आज विभिन्न प्रदेशमा भारी वर्षा, बाढीले २ युवालाई बगायो

१८ भदौ ८३, बिहीबार
Share this
751shares

१८ भदौ , काठमाण्डौ ।

Advertisement

 हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा सरदर स्थानभन्दा केही उत्तरतर्फ र पूर्वी भू–भागमा सरदर स्थानकै आसपास रहेको छ।

यसका कारण देशका विभिन्न भू–भागमा बदलीसँगै वर्षाको गतिविधि जारी रहने देखिएको छ। महाशाखाका अनुसार बिहीबार बिहान कर्णाली प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ। विशेषगरी सुर्खेत आसपासका क्षेत्रमा पछिल्लो केही समयदेखि वर्षाको गतिविधि देखिएको छ।

Advertisement

सुर्खेतको गोथीकाण्डमा पछिल्लो एक घण्टामा २० दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, रातानाङ्ग्ला र रानीमत्तामा १४–१४ मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ। यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा उल्लेख्य वर्षा भएको छ।

कञ्चनपुरको सुन्दरपुरमा १०० दशमलव ४ मिलिमिटर वर्षा मापन गरिएको छ। हनुमान नगरमा ५९ दशमलव ६ मिलिमिटर तथा दोधारामा ५१ दशमलव २ मिलिमिटर वर्षा भएको छ। देशका अन्य विभिन्न स्थानमा पनि मध्यमदेखि भारी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ।

Advertisement

पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची घ्याङ र भोताङ मौसम मापन केन्द्रमा ६४.२ मिलिमिटर र ६१.४ मिलिमिटर भएको छ। यस्तै कास्की जिल्लाको घलेखर्क र मालेपाटन मौसम मापन केन्द्रमा ५१.६ मिलिमिटर र ४५ मिलिमिटर वर्षा भएको छ।

साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, कोसी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि वर्षा भएको मौसम महाशाखाले जनाएको छ। पाल्पामा बाढीले बगाउँदा दुईजना युवकको मृत्यु भएको छ।

स्थानीय कन्चन खोलामा आएको बाढीले बगाउँदा रैनादेवी छहरा–७ जोगदमार बस्ने ३२ वर्षीय विपिन पोखरेल र सोही स्थानका २२ वर्षीय प्रविन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। भदौँ १५ गते बेलुकीदेखि बेपत्ता भएका उनीहरुको बुधबार दिउँसो कन्चन खोलामा फेला परेको हो।

उनीहरू सवार लु.२१ प ९८७६ नम्बरको मोटरसाइकल पनि क्षतविक्षत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए। महाशाखाका अनुसार बिहीबार दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ। देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। वर्षासँगै हावाहुरी र चट्याङको जोखिमसमेत रहेकाले सम्बन्धित क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा वर्षाको गतिविधि तुलनात्मक रूपमा बढी हुन सक्ने देखिएको छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षा हुने सम्भावना रहेका स्थानमा नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्न सक्ने तथा सडक यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउनुपर्ने देखिन्छ। ।

देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी, कोशी प्रदेशको तराई भू–भागका केही स्थानमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा पनि केही भू–भागमा भारी वर्षाको सम्भावना कायमै रहनेछ। कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यसैबीच अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडकखण्डहरू पूर्णरूपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले बिहान ६ः३५ बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ । काठमाडौं धादिङको चन्द्रागिरी नगरपालीका २ चिसापानी पहिरोका कारण अवरुद्ध भएको सडक खण्डमा एकतर्फी सुचारु भएको छ ।

बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गरिनेछ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

शिवपुरी गाउँपालिका–८ घट्टेखोला टोखा छहरे सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। पश्चिममा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले आगामी समयमा पनि देशका विभिन्न भू–भागमा वर्षाको गतिविधि जारी रहने देखिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top