९०० भन्दा बढीको ज्यान गयो,४ हजार परिवार पर्खाइमा

१५ भदौ ८३, सोमबार
Share this
731shares

१५ भदौ, काठमाण्डौ।

Advertisement

प्रकृति जब मौन हुन्छ, तब सुन्दर देखिन्छ । तर जब यसले आफ्नो लय बदल्छ, तब यसले पछाडि केवल विनाश र आँसु मात्र छोड्छ । पछिल्लो केही दिनयता रसुवा, नुवाकोट र आसपासका जिल्लाले एउटा यस्तो भयावह त्रासदी भोगिरहेका छन्, जसको कल्पना मात्रले पनि मुटु काँप्छ।

९०३ जनाको मृत्यु भइसकेको छ र ४,२४७ जना अझै बेपत्ता छन् । यो केवल एउटा बाढी मात्र होइन, यो एउटा यस्तो बज्रपात हो जसले हजारौँको संसार एकै झट्कामा उजाडिदिएको छ । भोटेकोशी विपत्तिको छैटौँ दिन आइपुग्दासम्म हजारौं मानिस अझै बेपत्ता रहेका छन् ।

Advertisement

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (गृह मन्त्रालय) ले रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहतको पछिल्लो तथ्याङ्क सार्वजनिक गरेको छ । प्राधिकरणका अनुसार बाढीका कारण हालसम्म ९०३ जनाको मानवीय क्षति पुष्टि भएको छ भने ४,२४७ जना अझै सम्पर्कविहीन रहेका छन् ।

शव फेला परेका १०३ जनामध्ये नवलपरासी पूर्वमा २०७, चितवनमा २७२, नवलपरासी पश्चिममा १५१, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७, रसुवामा २४ र नुवाकोटमा ९५ वटा अङ्ग÷शव फेला परेको विवरण उल्लेख छ । सम्पर्कविहीन रहेका करिब ४,२४७ जनामध्ये रसुवाबाट ८६५ जना र नुवाकोटबाट १५५८ जना रहेका छन् ।

Advertisement

त्यसैगरी विदेशी नागरिक ५९२ जना, जलविद्युत् आयोजनाबाट ९३३ जना, मकवानपुरका ६५ जना, नेपाल प्रहरीका २५ जना, नेपाल सेनाका ४५ जना, सशस्त्र प्रहरीका १३ जना र भन्सार कार्यालयका १५ जना लगायत सम्पर्कविहीन छन् । हालसम्म १०,४५१ जनाको उद्धार गरिएको छ।

जसमध्ये नेपाली सेनाको हवाई उद्धारमार्फत २५२ जना विदेशी र ३,३४४ जना नेपालीको उद्धार गरिएको छ । बाढीमा परी २६७ जना घाइते भएका छन् भने १५६ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । प्रभावित क्षेत्रमा ६ वटा सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ ।

उद्धार तथा राहत कार्यका लागि २०,८१९ जना सुरक्षाकर्मी खटाइएको छ, जसमा नेपाल प्रहरीका ७,८९४, नेपाली सेनाका ८,७२२ र सशस्त्र प्रहरी बलका ४,२०३ जना रहेका छन् । हालसम्म ३७ ट्रक र ३५ बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ ।

साथै, भदौ १३ र १४ गते रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा हेलिकप्टरबाट २ टन खाद्य सामग्री, ५ वटा पोर्टेबल जेनेरेटर तथा स्वास्थ्य सामग्री ढुवानी गरिएको छ । नेपाल सरकारबाट रसुवाका लागि १ करोड, नुवाकोटका लागि १ करोड, धादिङका लागि ५० लाख र प्रभावित १५ पालिकाका लागि ६ करोड ७५ लाख बराबरको नगद राहत विनियोजन गरिएको छ ।

प्रभावित क्षेत्रमा २५ हजार लिटर डिजेल, २१ हजार लिटर पेट्रोल र १० हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ । पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएका छन् । पहिचान नखुलेका शवको विस्तृत विवरण नेपाल प्रहरीको आधिकारिक पोर्टल तथा विस्तृत जानकारी प्राधिकरणको आधिकारिक फेसबुक पेज र वेबसाइटमार्फत लिन सकिने जनाइएको छ ।

अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीपछि ४३ जना सम्पर्कविहीन भएको जनाइएको छ । आयोजनामा कार्यरत बाढीबाट भागेर ज्यान बचाउन सफल कर्मचारीहरूका अनुसार क्याम्प क्षेत्रका घर बाढीले बगाएको नभई ठूलो मात्रामा आएको लेदोले पुरिएका हुन् ।

पुरिएको घरभित्र आयोजनाका वरिष्ठ कर्मचारी, परामर्शदाता, इन्टर्न विद्यार्थी तथा उनीहरूका परिवारका सदस्य र साना बालबालिका समेत रहेको बताइएको छ। सम्पर्कविहीनमध्ये आयोजनाका कर्मचारी तथा सुरक्षाकर्मी २२ जना, कर्मचारीका परिवारका ७ जना, परामर्शदाता चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनीका ११ जना र काठमाडौँ विश्वविद्यालयबाट प्रयोगात्मक अभ्यासका लागि गएका ३ जना विद्यार्थी रहेका छन्।

सम्पर्कविहीन हुनेमा आयोजनाका प्रमुख इन्दिबर घिमिरे, उपप्रबन्धक प्रकाशनिधि तिवारी, सहायक प्रबन्धक राजेश शर्मा, इन्जिनियरहरू सोमनाथ पौडेल, प्रमिला पाठक र दिपेश श्रेष्ठलगायत छन्। परामर्शदाता कम्पनीतर्फ वरिष्ठ टोली नेता कमलबहादुर पाण्डे, ठेक्का इन्जिनियर मनोज केसी, वरिष्ठ भूगर्भविद् सुमेस अमात्य, वरिष्ठ निर्माण इन्जिनियर निरज श्रेष्ठलगायत सम्पर्कविहीन रहेको जनाइएको छ।

त्यस्तै, काठमाडौं विश्वविद्यालयबाट इन्टर्नसिपका लागि आयोजनामा पुगेका सिभिल इन्जिनियरिङ चौथो वर्षका विद्यार्थी सृष्टि बास्तोला, समीर पौडेल र शिशिर गिरी पनि सम्पर्कविहीनको सूचीमा छन्। सबैभन्दा चिन्ताजनक अवस्था कर्मचारीका परिवारका साना बालबालिकाको रहेको छ ।

सम्पर्कविहीन परिवारका सदस्यमा ३ वर्ष ६ महिनाका आदित्य पौडेल शर्मा र आदिश्री पौडेल शर्मा, २ वर्ष ६ महिनाका शिवांश पौडेल र त्रिशा पौडेल तथा २ वर्षका कियान्शा अधिकारी पनि छन्। बाढीपछि पुरिएको संरचनाभित्र मानिसहरू जीवितै रहेको सम्भावना रहेको भन्दै तत्काल आधुनिक उद्धार तथा उत्खनन उपकरण परिचालन गर्न माग गरिएको छ।

घटनास्थलमा ढिलाइ हुँदा जीवित उद्धारको सम्भावना प्रभावित हुन सक्ने भएकाले सम्बन्धित सरकारी निकाय, सुरक्षा निकाय तथा आयोजनासँग समन्वय गरी तीव्र उद्धार अभियान सञ्चालन गर्न आग्रह गरिएको छ। उद्धारका लागि भारी उपकरण, माटो तथा लेदो हटाउने मेसिन, खोज तथा उद्धार प्रविधि र आवश्यक प्राविधिक जनशक्ति तत्काल घटनास्थलमा पु¥याउनुपर्ने माग गरिएको छ।

उता बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवन क्षेत्रमा फेला परेका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका १ स्थित देवघाट जङ्गलमा ती शवहरूको व्यवस्थापन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका २७२ शवमध्ये १९९ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको मात्र सनाखत भएको छ। सनाखत भएका शवहरू परीक्षणपश्चात् परिवारले बुझेर लगेका छन्।

भविष्यमा डिएनए परीक्षण बेपत्ता भएका व्यक्तिका परिवारसँग मिलेमा राखिएको ठाउँबाट पहिचान गरी हस्तान्तरण गर्न सकिने गरी संकेत चिह्न राखेर शव व्यवस्थापन गरिएको छ।

हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ अन्य (अवशेष) छन्। अझै पनि नदी किनारमा शव फेला पर्ने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई संयुक्त रूपमा खोजी तथा शव व्यवस्थापनमा परिचालन गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top