१० भदौ , काठमाण्डौ ।
रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको एक्कासी भीषण बाढीको वास्तविक कारण अझै यकिन हुन सकेको छैन । सामान्य वर्षामात्र भएको अवस्थामा नदीमा अस्वाभाविक रूपमा ठूलो बहाव आएपछि नेपालले यसको कारण खोज्न चीनसँग समन्वय थालेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीको स्रोत चीनतर्फको भूभागसँग समेत सम्बन्धित हुनसक्ने भएकाले चिनियाँ पक्षसँग सूचना आदानप्रदान र प्राविधिक समन्वय भइरहेको छ । प्राधिकरणकी उपसचिव गोमादेवी चेम्जोङका अनुसार घटनाको वास्तविक कारण पत्ता लगाउन स्याटेलाइट तस्वीरको समेत अध्ययन गर्ने तयारी गरिएको छ ।
बाढीको स्रोत र प्रकृतिबारे स्पष्ट निष्कर्षमा पुग्न चीनसँगै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) लगायतका प्राविधिक निकायसँग पनि सहकार्य भइरहेको उनले जानकारी दिइन् । ‘यो नेपालको नदीसँग मात्र सम्बन्धित विषय होइन, चीनसँग जोडिएको विषय भएकाले चीनसँगै समन्वय गरेर कारणको खोजी गरिरहेका छौं,’ चेम्जोङले भनिन्, ‘स्याटेलाइटबाट अध्ययन नगरी अहिले नै बाढीको ठोस कारण यही हो भनेर भन्न सकिने अवस्था छैन।’
भोटेकोशीमा आएको बाढीलाई असामान्य मानिनुको एउटा प्रमुख कारण त्यस क्षेत्रमा ठूलो वर्षा नहुनु हो । मौसमविद्हरूका अनुसार मंगलबार साँझदेखि रसुवा क्षेत्रमा बाढी ल्याउने स्तरको भारी वर्षा भएको थिएन। त्यसैले सामान्य वर्षाबाट मात्रै यति ठूलो बाढी आएको हो वा नदीको माथिल्लो जलाधार क्षेत्रमा कुनै आकस्मिक प्राकृतिक घटना भएको हो भन्ने विषयमा अध्ययन केन्द्रित गरिएको छ ।
भोटेकोशीको माथिल्लो जलाधार क्षेत्र चीनको तिब्बतसँग जोडिएको छ । यही कारण त्यहाँ हिमपहिरो, हिमताल फुट्ने घटना वा कुनै प्राकृतिक अवरोध भत्किएर एकैपटक ठूलो पानी तलतर्फ आएको हुनसक्ने सम्भावनासमेत अध्ययन भइरहेको छ।मौसमविद् मिन कुमार अर्यालले भोटेकोशीको जलाधार चीनतर्फ समेत फैलिएकाले माथिल्लो क्षेत्रमा हिमपहिरो वा हिमतालसँग सम्बन्धित घटना भएको हुनसक्ने बताएका छन् ।
अहिले नेपालका सम्बन्धित निकायले वर्षाको विवरण, नदीको बहाव, भू–उपग्रह तस्वीर तथा चीनतर्फको भूगर्भीय अवस्थालाई जोडेर बाढीको वास्तविक कारण पहिचान गर्ने प्रयास गरिरहेका छन् । प्राविधिक अध्ययन पूरा नभएसम्म बाढी हिमपहिरो, हिमताल फुटेर वा अन्य कुनै कारणबाट आएको हो भन्ने निष्कर्षमा पुग्न नसकिने सरकारी अधिकारीहरूको भनाइ छ ।
यता राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार तिब्बतको जिलोङ काउन्टीस्थित डोङलिन छाङ्गो रिभरमा हिमपहिरोपछि नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा नेपालतर्फ आएको बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा क्षति पु¥याएको छ ।
बाढीपछि सरकारले उद्धार, राहत तथा खोजी कार्यलाई तीव्र बनाउँदै सुरक्षा संयन्त्र परिचालन गरेको उनले जानकारी दिएका छन् । बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेंसी तथा रसुवागढी क्षेत्रमा ठूलो धनजनको क्षति पु¥याएको प्रारम्भिक जानकारी आएको उप्रेतीले बताए । घटनालगत्तै विपद् कमान्ड पोस्टको बैठक बसेर उद्धार तथा राहतका लागि सुरक्षा संयन्त्र परिचालन गरिएको उनले बताएका छन् ।
यसैबीच भोटेकोसी नदीमा फेरि बाढी आउने जोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिरकणले जनाएको छ । चिनियाँ अधिकारीहरूले अझै पनि बाढीको जोखिम रहेको जानकारी दिएको प्राधिकरणले जनाएको छ। बुधबार दिउँसो १ः३५ बजे चिनियाँ अधिकारीहरूले पठाएको सूचनामा नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखुलेको जनाइएको छ ।
प्राधिकरणका अनुसार चिनियाँ पक्षले उपलब्ध गराएको पछिल्लो सूचनामा तिब्बततर्फको नदी थुनिएको स्थानमा अझै पनि करिब ७ मिटर अग्लो पानीको ड्याम (अस्थायी ताल) बाँकी रहेको छ। जसले गर्दा अझै पनि भोटेकोसी र त्रिशुली नदी आसपासको क्षेत्रमा जोखिम कायमै रहेको छ ।
प्राधिकरणले भनेको छ, ‘चीन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोसी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदासम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ।’ यसबीच सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ तीन जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
तीन महिनाका लागि संकटग्रस्त घोषणा गरिएको हो । यस्तै मन्त्रिपरिषद्को बैठकले सबै मन्त्रीहरूलाई आ– आफ्नो मन्त्रालयको क्षेत्र अन्तर्गत के–के आवश्यकता पर्छ त्यसका लागि फिल्डमै खटिन पनि निर्देशन दिएका छन् । उता चीनका राष्ट्रपति सी चिनफिङले बुधबार बिहान पहिरोका कारण चीनको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ सीमा नाकामा मानवीय क्षतिका साथै बेपत्ता भएका व्यक्तिहरूको खोजी र उद्धारका लागि हरसम्भव प्रयास गर्न आदेश दिएको भनी सिन्ह्वा समाचार संस्थाले लेखेको छ ।
चिनियाँ समयअनुसार, बिहान लगभग १०ः३० बजेतिर तिब्बतको शिगात्से शहरको केरुङ काउन्टीको केरुङ बन्दरगाहमा नेपालतर्फ बाढी र पहिरोका कारण हताहती भएको छ । राष्ट्रपति सीले बेपत्ता व्यक्तिहरूको खोजी र उद्धार गर्न, खतरामा परेका मानिसहरूलाई स्थानान्तरण र पुनःस्थापना गर्न र घाइतेहरूको तुरुन्तै उपचार गरी हताहती घटाउन सक्दो प्रयास गर्नुपर्ने औंल्याए ।


