१२ भदौ , काठमाण्डौ ।
रसुवास्थित भोटेकोसी र त्रिशूली नदीमा अचानक आएको विनाशकारी बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति गरेको छ । सयौ बेखर छन्, मृतकको संखया बढिरहेको छ । उद्धार अझै जारी छ । सयौंका घर बगेका छन् । अर्बाैको भौतिक क्षति भएको छ ।
यो विपद्को अवस्थामा नेपालका मित्र राष्ट्रहरुले नेपालको घाउमा मलम लगाउने प्रयास गरेका छन् । अन्तर्राष्ट्रिय समुदायले नेपाललाई आवश्यक पर्ने सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कतिले विज्ञप्तिमार्फत त कतिले आफ्ना समकक्षीलाई टेलिफोन गरेर नेपाल र नेपालीको साथमा आफूहरू रहेको ढाडस दिइरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अमेरिकी समाचार संस्था एनबिसी न्यूजका अनुसार बिहीबार ह्वाइट हाउसमा आयोजित लेक ओन्टारियोको नाम परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गर्न आयोजना भएको समारोहपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन् ।
“नेपाललााई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ,” राष्ट्रपति ट्रम्पलाई उद्धृत गर्दै एनबिसीले भनेको छ । उनले भोटेकोशी बाढीबाट भएको क्षतिबारे नेपालका अधिकारीहरूसँग जानकारी लिएपछि उनीहरूलाई सहयोग गर्न अमेरिका तत्पर आफूले जानकारी गराएको बताए ।
अमेरिकी विदेशमन्त्री मार्को रुवियोले विनाशकारी बाढीपछि नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “अमेरिका नेपाल सरकारलाई आवश्यक मानवीय सहायता उपलब्ध गराउन तयार छ ।”
प्रारम्भिक चरणमा अमेरिकाले बाढीबाट प्रभावित समुदायका लागि ५ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले बाढीमा ज्यान गुमाएकाका परिवार तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै विपद् प्रभावित सबैप्रति ऐक्यबद्धता जनाएको छ ।
मन्त्रालयले विपद् प्रतिकार्यमा सहयोग गर्न एक जना विपद् प्रतिकार्य सल्लाहकारलाई प्रभावित क्षेत्रमा खटाउन लागेको जनाएको छ । अमेरिकाले क्याथोलिक रिलिफ सर्भिसेससँगको विश्वव्यापी सहकार्यअन्तर्गत उक्त रकम उपलब्ध गराउने भएको हो ।
सहयोगबाट बाढी प्रभावित समुदायका लागि आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी सहायता उपलब्ध गराइने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी दूतावास काठमाडौंले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई स्थानीय समाचारको निगरानी गर्न, स्थानीय प्रशासनको निर्देशन पालना गर्न र सुरक्षा तथा आपत्कालीन सूचना प्राप्त गर्न स्मार्ट ट्राभलर इन्रोलमेन्ट प्रोग्राम (एसटीईपी) मा आबद्ध हुन दूतावासले आग्रह गरेको छ ।
बुधबार (भदौ १०) बिहान ८ः४० बजे आएको बाढीले जनधनको ठूलो क्षति गरेको थाहा पाउनेबित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई टेलिफोन गरेका थिए । टेलिफोन वार्तामा मोदीले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै यस कठिन घडीमा भारतका जनता नेपालको साथमा रहेको जनाएका थिए ।
“भारत नेपाललाई सम्भव भएसम्मका सबै प्रकारका मानवीय सहायता उपलब्ध गराउन तयार छ,” टेलिफोन वार्तामा मोदीले भनेका थिए । भारतले बाढीपीडितका लागि तत्काल चाहिने राहत सामग्रीका सूची पठाउन नेपाललाई आग्रह गरेको थियो ।
त्यसपछि नेपालले खोज तथा उद्धार र राहतको लागि आवश्यक पर्ने सामग्री भारतसँग मागेको थियो । भारतले बुधबार नै पहिलो खेपमा १० टन मानवीय सहायता तथा विपद् राहत (एचएडीआर) सामग्री तथा अत्यावश्यक औषधिहरू भारतीय सेनाको जहाजमा राखी काठमाडौं पठाएको थियो ।
“हाम्रो संवेदना शोकसन्तप्त परिवारहरू तथा बाढीबाट प्रभावित सबैप्रति छ । यस चुनौतीको घडीमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको छ,” पहिलो खेप राहत सामग्री पठाएपछि भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमा लेखेका थिए ।
