बगाएको छ ।
रसुवा नाकामा रहेका सामान लोड भएका कयौं कन्टेनरहरु, पाँच सय त गाडीमात्रै बगाएको छ । कयौं कार्यालयका कर्मचारीहरु, प्रहरीहरु, बस्तीका मानिसहरु वेपत्ता छन् । बाढीपछिको उद्धार जारी रहेकै अवस्थामाचिनियाँ पक्षले रसुवामा पुनः बाढी आउन सक्ने चेतावनी दिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका एक अधिकारीलाई चिनियाँ पक्षले दिएको जानकारीअनुसार, बाढी आएको क्षेत्रमा अझै करिब ७ मिटर अग्लो पानी थुनिएको प्राकृतिक बाँध रहेको र उक्त बाँध जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेको जनाइएको छ।
चिनियाँ पक्षबाट प्राप्त उक्त सूचनापछि नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका नागरिक तथा राहत–उद्धारमा खटिएका सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। प्राप्त जानकारीअनुसार, उक्त प्राकृतिक बाँध फुटेमा तल्लो तटीय क्षेत्रमा पुनः बाढीको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित स्थानमा रहन आग्रह गरिएको हो।
राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा अन्य टोलीलाई समेत सम्भावित जोखिमलाई ध्यानमा राख्दै विशेष सतर्कता अपनाउन भनिएको छ। केही सम्पर्कमा पनि आउन थालेका छन् । गत वर्ष पनि भोटेकोशीले वितण्डा मच्चाएको थियो । गत वर्ष पनि असार २४ गते भीषण बाढी आएको थियो ।
१४ महिनापछि भोटेकोसीमा गतवर्षभन्दा पनि ठूलो बाढी आएको हो । प्रारम्भिक रुपमा बाढीमा सात जनाको शव भेटिएको छ । नेपाल प्रहरीका अनुसार, बुधबार मध्याह्नसम्म सात जनाको शव भेटिएको बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीले जानकारी दिए। उनका अनुसार, नुवाकोटको नदी किनारमा तीन जना र धादिङमा चार जनाको शव फेला परेको छ।
बाढी आएपछि भागेर पहाडतिर गएकाहरूलाई धुन्चेमा ओसार्ने काम भइरहेको प्रहरीले जनाएको छ। घाइतेलाई धुन्चे अस्पतालमा ल्याउन थालिएको छ। ‘त्रिशुली अस्पताललाई बेस बनाएर हेलिकप्टरमा उद्धार भइरहेको छ,’ उनले भने। त्यहाँबाट एम्बुलेन्समा काठमाडौँ लैजाने गरी तयारी गरिएको उनले बताए।
रसुवाका बाढपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार भइसकेको छ । नेपाली सेनाका अनुसार सेनाको हेलिकप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ र मैलुङबाट २ र धुन्चेबाट ४ गरी हालसम्म १२ जनाको उद्धार भइसकेको छ ।
उक्त इलाकामा नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी जम्मा १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिएका छन् । यसका साथै नेपाली सेनाको मेडिकल टिमद्वारा त्रिशूलीस्थित नं।१ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको पनि नेपाली सेनाले जनाएको छ ।
रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकसहित २६ जना कर्मचारी सम्पर्कमा आएका छन् भने १४ जनाको खोजी तथा उद्धार कार्य जारी रहेको छ । कार्यालयका अनुसार ३६ जना स्थायी दरबन्दी रहेका कर्मचारीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आइसकेका छन् ।
बाँकी ११ जना स्थायी कर्मचारी अझै सम्पर्कमा आउन नसकेकाले उनीहरूको खोजी भइरहेको छ । त्यस्तै, कार्यालयमा कार्यरत ४ जना करार तथा ज्यालादारी कर्मचारीमध्ये १ जना सम्पर्कमा आएका छन् भने बाँकी ३ जनाको अवस्था अज्ञात रहेको छ। हाल सम्पर्कविहीन रहेका कुल १४ जना (११ स्थायी र ३ करार÷ज्यालादारी) कर्मचारीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र स्थानीय प्रशासनसँग निरन्तर समन्वय भइरहेको छ ।
