काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीन दिने भारत भ्रमणमा जाने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भारत भ्रमण स्वीकृत गरेको हो।अर्थमन्त्री वाग्ले बिहीबार ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली प्रस्थान गर्नेछन्। भ्रमण टोलीमा अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारी सहभागी हुनेछन्।
विपद्पछिको पुनर्निर्माण तथा नेपाल–भारतबीच आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्यका विभिन्न विषयमा छलफल गर्नु भ्रमणको मुख्य उद्देश्य रहेको अर्थ मन्त्रालयले जनाएको छ।भ्रमणका क्रममा बिहीबार साँझ ५ बजे अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन्। शुक्रबार उनले भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
सोही दिन भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। त्यसपछि भारत व्यापार संवर्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा पनि उनी सहभागी हुनेछन्।शनिबार बिहान भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाका प्रतिनिधिसँगको सम्मेलनमा अर्थमन्त्री वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।

त्यसैगरी, शनिबार दिउँसो दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
अर्थमन्त्री वाग्ले शनिबार साँझ नेपाल फर्कने कार्यक्रम रहेको छ।




