हाइड्रोको टनेलको उद्धार कहाँ पुग्यो ? त्रिशूली एबाट भाग्यले बाँचेका ५ मजदुर

१६ भदौ ८३, मंगलबार
Share this
743shares

१६ भदौ , काठमाण्डौ ।

Advertisement

बाढीका कारण हालसम्म करिव साढे ९ सय जनाको शव फेला गरिसकेको छ । नेपालमा ९३९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने भारतमा १३ जनाको शव भेटिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुशार विपदमा परी अझै ३ हजार ९ सय २५ जना सम्पर्कविहीन रहेका छन् ।

बेपत्ता हुनेहरूमा ८३ जना सुरक्षाकर्मी (नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी), भन्सार र अध्यागमनका कर्मचारी, जलविद्युत आयोजनाका ६३९ कामदार, ५९२ विदेशी नागरिक र अन्य सर्वसाधारण रहेका छन् । अहिले पनि सबैभन्दा बढी हाइड्रोमा काम गर्नेहरु बेपत्ता छन् ।

Advertisement

विनाशकारी बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा सोमबार पनि हराइरहेकाहरूको खोजी तथा उद्धार जारी रह्यो। तर अधिकांश आयोजनामा अपेक्षित सफलता हात लाग्न सकेन। सुरुङभित्र पानी भरिनु, सुरुङका प्रवेशद्वारमा ढुंगा–माटो थुप्रिनु तथा आयोजनाका संरचना नै क्षतिग्रस्त हुनु वा बग्नुजस्ता कारणले उद्धार टोलीलाई भित्रसम्म पुग्न कठिनाइ भएको जानकार अधिकारीहरूले बताएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले उपलब्ध गराएको पछिल्लो जानकारी अनुसार माथिल्लो त्रिशूली थ्री ए, रसुवागढी, चिलिमे, लाङटाङ खोला, माथिल्लो त्रिशूली थ्री बी र माथिल्लो त्रिशूली–१ मा सोमबार पनि खोज तथा उद्धारका काम जारी थिए ।

Advertisement

६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् केन्द्रको सुरुङमा फसेकाहरूको उद्धारका लागि २४ घण्टा नै काम भइरहेको छ। तर सोमबारसम्म उद्धार टोली सुरुङको पोर्टल सफा गर्ने काममै केन्द्रित हुनुपरेको छ। सोमबार सुरुङको ‘क्राउन’ ब्लास्ट गरी भित्रको अवस्था हेर्दा केबल टनेलमा पानी रहेको पाइएको थियो।

त्यसपछि वाटर पम्प प्रयोग गरी सुरुङको पानी बाहिर निकाल्ने काम गरिएको छ। सुरुङको मुखतर्फ थुप्रिएको ढुंगा–माटो हटाएर उद्धार टोली भित्र प्रवेश गर्न सक्ने मार्ग बनाउने कामसमेत भइरहेको छ। विज्ञ तथा प्राविधिक टोलीले निरन्तर काम गरिरहेको भए पनि सुरुङभित्र फसेकाहरूलाई अझै उद्धार गर्न सकिएको छैन।

नेपाल विद्युत् प्राधिकरणका कामु प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठले फसेकाहरूलाई बचाउन सकिने आशासहित उद्धार कार्य अघि बढाइरहेको बताएका छन्। तर सुरुङभित्र पानी भरिएकाले उद्धार थप चुनौतीपूर्ण बनेको उनको भनाइ छ। १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा सोमबार नेपाली सेनाको नेतृत्वमा उद्धार टोली पुगेको थियो।

इन्जिनियर तथा ड्रोनसहित पुगेको टोलीले विद्युत्गृहको सुरुङभित्र प्रवेश गरी खोजी तथा अवलोकन गरेको थियो। सुरुङको अन्तिम भागसम्म मानिसहरू फसेको हुनसक्ने आशंकामा खोजी गरिएको भए पनि ड्रोनमार्फत अवलोकन गर्दा कोही फेला नपरेको रसुवागढी हाइड्रोपावर कम्पनीले जनाएको छ।

