१० कार्तिक , काठमाण्डौ ।
लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन नेपाल प्रहरी प्रधान कार्यालयको निर्देशन ।
प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानुन तथा मानव अधिकार महाशाखाले सूचना जारी गर्दै तोकिएको अवधिभित्र सम्पर्कमा नआए सेवाबाट हटाउने कारबाही गरिने उल्लेख ।

२०८३ कात्तिक १० गते प्रकाशित सूचनाअनुसार सम्बन्धित प्रहरी कर्मचारीहरू २०८३ साउनदेखि कार्यालयमा गैरहाजिर रहेका छन्।
खोजतलास गर्दा तथा यसअघि सूचना प्रकाशन र टाँस गर्दासमेत उनीहरू सम्पर्कमा नआएपछि पुनः सूचना जारी गरिएको हो।

प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर हुनुको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन भनेको छ।
सूचनामा परेका कर्मचारीमध्ये दिलिप कुमार सिंह, अनिल परियार, सगम बिसी, सजिव राई, समिर लिम्बु, सन्तोष तामाङ, विनोद दरै, टोपबहादुर सुनार, यसोदा कुमारी बोगटी, करनबहादुर विष्ट र अम्मर सिंह साउद रहेका छन्।
उनीहरू विभिन्न जिल्लाका प्रहरी कार्यालय तथा मातहतका इकाइमा कार्यरत थिए।



