जितिसकेको खेल विराटनगरले हार्याे,चितवनको रोमाञ्चक जित

१० कात्तिक २०८३, मंगलबार
Share this
772shares

१० कार्तिक , काठमाण्डौ ।

Advertisement

कमल ऐरीको घातक बलिङसामु विराटनगर किंग्सको नाटकीय ब्याटिङ पतन भएपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजले ८ रनको रोमाञ्चक जित हात पारेको छ। जितका लागि पाएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक समय १५.४ ओभरमा १३२÷४ को बलियो स्थितिमा जिततर्फ लम्किरहेको विराटनगरले अन्तिम ६ विकेट मात्र १७ रन जोड्दा गुमाउन पुग्यो। आन्द्रे रसेल आउट भएपछि विराटनगरको इनिङ्स लगातार ढल्न पुगेको थियो। चितवनको जितमा तीव्र गतिका बलर कमल ऐरी नायक बने।

Advertisement

उनले ४ ओभरमा २६ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। कमलले खेल पल्टाउने क्रममा विष्फोटक ब्याटिङ गरिरहेका आन्द्रे रसेल (३३), बसिर अहमद (१३), एन्जेलो म्याथ्युज (१४) र रुपेश सिंह (०) लाई पेभेलियनको बाटो देखाए। यस्तै, रिजन ढकालले १९औं ओभरमा उत्कृष्ट बलिङ गर्दै प्रतिश जिसी र कप्तान सन्दीप लामिछानेलाई शून्य रनमै आउट गरी २ विकेट चट्काए।

टम टेलर, रञ्जित कुमार, ड्यान मौस्ले र मौसम ढकालले १–१ विकेट हात पारे। विराटनगरका लागि ओपनर इमरान शेखले ३१ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३९ रन बनाए। यस्तै, आन्द्रे रसेलले १७ बलमा १ चौका र ४ छक्काको मद्दतमा ३३ तथा ओपनर लोकेश बमले १४ बलमा ४ चौका र १ छक्कासहित २६ रनको आक्रामक पारी खेले।

Advertisement

मध्यक्रममा एन्जेलो म्याथ्युजले १४, बसिर अहमदले १३, सुभम रञ्जानेले १० र चरिथ असालंकाले ८ रन बनाए। तल्लो क्रमका रुपेश सिंह, प्रतिश जिसी र कप्तान सन्दीप लामिछाने शून्य रनमै आउट भएपछि विराटनगर जितको नजिक पुगेर पनि स्तब्ध हुन पुग्यो। नरेन साउद २ रनमा अविजित रहे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो। चितवनका लागि ओपनर डेविड मलानले ५० बलमा ५ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ७० रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।

कप्तान रवि बोपाराले अविजित ३२ र ड्यान मौस्लेले अविजित २९ रन जोडेका थिए। विराटनगरका लागि बलिङमा एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असालंकाले १–१ विकेट लिएका थिए। यो खेलमा विराटनगरका बलरले विकेटका लागि निक्कै संघर्ष गर्न पर्यो। चितवनलाई मध्यम लक्ष्यमा रोक्न विराटनगरका लागि तीनै विकेट विदेशी खेलाडी लिएका हुन्।

नेपाली राष्ट्रिय टोलीका समेत कप्तान रहेका सन्दिप लामिछाने पनि पूरै चार ओभर बलिङ गर्दा विकेटबिहिन भए। सन्दिपले ४ ओभरमा २३ रन खर्चिए। प्रतिश जिसीले ३ ओभरमा २३ रन खर्चिए। रुपेश सिंहले २ ओभरमा १८ रन खर्चिँदा विकेट लिन सकेनन्। अमेरिकन अलराउन्डर शुभम रन्जने पनि १ ओभरमै १७ रन खर्चिएर विकेटबिहिन नै रहे।

चरित असलंका, एन्जेलो म्याथ्युज र आन्द्रे रसेलले एक÷एक विकेट हात पारे। समान ३ ओभरमा असलंकाले १८ र एन्जेलो म्याथ्युजले १५ रन मात्रै खर्चिए। रसेलले चार ओभरमा ३९ रन खर्चिए। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो अर्धशतक बनाउने खेलाडी चितवन राइनोजका डाविड मलान बनेका छन्।

मलानले ४१ बलको सामना गर्दै ५० रन पूरा गरेका हुन्। आक्रामक ब्याटिङ गरेका उनले ५१ बलमा ७० रनको योगदान दिए। मलानको इनिङ्समा ५ चौका र ५ छक्का समावेश थियो। उनको ब्याटिङका कारण चितवनले खेलमा बलियो सुरुवातसमेत पाएको थियो। मलानलाई विराटनगरका आन्द्रे रसेलले आउट गरेका हुन्।

रसेलले चितवनको इनिङ्सको १३औँ ओभरको दोस्रो बलमा मलानको विकेट लिएका थिए। रसेल, अस्लंका र एन्जेलोजस्ता विश्व चर्चित खेलाडीलाई अनुबन्ध गरेको देख्दा विराटनगर किंग्सले उपाधिमाथि कडा आँखा लगाएको विश्लेषण गरिएको थियो । तर पहिलो खेलमै विराटनगरले धक्का खाएको छ ।

टोलीले पहिलो सिजनमा पनि मार्टिन गप्टिल, क्रिस सोलजस्ता खेलाडी भित्र्याएर चर्चा बटुलेको थियो। दोस्रो सिजनमा त झन् फाफ डुप्लेसिस र मर्चेन्ड डी लाङजस्ता खेलाडीलाई ल्याएर आफ्नो हाइप बढाएको थियो । यद्यपि टोलीले चर्चा अनुसारको उपलब्धि हात पार्न सकेको छैन ।

पहिलो सिजनमा लिग चरणमै सीमित भएको विराटनगरले दोस्रो सिजनमा भने प्रभावकारी रूप देखाउँदै प्लेअफ सम्मको यात्रा तय गरेको थियो । विराटनगरको प्रशिक्षण यसपटक पनि धम्मिका प्रसादले नै सम्हाल्ने छन् ।

दोस्रो सिजनमा पनि प्रसाद नै विराटनगरका प्रशिक्षक थिए । विराटनगरले अब २९ अक्टोबरमा कर्णालीसँग खेल्दैछ । कर्णालीले भने आज पहिलो खेलमा जनकपुरसँग प्रतिस्पर्धा गर्दैछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top