२७ भदौ , काठमाण्डौ ।
एसीसी प्रिमियर कपको जारी फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई ३१४ रनको चुनौती दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै नौ विकेटको क्षतिमा ३१३ रन बनाएको हो ।
यूएईविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले शतक बनाउँदा अलराउन्डर गुल्सन झाले अर्धशतक बनाए । १०३ बलको सामना गर्दा चार छक्का र ८ चौकाका मद्दतमा उनले शतक पूरा गरेका हुन् । आशिफ १०६ बलमा १०२ रन बनाउँदा आउट भए । उनी हैदर अलीको बलमा क्याच आउट भए ।

पाँचौक्रममा ब्याटिङ गर्न आएका झाले ३६ बलको सामना गर्दा तीन चौका र चार छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् । २१ ओभरको अन्तिम बलमा नेपालका ओपनर अर्जुन कुमाल आशिफसँग तालमेल नमिल्दा रनआउट भए । आउट हुनु अघि उनले आशिफसँग ९७ रनको साझेदारी गरे ।
अर्जुनले ६३ बलमा ६ चौका प्रहार गर्दै ४३ रन बनाए । नेपालका लागि रोहित पौडेलले दुई चौकाको मद्दतमा ४४ बलमा ४० रन बनाउँदा दिपेन्द्रसिंह ऐरीले १८ बलमा १८ रन बनाए । इशान पाण्डेले २० बल खेल्दा १३ रन जोडे भने करण केसी दुई बलको सामना गर्दा मात्र एक रन जोडेर आउट भए ।
यूएईका इब्रार अहमदले चार, खुजैमा तनवीरले दुई तथा हैदर अली र आदिब उस्मानीले एक÷एक विकेट लिए । अहिले युएई नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा छ । दुवै टोली दोस्रो पटक एसीसी प्रिमियर कपको उपाधि उचाल्ने दाउमा छन् । सन् २०२३ मा काठमाडौँमा भएको पहिलो संस्करणको फाइनलमा नेपालले युएईलाई नै ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
त्यस्तै, सन् २०२४ को दोस्रो संस्करणमा आयोजक ओमानलाई हराउँदै युएई च्याम्पियन बनेको थियो । यसपटकको विजेता टोलीले मात्र आगामी एसिया कपमा स्थान सुरक्षित गर्ने भएकाले दुवै टोलीका लागि यो भिडन्त निकै महत्त्वपूर्ण मानिएको छ । जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनल गरी पाँचमध्ये चार खेल जितेको छ भने एक खेलमा पराजय व्यहोरेको छ ।
युएई भने प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश गरेको टोली हो । एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १९ पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये नेपाल ११ खेलमा विजयी भएको छ भने युएईले ८ खेल आफ्नो पक्षमा पारेको छ ।
पछिल्ला पाँच भेटमा पनि नेपाल ३ खेल जित्दै हाबी देखिएको छ । गत मे महिनामा भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गतका दुवै खेलमा नेपालले युएईलाई पराजित गरेको थियो ।




