२३ भदौ , काठमाण्डौ ।
रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक अझै बेपत्ता छन् । पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका पर्यटक बेपत्ता भएको जानकारी दिए ।
बेपत्ता भएका विदेशी पर्यटकमध्ये २५६ पुरुष, ३२९ महिला र दुई अन्य रहेका छन् । बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका रहेका छन् । विभागले दिएको जानकारीअनुसार भारतका १८४ नागरिक बेपत्ता भएका छन् ।

यसबाहेक अष्ट्रेलियाका ३३, बेलारुसका दुई, क्यानडाका ३०, फिनल्यान्डका एक, फ्रान्सका चार, जर्मनीका आठ, हङ्गेरीका एक, आइरिसका दुई, इजरायलका एक, लिथ्वानियाका एक, मलेसियाका ५५ र नेदरल्यान्डका दुईजना बेपत्ता भएका छन् ।
यस्तै, न्युजिल्यान्डका पाँच, पोर्चुगलका दुई, रसियाका आठ, सिङ्गापुरका नौ, दक्षिण अफ्रिकाका छ, स्पेनका दुई, युक्रेनका ५४, बेलायतका ३२, अमेरिकाका ६७, जापानका पाँच, फिलिपिन्सका एक, काजकिस्तानका तीन, बेल्जियमका दुई, स्विडेनका एक जना बेपत्ता भएका छन् ।
यसैगरी, लाटभियाका ३३, स्विजरल्यान्डका एक, इटलीका दुई, चीनका २६, भियतनामका एक, इस्टोनियाका एक र पोल्यान्डका दुई पर्यटक बेपत्ता भएका छन् । उक्त बाढीमा परेर नेपालका १८८ पर्यटक पनि बेपत्ता भएका छन् । विभागका अनुसार बेपत्ता हुनेमा १६१ पुरुष र २७ महिला रहेका छन् ।
बेपत्ता हुनेमा विदेशी पर्यटकको सहयोगीका रुपमा गएका र कैलाश मानसरोवर तथा गोसाइँकुण्ड घुम्न गएका नेपाली रहेको विभागका सूचना अधिकारी घिमिरेले बताए । सरकारले विपद्का बीच उद्धार कार्य पनि जारी राखेको छ । हालसम्म ३०७ विदेशी पर्यटकको सफल उद्धार गरिएको विभागले जनाएको छ ।
उद्धार भएकामध्ये २५४ पुरुष र ५३ महिला रहेका छन् । यसैगरी, बाढीपछि सम्पर्कविहीन भएकामध्ये सात जना हाल सम्पर्कमा आएका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ता भएकाको खोजी र राहत कार्यलाई तीव्रता दिएका छन् । यो विपतमा परि अहिलेसम्म १३ हजार ३९६ को उद्धार भएको छ भने १३ सय ५५ जनाको शव फेला परेको छ ।
यसैगरी अहिलेसम्म पनि ४ हजार ९९६ जना सम्पर्कविहीन छन् । यसैबीच अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङले नेपालमा हालै भएको विपद्प्रति दुःख व्यक्त गर्दै क्यानबेरास्थित नेपाली दूतावास पुगेर शोक पुस्तिकामा हस्ताक्षर गरेकी छन्। विदेशमन्त्री वङले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिँदै अस्ट्रेलिया नेपाली जनताको साथमा रहेको बताएकी छन् ।
उनले नेपालमा विपद्बाट प्रभावित अस्ट्रेलियाली नागरिकलाई सहयोग गर्न नेपालले गरेको प्रयासप्रति आभारसमेत व्यक्त गरेकी छन् । ‘अस्ट्रेलिया नेपालका जनताको साथमा छ,’ उनले फेसबुकमा लेखेकी छन् । साथै, वङले विपद्मा ज्यान गुमाउने तथा प्रभावित नेपालीहरूप्रति सहानुभूति व्यक्त गरेकी छन् ।