खोजी कार्यपछि नेपाली सेनाको टोली धुन्चे फर्किएको छ। आयोजनाबाट कम्पनीका ४९ कर्मचारीसहित ९३ जना हराइरहेको विवरण छ। २२ मेगावाटको चिलिमे जलविद्युत् केन्द्रमा आइतबार प्रभावित भएको उद्धार तथा पहुँचमार्ग खुलाउने काम सोमबार पुनः सुरु गरिएको छ।

नेपाली सेना, पर्वतारोही, भारतीय प्राविधिक टोली तथा आयोजनाका कर्मचारीसहितको टोलीले दिनभर विद्युत्गृहसम्म पुग्ने मार्ग खुलाउने प्रयास गरेको थियो। चिलिमे जलविद्युत् केन्द्रका कार्यकारी निर्देशक बाबुराजा महर्जनका अनुसार २५० मिटर लामो सुरुङमा करिब ९० मिटरसम्म पुग्न सकिए पनि त्यसपछि भित्र जान सकिएको छैन।

उद्धारका लागि आवश्यक उपकरण आयोजनास्थलमा पु¥याएर मार्ग खुलाउने काम जारी राखिएको उनले बताएका छन्। २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा पनि सोमबार नेपाली सेनाको नेतृत्वमा उद्धार टोली पुगेको थियो।

नेपाली सेना, भारतीय सेना तथा प्राविधिकसहितको टोली आयोजना स्थलमा पुगेर निरीक्षण गरे पनि सुरुङभित्र फसेकाहरूको उद्धार हुन सकेन। आयोजनाले मंगलबार आफ्नोतर्फबाट समेत उद्धार प्रक्रिया अघि बढाउने जनाएको छ। ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनामा आइतबारदेखि नै हराइरहेकाहरूको खोजी जारी छ।

बाढीले आयोजनाका सबैजसो संरचना बगाएका कारण खोज तथा उद्धार कार्य थप कठिन बनेको छ।

नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक श्रेष्ठका अनुसार आयोजनासँगै रहेको २२० केभी त्रिशूली थ्री बी हब सबस्टेसनमा समेत पूर्ण क्षति पुगेको छ। सबस्टेसन क्षेत्रबाट सम्पर्कविहीन भएकाहरूको समेत खोजी भइरहेको छ। माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत १ सय ९८ कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन छन् ।

त्रिशुली–३ ‘बी’ आयोजना स्थलमा रहेका कर्मचारी, निर्माणमा संलग्न श्रमिक, परामर्शदाता, सुरक्षागार्ड तथा अन्य व्यक्तिसँग सम्पर्क हुन नसकेको हो । कम्पनीका अनुसार सम्पर्कविहीन २ सय १ मध्ये ३ जना सम्पर्कमा आएका छन् भने १ सय ९८ अझै सम्पर्कविहीन छन् ।

कम्पनीमा कार्यरत ९१ जनाको भने उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । सम्पर्कविहीन हुनेमा आयोजनाका कर्मचारी तथा उनीहरूका परिवार, सिभिल निर्माणतर्फका निर्माण व्यवसायीका कर्मचारी तथा श्रमिक, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका जनशक्ति, परामर्शदाता, सुरक्षागार्ड र इन्टर्नसिपमा रहेका विद्यार्थी समेत छन् ।

कम्पनीकी उपनिर्देशक लिला अर्यालका अनुसार आयोजनामा कम्पनीतर्फका ४८ कर्मचारीमध्ये २१ जना सम्पर्कविहीन छन् । बिदामा रहेका वा अन्य कारण आयोजनास्थलमा नरहेका कर्मचारी भने सुरक्षित सम्पर्कमा छन् । २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ मा सोमबार थप ३ जनाको उद्धार भएको छ।

