२७ भदौ , काठमाण्डौ ।
साउदी अरबको अत्यन्त महत्वपूर्ण इस्ट–वेस्ट तेल पाइपलाइनमा इराकबाट प्रहार गरिएका ड्रोनले आक्रमण गरेपछि मध्यपूर्वको ऊर्जा आपूर्ति फेरि जोखिममा परेको छ । आक्रमणपछि साउदी अरबले सुरक्षा सावधानी अपनाउँदै उक्त रणनीतिक पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ ।
यो घटनाले विश्व बजारमा कच्चा तेलको आपूर्ति प्रभावित हुनसक्ने र त्यसको प्रत्यक्ष असर तेलको मूल्यमा पर्नसक्ने चिन्ता बढाएको छ । उक्त पाइपलाइनमा बिहीबार कैयौँ ड्रोन आक्रमण भएका थिए । साउदी अधिकारीहरूका अनुसार आक्रमणमा केही व्यक्ति घाइते भएका छन् भने पाइपलाइनमा समेत क्षति पुगेको छ ।

साउदी प्रेस एजेन्सीले ऊर्जा मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै सेप्टेम्बर १० को बिहान ईस्ट–वेस्ट पाइपलाइनमा कैयौँ आक्रमण भएको जनाएको छ । त्यसपछि थप क्षति हुन नदिन र सुरक्षालाई ध्यानमा राख्दै पाइपलाइन अस्थायी रूपमा बन्द गरिएको हो ।
साउदी विदेश मन्त्रालयका अनुसार आक्रमणबाट मानवीय क्षति हुनुका साथै अन्य भौतिक क्षति पनि भएको छ । क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापनाको काम भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आक्रमणको कडा निन्दा गर्दै पाइपलाइनलाई लक्षित गर्ने कैयौँ ड्रोन इराकी क्षेत्रबाट प्रक्षेपण गरिएको जनाएको छ ।
तर साउदी अरबले तत्काल कुनै जवाफी कारबाही नगर्ने निर्णय गरेको छ । साउदी विदेश मन्त्रालयका अनुसार इराकका प्रधानमन्त्रीले साउदी अरबलाई इराकी भूमिबाट हुने यस्ता आक्रमण रोक्न आवश्यक कदम चाल्न इराकी सरकारलाई समय दिन आग्रह गरेका थिए ।
इराकी प्रधानमन्त्रीको उक्त आग्रहलाई ध्यानमा राख्दै साउदी अरबले तत्काल जवाफी कारबाही नगर्ने र इराकी सरकारका प्रयासलाई समर्थन गर्ने निर्णय गरेको हो । यद्यपि, साउदी अरबले आफ्नो सार्वभौमिकता र सुरक्षाको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ । ईस्ट–वेस्ट पाइपलाइन साउदी अरबको महत्वपूर्ण तेल पूर्वाधार हो ।
यसले देशको पूर्वी क्षेत्रमा रहेका तेल क्षेत्रलाई पश्चिमी तटसँग जोड्छ । पाइपलाइनमाथि आक्रमण साउदी अरब र यमनका हुथी विद्रोहीबीच तनाव बढिरहेका बेला भएको हो । मन्त्रालयका अनुसार आपत्कालीन तथा प्राविधिक टोली घटनास्थलमा परिचालन गरी पाइपलाइनको सुरक्षा अवस्था मूल्यांकन गरिएको छ।
पाइपलाइन पुनः कहिलेदेखि सञ्चालनमा आउने भन्नेबारे भने तत्काल स्पष्ट समयसीमा दिइएको छैन । इस्ट–वेस्ट पाइपलाइन साउदी अरबको ऊर्जा पूर्वाधारका लागि मात्र नभई विश्वव्यापी तेल आपूर्ति प्रणालीका लागि पनि रणनीतिक महत्वको मानिन्छ ।