‘यस विपद्बाट प्रभावित अस्ट्रेलियालीलाई सहयोग गर्न नेपालले गरेको प्रयासप्रति हामी आभारी छौँ । हाम्रो विचार नेपाली जनता र नेपाल सरकारसँगै छ,’ उनले लेखेकी छन् । अस्ट्रेलियाका प्रधानमन्त्रीले पनि त्यहाँको संसदमा नेपालका बारेमा सम्बोधन गर्दै कठिन परिस्थितिमा नेपालसंगै रहेको प्रतिबद्धता जनाएका थिए ।
यसैगरी अस्ट्रेलियाका विदेशमन्त्री भने नेपाल नै आएका छन् । यसबीच नेपालमा खोज, उद्धार र राहत कार्यका लागि अस्ट्रेलियन सरकारले झन्डै ५० जना विज्ञ तथा सुरक्षाकर्मीलाई परिचालन गरेको छ । जसमा १५ सदस्यीय ‘आपत्कालीन सहायता प्रतिक्रिया टोली’ समावेश छ ।
त्यस्तै, न्यु साउथ वेल्स र क्विन्सल्यान्डका अग्नि नियन्त्रक विभागबाट आएका ड्रोन अपरेटरहरूले कठिन भूभागमा छिटो नक्सांकन र खोजबिनका लागि आधुनिक प्रविधि प्रयोग गरिरहेका छन् । साथै, अस्ट्रेलियन संघीय प्रहरीका विपद् पीडित पहिचान विशेषज्ञहरू पनि परिचालन भएका छन् ।
विदेश मामिला तथा व्यापार विभागका अधिकारी तथा सर्भिसेज अस्ट्रेलियाका सामाजिक कार्यकर्ताहरू काठमाडौं आइपुगेका छन् । भोटेकोशी बाढीमा परी ३६ जना अस्ट्रेलियन नागरिक सम्पर्कविहीन भएका छन् । सोमबार अस्ट्रेलियाको सिनेटलाई सम्बोधन गर्दै अस्ट्रेलिया सरकारका प्रतिनिधिले नेपाल, चीन र भारतका अधिकारीसँगको उच्च समन्वयमा सम्पर्कविहीन नागरिकहरूको खोजी तीव्र पारिएको जानकारी दिएका छन् ।
बाढीले बस्ती, सडक तथा पुलहरूमा पु¥याएको क्षति अत्यन्तै गम्भीर रहेको र यसले बेपत्ता परिवारमा गहिरो चिन्ता थपेको सरकारको भनाइ छ । काठमाडौं, बेइजिङ, नयाँ दिल्ली र क्यानबेरास्थित कूटनीतिक तथा सुरक्षा अधिकारीहरू सम्पर्कविहीनको अवस्था पत्ता लगाउन निरन्तर खटिरहेको जानकारी अस्ट्रेलिया सरकारले गराएको छ ।
काठमाडौंस्थित अस्ट्रेलियन दूतावासमा पीडित परिवारलाई लक्षित गर्दै ‘परिवार सहायता केन्द्र’ स्थापना गरिएको छ । सम्पर्कविहीन भएका अधिकांश अस्ट्रेलियन अन्तिम पटक केरुङ र स्याफ्रुबेसी क्षेत्रमा रहेको खुलेको छ। उनीहरूको यकिन स्थान पत्ता लगाउन अस्ट्रेलियाले नेपाली अधिकारीहरूलाई आवश्यक टेलिफोन डेटासमेत उपलब्ध गराएको छ ।
नेपाली उद्धार टोलीहरूले पनि सोही क्षेत्रमा खोजी गरिरहेका छन् । नेपालमा मानवीय सहायतास्वरूप अस्ट्रेलियाले आपत्कालीन बासस्थान, खाद्यान्न, सफा पानी, सरसफाइ र स्वास्थ्य सेवाका लागि १ करोड १० लाख डलर उपलब्ध गराउने घोषणा गरेको छ ।
त्यस्तै, रोयल अस्ट्रेलियन एयर फोर्सको सी–१७ विमानमार्फत करिब २४ टन राहत सामग्री नेपाल आइसकेको छ । यस संकटको घडीमा अष्ट्रेलियन नागरिकहरूले इमर्जेन्सी एक्सन एलायन्समार्फत ४५ लाख डलर सहयोग गरेका छन् भने सरकारले यसमा अतिरिक्त ५० लाख डलर थपेको छ ।