हालसम्म उद्धार भएका तथा सम्पर्कमा आएका गरी ८७३ जनाको विवरण प्राप्त भएको छ । तर परामर्शदाता कम्पनी, ठेकेदार कम्पनी तथा आयोजनाका कर्मचारीसमेत गरी ५७३ जना अझै हराइरहेको विवरण छ। त्यसमध्ये करिब ३०० जना सुरुङभित्र काम गर्ने व्यक्ति रहेको बताइएको छ।

उनीहरू सुरुङभित्रै बसेर काम गरिरहेका थिए वा सुरुङभित्र प्रवेश गरेका थिएनन् भन्ने विषय भने अझै यकिन हुन सकेको छैन। बाढी आएको दिन आयोजनामा १ हजार ४०० भन्दा बढी व्यक्ति कार्यरत रहेको हुनसक्ने अनुमान गरिएको छ। बाढीबाट प्रभावित आयोजनाहरूमा सोमबारसम्म विभिन्न सुरक्षा निकाय, प्राविधिक टोली, पर्वतारोही तथा भारतीय प्राविधिक र उद्धार टोलीसमेत परिचालन भएका छन्।

तर भौतिक संरचनामा भएको ठूलो क्षति, सुरुङमा जमेको पानी र भग्नावशेषका कारण खोजी तथा उद्धार कार्य अझै जटिल अवस्थामा रहेको इप्पानले जनाएको छ। यसैबीच थ्री–ए जलविद्युत आयोजनाको सुरुङमा कार्यरत कैलालीका ५ कामदार घर फर्किएका छन् ।

सरिया (फलामे डण्डी) मिलाउने काम गर्दै आएकाहरु बाढीको जानकारी पाएसँगै सुरुङबाट बाहिर निस्किएर भागेसँगै बाच्न सफल भएका हुन् । कैलालीका २५ वर्षीय सन्तोष चौधरीले त्यस दिनको घटना स्मरण गर्दैै भनेका छन्, भदौ १० गते बिहान सुरुङभित्रै काम गरिरहेको अवस्थामा एक्कासि ठुलो हावाहुरी चलेको जस्तो भयो ।

उनीसँगै काम गर्ने एक जना चिनियाँ नागरिक ‘के भएको रहेछ, म हेरेर आउँछु’ भन्दै गाडी लिएर बाहिर निस्किए । सन्तोष र उनका साथीहरू भने सुरुङभित्रै काम गरिरहेका थिए । बाहिर गएका ती चिनियाँ नागरिकले माथिबाट ठुलो बाढी आउँदै गरेको भन्दै सुरुङभित्रका मानिसलाई खबर गरे ।

त्यसपछि सन्तोष र उनका साथीहरूले बाढी आएको थाहा पाए । ‘सुरुङभित्र धेरै जना काम गरिरहेका थियौँ । कति थियौँ भन्ने यकिन सङ्ख्या त थाहा छैन । बाहिरबाट बाढी आएको खबर पाएपछि ज्यान जोगाउन हतार–हतार बाहिर निस्किएको उनले सुनाए । नभन्दै बाढी सुरुङ आसपासको क्षेत्रमा आइपुग्यो । उनीसँगै करिब ४० जनाजति बाहिर निस्किए । उनी र उनका साथीहरू भाग्दै माथि उच्चो भागतर्फ चढे । ‘कति साथी भाग्न पाए, कति साथी भाग्न पाएनन् भन्ने थाहा भएन । भजनी, टीकापुर र जानकीका गरी कैलालीबाट गएका १३ जना नै भाग्न सफल भयौँ,’ सन्तोषले भनेका छन् ।

सन्तोषका अनुसार सुरुङबाट निस्किएर करिब ४० जनाको टोली पहाडतिर चढ्यो । उनीहरूसँगै काम गर्ने ती चिनियाँ नागरिकले पनि उनीहरूलाई डेरातिर नजान र माथि चढ्न भनेका थिए । ‘अझै नदी बढ्छ, माथि–माथि चढ’ भन्दै उनले सचेत गराएका थिए । त्यो दिनभरि मोबाइलको नेटवर्क थिएन ।