करिब १ हजार २०० किलोमिटर लामो यो पाइपलाइनले साउदी अरबको पूर्वी क्षेत्रमा उत्पादन हुने कच्चा तेललाई लाल सागरको यान्बु बन्दरगाहसम्म पु¥याउँछ । यसले फारसको खाडीबाट समुद्री मार्ग हुँदै निर्यात गर्दा पार गर्नुपर्ने हर्मुज जलमार्गलाई धेरै हदसम्म बाइपास गर्न सहयोग गर्छ ।
सामान्य अवस्थामा पनि हर्मुज विश्व ऊर्जा बजारका लागि अत्यन्त संवेदनशील मार्ग हो। पछिल्लो समय त्यहाँको सुरक्षा अवस्था कमजोर बनेपछि साउदीको इस्ट–वेस्ट पाइपलाइनको रणनीतिक महत्व झन् बढेको थियो । यसै कारण उक्त पाइपलाइनमा भएको ड्रोन आक्रमणलाई केवल साउदी अरबमाथिको सुरक्षा चुनौतीका रूपमा नभई विश्वव्यापी ऊर्जा आपूर्ति प्रणालीमाथिको दबाबका रूपमा हेरिएको छ ।
यसमार्फत करिब ५० लाख ब्यारेल प्रतिदिनसम्म तेल सारिएको थियो, जबकि पाइपलाइनको अधिकतम क्षमता यसभन्दा अझ बढी रहेको बताइएको छ । यसको अर्थ पाइपलाइन लामो समयसम्म बन्द रहेमा साउदी तेल निर्यातको व्यवस्थापनमा दबाब बढ्न सक्छ। त्यसको असर केवल साउदी अरबमा सीमित नरही विश्व बजारमा समेत देखिन सक्छ ।
विशेषगरी अहिले मध्यपूर्वका अन्य प्रमुख तेल तथा समुद्री मार्ग पनि तनावमा रहेका कारण एउटा थप आपूर्ति मार्ग अवरुद्ध हुनु बजारका लागि संवेदनशील मानिएको छ । पाइपलाइन बन्द भएको खबरसँगै अन्तर्राष्ट्रिय तेल बजारमा मूल्यवृद्धिको चिन्ता बढेको छ।
पछिल्लो एक सातामै ब्रेन्ट कच्चा तेलको मूल्य करिब ९ प्रतिशतले बढिसकेको र शुक्रबारको कारोबारमा मूल्य १०४ डलरभन्दा माथि पुगेको रिपोर्टहरू आएका छन् ।बजार विश्लेषकहरूका अनुसार तेल आपूर्ति प्रभावित हुने डर बढेमा व्यापारीहरूले भविष्यमा अभाव हुन सक्ने अनुमान गर्दै अहिले नै तेल खरिद बढाउन सक्छन्।
त्यसले मूल्यमा थप दबाब सिर्जना गर्न सक्छ । यदि पाइपलाइन छोटो समयमै मर्मत भएर पुनः सञ्चालन भयो भने बजारको प्रभाव सीमित रहन सक्छ। तर आक्रमण दोहोरियो वा अन्य तेल पूर्वाधार तथा समुद्री मार्गसमेत प्रभावित भएमा तेलको मूल्य अझ माथि जान सक्ने जोखिम छ ।
आक्रमणपछि इराक सरकारले घटनाको अनुसन्धान थालेको छ। इराकी प्रधानमन्त्रीको कार्यालयका अनुसार साउदी अरबमा भएको पछिल्लो ड्रोन आक्रमण इराकी भूमिबाट भएको अनुसन्धानबाट पुष्टि भएपछि मायसान प्रान्तमा सैन्य कारबाहीको जिम्मेवारीमा रहेका एक कमान्डरलाई पदबाट हटाइएको छ।
इराकले आफ्नो भूमि छिमेकी मुलुकविरुद्ध आक्रमण गर्न प्रयोग हुन नदिने प्रयास गरिरहेको संकेतसमेत दिएको छ । आक्रमणपछि इरानसँग जोडिएको एउटा महत्वपूर्ण सीमा नाका बन्द गर्ने निर्णय पनि गरिएको रिपोर्ट आएको छ । यसले बग्दादमाथि आफ्नै भूमिमा सक्रिय सशस्त्र समूहलाई नियन्त्रणमा राख्न थप दबाब बढाएको छ ।