अस्ट्रेलिया सरकारले खोजी तथा उद्धार कार्य निरन्तर जारी रहने प्रतिबद्धता जनाउँदै विपद्मा ज्यान गुमाउनेहरूप्रति गहिरो समवेदना प्रकट गरेको छ । त्यस्तै, ध्वस्त भएका संरचनाहरूको पुनर्निर्माण र सेवा सञ्चालनको प्रक्रिया लामो हुने बताएको छ । ‘आज यो सिनेटले ज्यान गुमाउनेहरूप्रति शोक व्यक्त गर्दछ र अझै पनि हराएकाहरुको प्रतीक्षामा रहेकाहरूप्रति ऐक्यबद्धता प्रकट गर्दछ,’ सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यता नेपाल सरकारले रसुवा–भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ । शिक्षामन्त्री सस्मित पोखरेलले उक्त कार्यक्रम घोषणा गरेका हुन् । बाढी तथा अन्य विपद्का कारण शिक्षाबाट प्रभावित बालबालिकाको भविष्य सुनिश्चित गर्ने उद्देश्यले छात्रवृत्ति योजना ल्याइएको शिक्षा मन्त्रालयले जनाएको छ ।
कार्यक्रमको सुरुवाती चरणमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन), ओपिन तथा नेपाल मोन्टेसोरी संघले सरकारसँग सहकार्य गरेका छन् ।
सरकारले कार्यक्रममा अन्य शैक्षिक संस्था तथा संघसंस्थालाई समेत जोडिन आह्वान गरेको छ । रसुवा–भोटेकोसी बाढीबाट प्रभावित बालबालिकाको शिक्षाका लागि सुरु गरिएको यो कार्यक्रम भविष्यमा यस्तै विपद् वा अन्य परिस्थितिबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिनसमेत उपयोग गरिने मन्त्रालयले जनाएको छ ।
शिक्षा मन्त्रालयको प्रारम्भिक विवरणअनुसार रसुवा–भोटेकोसी बाढीपछि २८ शिक्षक र ५०० भन्दा बढी विद्यार्थी सम्पर्कविहीन छन् । बाढीबाट प्रभावित विद्यार्थीको अध्ययनमा अवरोध नहोस् र उनीहरूको शैक्षिक भविष्य प्रभावित नबनोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र फसिरहेकाहरुको खोजी तथा उद्धार कार्य जारी छ । यसबीच रसुवागढी जलविद्युत् आयोजनाको खोज तथा उद्धारमा सुरुङको २ सय ७५ मिटरसम्म पुगेको सेनाले जानकारी दिएको छ । आयोजनामा १२ वर्ष काम गरेका व्यक्तिलाई सुरुङभित्र लगेर खोजी कार्य गरिएको छ ।
यो आयोजनामा जेनेरेटर र अन्य उपकरणले भित्रको पानी फालेर सुरुङमा प्रवेश गरिएको हो । यहाँ ठूलो एक्स्काभेटर झारेर खोज तथा उद्धार कार्य गर्न सहज हुने भए पनि एमआई १७ हेलिकोप्टर ल्यान्ड गर्न सक्ने जमिन नरहेकाले सम्भव भएको छैन । यो आयोजनाको सुरुङभित्र बढीमा पाँच जना कर्मचारी तथा कामदार रहेको जानकारी प्राप्त भएको सेनाले जनाएको छ ।
आयोजनासँग आबद्ध बाँकी मान्छे सीमा सुरक्षा पोस्ट टिमुरे वा सुक्खा बन्दरगाहबाट हराएको हुन सक्ने आकलन सेनाको छ । यता लाङटाङ जलविद्युत् आयोजनाको सुरुङमा नेपाली सेना र भारतीय सेनाको टिमले १३ भदौदेखि खोजी थालेको थियो । यहाँको सुरुङमा ७ जनासम्म फसेको हुन सक्ने आकलन छ ।
अहिलेसम्म सर्भिस टनेल खनेर ६० मिटर भित्र प्रवेश गरिएको सेनाले जनाएको छ । आयोजनाका इन्जिनियरलाई नै लगेर खोजी भइरहेको छ । यो आयोजनाबाट एक जनाको शव भेटिएको र खोज तथा उद्धार निरन्तर जारी रहेको सेनाले जनाएको छ । चिलिमे जलविद्युत् आयोजनामा पनि नेपाली सेनाले भारतको विशेषज्ञ टोलीलाई लगेर १४ भदौदेखि खोजी र उद्धार थालेको थियो ।