भारतले बिहीबार दोस्रो खेपअन्तर्गत ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री, औषधि र खाद्य प्याकेटहरू नेपाल पठाएको छ । भारतले बुधबार र बिहीबार गरेर कुल ४७.५ टन राहत रामाग्री नेपाल पठाइसकेको छ । भारतले यसपटक पनि ‘नजिक र पर्दाको साथी’ भनेर व्यवहारबाटै पुष्टि गरेको छ ।
नेपालमा बुधबार आएको बाढीलाई लिएर भारतको विदेश मन्त्रालयमा बिहीबार समीक्षा बैठक समेत बसेको थियो । भारतका विदेशमन्त्री एस जयशंकरले बैठकको नेतृत्व गरेका थिए । बैठकमा भारतीय विदेशसचिव, विदेश मन्त्रालयको टोली, नेपाल र भारतका लागि भारतीय राजदूतहरू प्रत्यक्ष तथा भर्चुअल रूपमा सहभागी थिए ।
बाढी प्रभावित क्षेत्रमा रहेका भारतीय नागरिकहरूको अवस्था, नेपाललाई आवश्यक पर्ने सहायता लगायतका विषयमा बैठकमा छलफल भएको थियो । भारतको विदेश मन्त्रालयले बिहीबार नै पत्रकार सम्मेलन गरी नेपालको बाढी प्रभावित क्षेत्रमा २८८ जना भारतीय नागरिक सम्पर्कविहीन भएको बताएको जानकारी दिएको थियो ।
चीनले पनि बाढीले नेपालमा गरेको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । चीनले आफ्ना १०० जनाभन्दा बढी नागरिक नेपालको बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन बनेको जनाएको छ । बुधबारको बाढीका कारण चीनतर्फ पनि ५५८ जना चिनियाँ नागरिक सम्पर्कविहीन भएका छन् ।
चीनले पनि तत्कालै नगद सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसका लागि रकम पठाउने प्रक्रिया सुरु गर्न नेपालका लागि चिनियाँ राजदूत जांग माओमिंगले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत नेपाल सरकारलाई आग्रह गरेका थिए ।
चिनियाँ राजदूत माओमिंगले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “यस कठिन घडीमा चीन नेपालको साथमा दृढतापूर्वक उभिएको छ । चिनियाँ पक्षमा पनि ठूलो क्षति भएको भए तापनि चीनले तुरुन्तै नेपालका लागि आपतकालीन राहत सामग्री र नगद सहयोगको समन्वय गरेको छ । थप सहायता प्रदान गर्न आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्नेछ ।”
राजदूत माओमिङले नेपाल र चीनले एकआपसमा हात मिलाएर यी कठिनाइहरूलाई पार गर्ने र आफ्ना सुन्दर घरहरू पुनर्निर्माण गर्ने विश्वास व्यक्त गरेका छन् । विपदग्रस्त नेपालका बाढी प्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र अमेरिका मात्र होइन विश्व बैंकले पनि अग्रसरता देखाएको छ ।
बुधबार बाढीको समाचार बाहिर आएलगत्तै बिहान १०.३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोगस्वरुप २५ अर्ब सहयोग गर्न सकिने जानकारी दिएका थिए ।
बेलायती विदेशमन्त्री एड मिलिब्यान्डले बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोन गरी ऐक्यवद्धता जनाएका थिए । नेपालको बाढी प्रभावित क्षेत्रमा ३३ जना बेलायती नागरिक सम्पर्कविहीन छन् । “मैले विपद् प्रतिकार्यमा सहयोग गर्न वित्तीय, खोज तथा उद्धार र अन्य सहयोगको पनि प्रस्ताव गरेँ । मैले उहाँलाई भनेँ कि नेपाललाई आवश्यक परेको यो घडीमा सहयोग गर्न हामीले सक्दो सबै गर्नेछौँ,” बेलायतका विदेशमन्त्री मिलिब्यान्डले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
बेलायतले नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीबाट प्रभावितको राहत र उद्धारका लागि सहयोगको घोषणा समेत गरेको छ । बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले राहत र उद्धारका लागि करिब एक अर्ब तीन लाख नेपाली रुपैयाँ (५० लाख पाउन्ड) सहयोगको घोषणा गरेका छन् ।