आज बिहान भोटेकोसीमा आएको बाढीले विद्युत आयोजना, पुल, सरकारी कार्यालय, निजी, घर र गाउँसमेत बगाएपनि क्षतिको यकिन विवरण अझै आएको छैन । रसुवाको भोटेकोसीमा आएको नदी रसुवागढीको टिमुरे हुँदै त्रिशूलीमा मिसिन्छ । सिन्धुपाल्चोकबाट आउने भोटेकोसीलाई जस्तै रसुवाबाट आउने नदीलाई पनि स्थानीयले भोटेकोसीकै नामले सम्बोधन गर्ने गरेका छन् ।
तिब्बत क्षेत्रमा भने यो नदी ल्हेन्दे खोलाको नामले चिनिन्छ । भोट हुँदै आउने भएकाले यस नदीलाई पनि भोटेकोसी नै भन्ने गरिएको हो। भोटेकोसीकै नामले सम्बोधन भए पनि सिन्धुपाल्चोक र रसुवाका नदी फरक हुन् । सिन्धुपाल्चोक तिब्बतको झाङ्मु क्षेत्रबाट उद्गम भएर नेपाल प्रवेश गर्ने नदीलाई सिन्धुपाल्चोकमा भोटेकोसी भनिन्छ ।
आज बाढी आएको रसुवागढी नाकाको भोटेकोसी चीनको तिब्बतबाट, केरुङ आसपासको क्षेत्रमा उद्गम भएर नेपाल प्रवेश गर्छ । यो नदी दक्षिणतर्फ बग्दै रसुवाको चिलिमे आसपास पुगेपछि त्रिशूली नदीमा मिसिन्छ । त्रिशूली नदी फेरी दक्षिणतर्फ बग्दै देवघाटतिर आएर गण्डकी प्रणालीमा मिसिन्छ। गण्डकी नदी पनि अन्ततः भारतस्थित गंगा नदीमै पुग्छ ।
रसुवाको भोटेकोसी नदी हिमालय क्षेत्रको सीमाबाट सुरु भएर त्रिशूलीमा मिसिन्छन् । अनि अन्ततः नदी गंगा नदी पुग्छ । यो बाढी तिब्बतको हिमताल विस्फोट भएर आएको मन्त्री महाविर पुनले पनि सामाजिक संजालमार्फत सूचना दिएका छन् । यता बाढीले धादिङको फुर्केखोलाको पुल बगाएको छ ।
बाढीको तीव्र बहावका कारण धादिङको सदरमुकाम धादिङबेशी आउजाउ गर्ने फुर्केखोलाको पुल बगाएको हो। पुल बगाएपछि धादिङबेशी आउने–जाने सडकमा यातायात आवागमन प्रभावित भएको छ ।
उता रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा यार्डमा रहेका सयौँ कन्टेनर बगेको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ । संघका सचिव आङदोर्जे शेर्पाले दिएको प्रारम्भिक जानकारी अनुसार यार्डमा रहेका दुई सय कन्टेनर बाढीले बगाएको हो । त्यसैगरी चीनतर्फ सामान लिन जाँदै गरेका ३ सयजति लस्करै कन्टेनर पनि बाढीमा परेका छन्।
उनले अहिले एउटा हेलिकप्टर आइपुगेर ७÷८ जना घाइतेलाई उद्धार गरी काठमाडौं पठाइएको जानकारी आफूले पाएको बताए। अहिले भन्सार कार्यालय रहेको टिमुरे क्षेत्रमा बाढी केही साम्य भएको छ भने टेलिफोनहरु सुचारु हुनथालेका छन् । संघका अध्यक्ष रामहरि कार्कीले पनि सयौँ कन्टेनर र ठूलो संख्यामा मानिसहरु बाढीमा परेको बताए। एक्कासि बाढी आउँदा ठूलो जनधन क्षति भएको उनको भनाइ छ ।
यसबीच राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक रसुवाको बाढी प्रभावित क्षेत्रतर्फ पुगेका छन् । सेन्टरका प्रमुख डा. रुद्र मरासिनीका अनुसार ७ जना चिकित्सकलाई केही औषधि सहित पठाइएको छ । ‘अहिले केही औषधि सहित आकस्मिक टिक बाढी प्रभावित ठाँउमा पठाएका छौं,’ डा. मरासिनीले भने, ‘ अस्पतालमा पनि तयारी अवस्थामा बसेका छौं ।’
बाढीले यता नुवाकोट जिल्लाका विभिन्न ठाउँमा ठूलो क्षति पु¥याएको छ । विदुर नगरपालिका–१ ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासको क्षेत्रमा पनि ठूलो क्षति पु¥याएको छ । बाढीको उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहन सरकारले अनुरोध समेत गरेको छ ।
यसबीच बाढीबाट प्रभावित भएका १२ जनाको नेपाली सेनाले उद्दार गरेको छ । अहिले नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी १२ हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन भएका छन् । यता बाढीले पु¥याएको क्षतिको विषयमा छलफल गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको थियो ।
बैठकमा बाढीले अहिलेसम्म पु¥याएको क्षतिको विवरणबारे ब्रिफिङ भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले आगामी कदमबारे सरोकारवाला सबैलाई निर्देशन दिएका छन् । उनले यो विपद्को क्षणमा सबैलाई आआफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन पनि अनुरोध गरेका छन् ।