यो आयोजनाको सुरुङको बाहिरबाट १२ भदौमा दुई शव भेटिएका थिए । ती शव आयोजनामा काम गर्ने व्यक्तिको नभएर भेलले बाहिरबाट बगाएर ल्याएको मान्छेको हुन सक्ने सेनाले बताएको छ । यो आयोजनाको सुरुङ अंग्रेजी अक्षर ‘भी’ आकारको रहेको छ । टनेलको मध्य अर्थात् ११० मिटरसम्म खोज तथा उद्धार टोली पुगिसकेको छ ।
यो आयोजनाको सुरुङसम्म जानका लागि स्थलमार्गबाट हालसम्म सम्भव देखिएको छैन । त्यहाँ जाने र फर्किने काम हेलिकोप्टरबाटै गर्नुपरेको छ । आयोजनाको मुखसम्म जानका लागि गोरेटो बाटो बनाउने प्रयास भइरहेको सेनाको भनाइ छ । यसको सुरुङमा ९ फिटसम्म गहिरो लेदो भरिएको छ । त्यसलाई फाल्दै सुरुङभित्र खोजी जारी रहेको छ ।
माथिल्लो त्रिशूली–१ आयोजनाको सुरुङमा सबैभन्दा धेरै कर्मचारी र कामदार फसेको आकलन छ । यहाँ नेपाली कर्मचारीसँगै नेपाली र भारतीय कामदारसमेत रहेको अनुमान छ । यो आयोजनाको सुरुङमा खोजीका लागि नेपाली सेनासँगै चिनियाँ टोलीलाई पठाइएको थियो । यहाँ ड्रोनबाट पनि खोजी गरिएको थियो ।
यहाँ १४ भदौबाट उद्धार सुरु गरिएको थियो । खोजी र उद्धार थालेलगत्तै सुरुङबाट एक शव फेला परेको सेनाले जानकारी दिएको छ । पछि यो सुरुङमा खोजीका लागि दक्षिण कोरियाली टिमलाई पनि संलग्न गराइएको थियो । बाढी गएको ११ औं दिनमा एक चिनियाँ नागरिकलाई जीवितै र थप २ शव भेटिएको थियो ।
यो सुरुङमा खोजी र उद्धारका लागि इन्जिनियर रवीन्द्र हमालसँग समन्वय गरिएको सेनाले जनाएको छ । यो आयोजनाको हेडवक्र्समा ४० देखि ५० जनाले काम गरिरहेका थिए भन्ने खबर प्राप्त भएको सेनाको भनाइ छ । सुरुङको ११५ मिटर भित्र गइसकेपछि सबै ब्लक भएर त्यसलाई हटाउने प्रयास जारी रहेको छ ।
सुरुङबाट लेदो फाल्ने पम्प झार्न नसकिएको सेनाले जनाएको छ । त्रिशूली–३ “ए” आयोजनाको पावरहाउस र सुरुङमा ४६ कर्मचारी तथा कामदार फसेको आयोजनाले जानकारी दिएको सेनाको भनाइ छ । सुरुङको प्रस्थानविन्दु र पावरहाउसको ढोका खोज्न नै सकस परेको छ ।
सुरुङबाट १० औं दिनमा दुई कर्मचारीको जीवितै उद्धार गरिएको थियो । त्यसपछि एक शव भेटिएको थियो । यो आयोजनाको सुरुङमा चिनियाँ टोली पनि उद्धारमा संलग्न छ । यता त्रिशूली–३ “बी” को पावरहाउस र सुरुङमा जान दलदले हिलोले अप्ठ्यारो रहेको सेनाको भनाइ छ ।
आयोजनामा ९० जनाले काम गरिरहेको जानकारी सेनाले पाएको छ । यहाँका कामदार र कर्मचारी सबै सुरुङमा नभई नजिकैको बेत्रावतीको सुकुमवासी बस्तीमा रहेका थिए कि भन्ने आकलन गरिएको छ । सुरुङमा कोही पनि मान्छे नभएकाले पावरहाउस, अफिस र अकोमोडेसन सेन्टरमा खोजी जारी रहेको सेनाले जनाएको छ । त्रिशूली–३ ‘ए’ बाट छिरेर त्रिशूली–३ ‘बी’ मा जान सकिन्छ कि भनेर एक्स्काभेटरबाट काम भइरहेको छ ।