साउदी तेल पाइपलाइनमाथिको आक्रमण त्यतिबेला भएको छ, जतिबेला लाल सागर र बाब–अल–मन्देब क्षेत्रमा पनि तनाव तीव्र भइरहेको छ। यमनका इरानसमर्थित हुथी विद्रोहीहरू रणनीतिक पेरिम (मायुन) द्वीप क्षेत्रमा पुगेको रिपोर्टहरू आएका छन्। यो क्षेत्र बाब–अल–मन्देब जलडमरूमध्यसँग जोडिएको छ, जुन विश्वव्यापी समुद्री व्यापार र ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मार्ग हो ।
यसरी हेर्दा अहिले मध्यपूर्वमा तेल आपूर्तिका दुई महत्वपूर्ण वैकल्पिक मार्ग—हर्मुज र बाब–अल–मन्देब आसपासका समुद्री मार्ग तथा साउदीको इस्ट–वेस्ट पाइपलाइन—एकैपटक सुरक्षा चुनौतीमा परेका छन्। यसले अन्तर्राष्ट्रिय बजारमा आपूर्ति अवरोधको जोखिमलाई अझ गम्भीर बनाएको छ ।
यता ड्रोन आक्रमणपछि साउदी अरब र इराकबीच कूटनीतिक सम्बन्धमा पनि दबाब बढ्न सक्ने देखिएको छ। साउदीले प्रत्यक्ष रूपमा इराकी सरकारलाई दोष नदिए पनि आफ्नो भूमिबाट आक्रमण भएको विषयलाई गम्भीर रूपमा उठाएको छ । इराकका लागि पनि समस्या कम छैन।
इराकी भूमिबाट छिमेकी मुलुकमाथि आक्रमण भइरहेको प्रमाण देखिएमा बग्दादमाथि आफ्ना भूभागमा रहेका सशस्त्र समूह नियन्त्रण गर्न अन्तर्राष्ट्रिय दबाब बढ्न सक्छ। विशेषगरी इरानसँग नजिक रहेका सशस्त्र समूहहरूका गतिविधि नियन्त्रण गर्न इराकी सरकारलाई थप चुनौती हुने देखिन्छ।
सबैभन्दा ठूलो चिन्ता भनेको साउदी अरबले आगामी दिनमा कस्तो प्रतिक्रिया दिन्छ भन्ने हो । अहिलेका लागि रियादले संयम अपनाएको छ। तर आक्रमण दोहोरिएमा वा पाइपलाइनमा ठूलो क्षति पुगेमा साउदी अरबले सैन्य कदम चाल्न सक्ने सम्भावना पूर्ण रूपमा अस्वीकार गरेको छैन।
साउदी विदेश मन्त्रालयले आवश्यक कदम चाल्ने अधिकार सुरक्षित रहेको स्पष्ट गरिसकेको छ । यदि साउदी र इराक वा इरानसमर्थित समूहबीच प्रत्यक्ष सैन्य तनाव बढ्यो भने त्यसले मध्यपूर्वको द्वन्द्वलाई थप विस्तार गर्न सक्छ। यस्तो अवस्थामा तेल उत्पादन, भण्डारण, पाइपलाइन, बन्दरगाह र समुद्री यातायातमा थप आक्रमण हुन सक्ने जोखिम हुन्छ।
त्यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय बजारमा पर्नेछ । विश्व बजारमा कच्चा तेलको मूल्य बढेमा त्यसको असर तेल आयातमा निर्भर नेपालजस्ता मुलुकमा पनि पर्न सक्छ। अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पेट्रोलियम पदार्थको खरिद लागत बढ्न सक्छ ।
यसले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्यमा दबाब सिर्जना गर्नुका साथै ढुवानी लागत, सार्वजनिक यातायात, हवाई सेवा, कृषि उत्पादनदेखि दैनिक उपभोग्य वस्तुको मूल्यसम्म अप्रत्यक्ष प्रभाव पार्न सक्छ। विशेषगरी लामो समयसम्म तेलको मूल्य उच्च रहेमा मुद्रास्फीतिमाथि थप दबाब पर्न सक्छ।