यता विपद्को समयमा विपक्षी दलका नेताले सरकारलाई सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रतिनिधिसभाका विपक्षी दलका नेता भीष्मराज आङ्दाम्वेले यस्तो प्रतिबद्धता जनाए ।
बैठकमा बोल्दै नेता आङ्दाम्वेले सरकारले तत्कालै क्रियाशीलता देखाएकोमा धन्यवाद दिए। उनले पक्ष(विपक्षभन्दा पनि सङ्कटको घडीमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा बुधबार बिहान अकस्मात् आएको बाढीबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
विपद्को यस कठिन घडीमा उद्धार र राहतको कामलाई तीव्रता दिन राष्ट्रपति पौडेलले सम्बद्ध सबै पक्षसँग अपिल गरेका छन्। उनले सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षा निकाय र आम नागरिकलाई एक भएर उद्धारमा खटिन आग्रह गरेका छन् ।
यसैबीच गोसाईंकुण्ड हिँडेको ११ जनाको टोली नुवाकोटको विदुर नगरपालिका–१ सिम्मुटारमा बाढीका कारण फसेको छ । उनीहरूका आफन्त पूर्ण खड्काका अनुसार टोली चढेको गाडी बाढीले बगाएपछि उनीहरू भागेर सुरक्षित स्थानमा पुगेका थिए। यसअघि सम्पर्क भए पनि अहिले टोलीसँग राम्रोसँग सम्पर्क हुन नसकेको उनले बताएका छन् ।
टोलीको उद्धारका लागि सम्बन्धित निकायमा जानकारी गराइसकिएको छ । बाढीपछिको विपद् व्यवस्थापन, उद्धार तथा घाइतेहरूको द्रुत उपचारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्ना संयन्त्रहरूलाई पूर्ण रूपमा सक्रिय बनाएको छ। मन्त्रालयका प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई एक्टिभेट गरी उच्चस्तरीय छलफल र अस्पतालहरूसँगको समन्वयलाई तीव्रता दिइएको छ ।
बाढी प्रभावित क्षेत्रमा हुनसक्ने स्वास्थ्य जटिलतालाई ध्यानमा राख्दै स्थानीय तथा केन्द्रीय स्तरका स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा राखिएको छ । हालसम्म उद्धार गरिएका दुई जना घाइतेको रसुवाको धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने प्रभावित क्षेत्र नजिकका त्रिशुली अस्पताल र धादिङका अस्पतालहरूलाई पनि उपचार र समन्वयका लागि अलर्ट गराइएको छ ।
स्थानीयस्तरमा प्राथमिक उपचारपछि थप उपचार वा जटिल केसहरू रिफर गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाका ठूला अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको छ। प्रवक्ता डा.अधिकारीका अनुसार वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र पाटन अस्पतालका इमर्जेन्सी विभागहरूलाई पूर्ण रूपमा सेटअप गरी सतर्क गराइएको छ।
साथै उपत्यकाका अन्य हब अस्पताल, निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई पनि जुनसुकै समयमा सेवा दिन सक्ने गरी ‘स्ट्यान्डबाइ’ राखिएको छ । मन्त्रालयले बाढी प्रभावित क्षेत्रका अस्पतालहरूसँग निरन्तर सम्पर्क र समन्वय कायम गर्दै उद्धार गरिएका घाइतेहरूको काठमाडौँमा द्रुत उपचार सुनिश्चित गर्ने जनाएको छ।
हाल काठमाडौँमा घाइतेहरू आइपुगेको आधिकारिक जानकारी प्राप्त भइनसकेको भए पनि उद्धार कार्य तीव्र पारिएकाले सम्भावित चापलाई धान्न मन्त्रालयले स्वास्थ्य सेवा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ। आवश्यकता परेमा थप अस्पतालहरूलाई पनि उपचार प्रक्रियामा जोड्दै लैजाने रणनीति मन्त्रालयको रहेको छ ।
रसुवामा आएको भीषण बाढीका कारण रसुवागढी भन्सारमा ठूलो क्षति पुगेको छ । बाढीले भन्सार जाँचपासका लागि राखिएका करिब ५०० वटा नयाँ गाडीहरू बगाएको प्रारम्भिक अनुमान गरिएको छ । ‘बाढीले कल्पनै गर्न नसकिने क्षति पु¥याएको छ । करिब ५ सय गाडी बाढीले बगाएको अनुमान छ’, भन्सार विभागका निर्देशक किशोर बर्तौलाले भने ।