यूकेको साउथ वेल्स भ्रमणका क्रममा प्रधानमन्त्री बर्नामले नेपालमा घटेको घटना अत्यन्तै हृदयविदारक रहेको बताउँदै बेलायत सरकारले तत्काल कदम चालिरहेको जानकारी दिए । यो कठिन र पीडादायी परिस्थितिमा बेपत्ता बेलायती नागरिकका परिवारहरूलाई सरकारका तर्फबाट सम्भव भएसम्मका सबै सहयोग उपलब्ध गराइने उनले स्पष्ट पारेका छन् ।
बेलायतले नेपालमा आफ्ना आपतकालीन उद्धारकर्ताहरू पठाउन प्रस्ताव गरेको छ । तर, उद्धार टोली भित्र्याउने वा नभित्र्याउने विषय नेपाल सरकारको निर्णयमा भर पर्ने बर्नहमले उल्लेख गरेका छन् । बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानले बिहीबार परराष्ट्रमन्त्री शिशिर खनाललाई टेलिफोन गरेर आकस्मिक बाढीले गरेको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
टेलिफोन वार्ता बंगलादेशका विदेशमन्त्रीले आवश्यक सहयोग गर्ने प्रस्ताव गरेका थिए । जवाफमा परराष्ट्रमन्त्री खनालले आवश्यक पर्ने सहयोगका विषयमा नेपालले बंगलादेशसँग निकट रहेर काम गर्ने बताएका थिए ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले पनि नेपाल र चीनमा आएको भीषण बाढीका कारण धेरै मानिसको ज्यान गएको र बेपत्ता भएका तथा व्यापक भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । नेपालमा राष्ट्रसंघले सरकारको नेतृत्वमा भइरहेको विपद् प्रतिकार्यमा पूर्ण सहयोग गरिरहेको उनले उल्लेख गरेका छन् ।
यसमा विपद्को वास्तविक क्षतिको आकलन गर्ने र तत्काल आपतकालीन राहत पु¥याउने कार्य समावेश रहेको गुटेरेसले बताएका छन् । प्रभावित समुदायलाई सहयोग पु¥याउन राष्ट्रसंघीय टोली तथा मानवीय सहायताका साझेदारले आवश्यक राहत सामग्री र दक्ष जनशक्ति परिचालन गरिरहेको पनि उनले बताएका छन् ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयनले नेपालमा थप युरोपेली सहयोग परिचालन गर्न तयार रहेको बताएकी छन् । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले नेपालको अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन् । उनले नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएका छन् ।
बाढी प्रभावित क्षेत्रमा क्यानडाका २५ नागरिक सम्पर्कविहीन भएका छन् । पाकिस्तानका प्रधानमन्त्रयि शेहबाज शरीफले नेपालमा बाढीका कारण भएको अमूल्य जीवनको क्षति र व्यापक विनाशबाट अत्यन्तै दुःखी भएको बताएका छन् ।
दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले बिहीबार परराष्ट्रमन्त्री खनाललाई टेलिफोन गरी विपद्का कारण ज्यान गुमाएका तथा प्रभावित नेपाली नागरिकप्रति गहिरो समवेदना व्यक्त गरेका थिए । यस्तै संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी डलर अर्थात १ अर्ब ५३ करोड बराबरको आपत्कालीन मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।
यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानको निर्देशनमा उक्त सहायता घोषणा गरिएको हो। बाढी तथा पहिरोका कारण ठुलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक घाइते तथा बेपत्ता भएको अवस्थामा प्रभावित समुदायलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले सहायता प्रदान गर्न लागिएको यूएईले जनाएको छ ।
यूएई एड एजेन्सीमार्फत उपलब्ध गराइने उक्त सहायता प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा प्रयोग गरिनेछ। यूएई एडका टोलीले स्थानीय अधिकारी तथा अन्तर्राष्ट्रिय मानवीय संस्थासँग समन्वय गरी सबैभन्दा बढी प्रभावित र तत्काल सहायता आवश्यक रहेका क्षेत्रमा राहत पु¥याउने जनाएको छ ।
नेपालमा आएको विपद्पछि यूएईको यो सहयोगले अन्तर्राष्ट्रिय समुदायबाट नेपाललाई प्राप्त भइरहेको मानवीय समर्थन थप सुदृढ भएको छ। विपद्को यस कठिन घडीमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका प्रयासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।