घरमा फोन गरेर आफू सकुशल रहेको खबर दिनसमेत नपाएको उनले सुनाए । भोलिपल्ट नेपाली सेनाको हेलिकप्टरले उनीहरूको उद्धार गरेको थियो । सन्तोषको गाउँ भजनीकै पाँच जना त्यहाँ काम गर्न गएका थिए । कैलालीका टीकापुर, जानकी र भजनीका अन्य वडाका गरी उनीहरू १३ जना थिए ।

तीमध्ये सबैजसो सकुशल फर्किएका छन् । सुदूरपश्चिमका धेरै परिवारका लागि अझै प्रतीक्षा सकिएको छैन । सुदूरपश्चिममा अझै १ सय ४० भन्दा बढी मानिस सम्पर्कविहीन रहेको बताइएको छ । आफन्तहरू उनीहरूको खोजीका लागि दैनिक सम्बन्धित निकायमा फोन गरिरहेका छन् ।

प्रहरीका अनुसार आइतबारसम्म ३६ जना सम्पर्कमा आइसकेका छन् । तीमध्ये कैलाली र कञ्चनपुरका ३५ जना छन् । एक जना भने डडेल्धुराका रहेका छन् । यसैबीच नेपालमा गएको बाढी र पहिरोपछि हिमनदी तथा जलस्तरसम्बन्धी आवश्यक पूर्वसूचना उपलब्ध नगराएको भनी उठेका प्रश्नहरूलाई चिनियाँ विदेश मन्त्रालयले अस्वीकार गरेको छ ।

चीनले नेपालसँग मौसम, जलस्रोत तथा विपद् व्यवस्थापनको क्षेत्रमा निरन्तर सहकार्य गर्दै आएको जनाएको छ । चीनले विपद् राहत तथा उद्धारमा नेपाललाई पूर्ण सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । चिनियाँ पक्षका अनुसार मौसम सम्बन्धी हाइड्रोलोजिकल र मेट्रोलोजिकल तथ्यांक नियमित रूपमा प्रदान गरिँदै आएको छ ।

चिनियाँ विदेश मन्त्रालयले रोयटर्सलाई उपलब्ध गराएको एक वक्तव्यमा दुवै देशबीच मौसम विज्ञान, जलस्रोत र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सुदृढ सहकार्य रहँदै आएको जनाएको छ । चीनले नेपालको राहत कार्यमा पूर्ण सहयोग जारी राख्ने र दुवै देशका जनताको साझा हित रक्षाका लागि सहकार्य थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

दुवै देशका नागरिकको सुरक्षा र हित रक्षाका लागि विपद् न्यूनीकरणमा सहकार्य थप बलियो बनाइने चीनको विदेश मन्त्रालयले रोयटर्सलाई दिएको एक वक्तव्यमा उल्लेख छ । बाढी आउनुअघि चीनसँग विशेष गरी आफ्नो सीमाबाहिरका हिमाली क्षेत्रका हिमनदीको अवस्थाबारे कुन स्तरको तथ्यांक उपलब्ध थियो भन्ने अझै स्पष्ट हुन नसकेको रोयटर्सले जनाएको छ ।

तर, चेङ्दु युनिभर्सिटी अफ टेक्नोलोजीका भू–जोखिम विशेषज्ञ फ्यान सुआनमेईले यस्ता हिमाली क्षेत्रमा विपद् आउनुअघि नै जोखिम पत्ता लगाउनु अत्यन्तै कठिन हुने बताएका छन् ।

पाँच हजार मिटरभन्दा बढी उचाइमा हुने भएकाले परम्परागत रूपमा मैदानमै गएर निगरानी गर्न असम्भवप्रायः हुनुका साथै, अत्यधिक चिसो र उच्च उचाइका कारण सेटेलाइट तस्बिरहरू हिउँ, बरफ र भिरालो भूगोलले गर्दा अस्पष्ट हुने र अनुगमन उपकरणहरूले काम गर्न कठिन हुने उनले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top