उनका अनुसार बाढीका कारण भन्सार क्षेत्रमा केही पनि बाँकी छैन । भन्सार क्षेत्रमा ठूलो परिमाणमा चीनबाट आयात गरिएका नयाँ सवारी साधन (विद्युतीय तथा अन्य गाडीहरू) पार्किङ गरी राखिएका थिए । यसबीच सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई तत्काल रकम पठाउने निर्णय गरेको छ ।
विपद् परिषद्को आपत्कालीन बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विपद् जोखिम न्यूनीकरण विज्ञ डा. धर्मराज उप्रेतीले नुवाकोट र रसुवालाई १÷१ करोड र धादिङलाई ५० लाख पठाउने निर्णय भएको बताए । उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषमार्फत पठाउने प्रक्रिया अघि बढाइएको छ।
उनले थप निर्णय मन्त्रिपरिषद् बैठकबाट हुने बताए । यस्तै नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले रसुवागढीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिएका हुन ।
नेपाल टेलिकमले सो क्षेत्रका बासिन्दालाई हालका लागि दुई दिनसम्म अनलिमिटेड भ्वाइस सेवा, प्रतिदिन दुई जिबी डाटा तथा ५० एसएमएस निःशुल्क उपलब्ध गराउने भएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले बताए । टेलिकमले आजै बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै एसएमएसमार्फत निरन्तर जानकारी गराइरहेको छ ।
नेपाल टेलिकमका अनुसार बाढीका कारण रसुवामा दुई वटा र नुवाकोटमा पाँच वटा गरी सात वटा टावरमा क्षति पुगेको छ । टावर तथा सेवा पूर्वाधारको मर्मत सम्भारका लागि नेपाल टेलिकमको टोली प्रभावित क्षेत्रमा खटिइसकेको छ । यसबीच रसुवामा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रमा रहेका वाणिज्य बैंकका ९ वटा शाखा कार्यालयहरू बाढीको प्रत्यक्ष चपेटामा परेका छन् ।
बाढीले सबैजसो बैंक शाखाका भवन तथा भौतिक संरचना बगाएको तथा पूर्ण रूपमा क्षतिग्रस्त बनाएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए । उनका अनुसार ती बैंकका कार्यालयमा कार्यरत आधाभन्दा बढी कर्मचारी अझै सम्पर्कमा आएका छैनन् ।
केही कर्मचारीहरू भने सम्पर्कमा आएर आफूहरू सुरक्षित रहे पनि कार्यालय नरहेको जानकारी गराएको अध्यक्ष कोइरालाले बताए । त्यस क्षेत्रमा नबिल बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक लगायतका शाखा कार्यालयहरू रहेका थिए । क्षतिग्रस्त शाखाहरूको यकिन क्षति विवरण संकलन गर्ने प्रयास भइरहेको उनले जानकारी दिए ।
सुरक्षा निकायसँग समन्वय गरी आफ्ना कर्मचारीहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन उनीहरूको आग्रह छ । यता रसुवा बाढीका क्रममा बेपत्ता भएका नेपाल प्रहरीका कर्मचारीमध्ये केही सम्पर्कमा आएका छन् । तीमध्ये प्रायः घाइते अवस्थामा छन् । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार टिमुरेमा १० जना प्रहरी सम्पर्कमा आउँदा १३ प्रहरी अझै बेपत्ता छन् ।
उनका अनुसार स्याफ्रुबेसीबाट ४ र मैलुङबाट एकजना प्रहरी सम्पर्कमा आउँदा तीसहित रसुवागढी अन्य प्रहरी सम्पर्क बाहिर छन् । सम्पर्कमा आएका र घाइते भएका प्रहरीलाई तत्काल उद्धार गरी उपचाका लागि काठमाडौं ल्याउने प्रयास भइरहेको उनले बताए ।
रसुवा जिल्लामा आएको बाढीका कारण ११ जलविद्युत र एक वटा सोलार आयोजना प्रणालीबाट विच्छेद भएका छन् । नेपाल विद्युत प्राधिकरणका अनुसार ११ वटा जलविद्युत आयोजना र एक वटा सोलार आयोजनामा क्षति पुगेर प्रणालीबाट बाहिर रहेको प्रारम्भिक जानकारी आएको छ । निजी क्षेत्र र नेपाल विद्युत प्राधिकरण आफैँले निर्माण गरिरहेका आयोजनामा क्षति पुगेको हो ।


