आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

२५ भदौ ८३, बिहीबार
Share this
737shares

२५ भदौ , काठमाण्डौ ।

Advertisement

नेपालमा मनसुन अझै सक्रिय अवस्थामा रहेको छ। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि धेरैजसो भूभागमा बदलीसँगै वर्षाको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय प्रणाली औसत अवस्थाकै आसपास रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षा हुने क्रम जारी रहनेछ।

विशेषगरी आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही क्षेत्रमा अन्य स्थानको तुलनामा बढी वर्षा हुन सक्ने अनुमान गरिएको छ। यी प्रदेशका पहाडी क्षेत्रसँगै केही तराई भूभागमा समेत भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

Advertisement

हालको मौसम अवस्थालाई हेर्दा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आकाश सामान्यतया बादलले ढाकिएको छ। यता कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आंशिक बदलीको अवस्था रहेको छ। बिहानैदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

त्यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही सीमित स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब आज दिउँसोको मौसमतर्फ जाऔँ। दिउँसो देशका अधिकांश भूभागमा मौसम सामान्यतया बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ।

Advertisement

कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि केही स्थानमा वर्षाको सम्भावना छ।पहाडी क्षेत्रमा भने वर्षाको सम्भावना अझ व्यापक देखिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरैजसो पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि केही स्थानमा यस्तै मौसम रहनेछ।

तराई क्षेत्रको मौसम पनि पूर्ण रूपमा सफा रहने छैन। मधेस प्रदेशका धेरै स्थानमा वर्षा हुन सक्नेछ भने बागमती र गण्डकी प्रदेशका तराई भूभागमा पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना छ। कोशी र लुम्बिनी प्रदेशका केही तराई क्षेत्रमा तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यसबीच कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा तथा मधेस प्रदेशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनीका केही तराई क्षेत्र पनि भारी वर्षाको जोखिममा पर्न सक्नेछन्। भारी वर्षा छोटो समयमा हुनसक्ने भएकाले नदी तथा खोलानालाको जलस्तर बढ्ने, सडकमा पानी जम्ने तथा पहाडी क्षेत्रमा पहिरो जाने जोखिमलाई समेत ध्यान दिनुपर्ने देखिन्छ।विशेषगरी यात्रा गर्नेहरूले मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्नुपर्ने हुन्छ।

वर्षाका कारण सडक चिप्लो हुने, पहाडी सडकखण्डमा पहिरो वा ढुंगा खस्ने तथा कमजोर भौगोलिक क्षेत्रमा आवागमन प्रभावित हुनसक्ने भएकाले सावधानी आवश्यक छ। चट्याङको सम्भावना भएका बेला खुला स्थान, खेतबारी वा रुखमुनि बस्नुभन्दा सुरक्षित स्थानमा रहनु उचित हुन्छ।

अब आज रातिको मौसमको अवस्था पनि जानकारी गराउ,राति देशका अधिकांश क्षेत्रमा आकाश सामान्यतया बादलले ढाकिनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनसक्ने अनुमान छ। पहाडी भूभागका केही स्थानमा तथा तराईका थोरै क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

आज नेपालभर मनसुनको प्रभाव कायमै रहनेछ। बिहानदेखि रातिसम्म नै देशका विभिन्न भूभागमा वर्षा हुने क्रम देखिनेछ। केही क्षेत्रमा सामान्य वर्षा भए पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका केही भूभागमा भने भारी वर्षाको सम्भावना रहेकाले विशेष सावधानी अपनाउन आवश्यक छ।

गएराति लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ः११ बजे जारी गरेको विवरणअनुसार पछिल्लो १२ घण्टामा ती ठाउँमा भारी वर्षा भएको हो। यस्तै उक्त अवधिमा लुम्बिनी प्रदेशकै केही ठाउँमा मध्यम वर्षा भएको छ।

मौसम महाशाखाका अनुसार कोसी, बागमती र गण्डकी प्रदेशका पनि केही ठाउँ तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मध्यमसम्म वर्षा भएको छ। वर्षाको समयमा अनावश्यक रूपमा खोलानाला तथा नदी किनारमा नजान, पहिरोको जोखिम भएका सडक तथा बस्तीमा सतर्क रहन र चट्याङ परेको समयमा सुरक्षित स्थानमा बस्न सबैमा अनुरोध छ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top