१ असोज , काठमाण्डौ।
भारत सरकारको निमन्त्रणामा मन्त्री वाग्ले आज बिहान ७ः३५ बजेको उडानबाट नयाँदिल्ली प्रस्थान गरेका छन् । विपद्पछिको पुनर्निर्माणलगायत दुई देशबीचको आर्थिक, राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको उनको सचिवालयले जनाएको छ ।
अर्थमन्त्री डा. वाग्लेले आज साँझ ५ बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नेछन् । भेटमा दुई देशबीचको आर्थिक सम्बन्ध, सहकार्यका सम्भावित क्षेत्र तथा नेपालका विकास प्राथमिकताका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

नेपालले विपद्पछिको पुनर्निर्माणलाई गति दिनुपर्ने अवस्थामा वाग्लेको भारत भ्रमणलाई आर्थिक सहकार्य विस्तारका दृष्टिले पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ । यस्तै भोली शुक्रबार बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।
शुक्रबार साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ताको कार्यक्रम छ । यस्तै शुक्रबार साँझ ७ः३० बजे भारत व्यापार सम्वद्र्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा उनी सहभागी हुनेछन् ।
शनिबार बिहान ९ः३० बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानासँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् । सोही दिन ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ ।
अर्थमन्त्री डा. वाग्ले शनिबार साँझ ४ बजे स्वदेश फिर्ता हुने कार्यतालिका छ । उनको भ्रमण टोलीमा अर्थमन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावास उपनियोग प्रमुख डा. सुरेन्द्र थापा र इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत छन् ।
नेपाल र भारतबीच आर्थिक सहकार्यका नयाँ सम्भावना खोज्ने उद्देश्यसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणमा निस्किएका हुन् । भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्तासँगै व्यापार, लगानी, औद्योगिक सहकार्य र विकास अर्थनीतिका विषयले प्राथमिकता पाउने भएका छन् ।
भ्रमणका क्रममा अर्थमन्त्रीले भारतीय निजी क्षेत्रसँग प्रत्यक्ष संवाद गर्ने अवसरसमेत पाउनेछन् । यसले नेपालमा लगानीको सम्भावना, औद्योगिक सहकार्य र दुई देशबीच आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने विषयमा छलफलको अवसर दिनेछ ।
यस्तै विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा सहभागिताले नेपालका आर्थिक नीति र विकासका अनुभव तथा चुनौतीलाई भारतीय तथा अन्तर्राष्ट्रिय प्राज्ञिक वृत्तमा प्रस्तुत गर्ने अवसरसमेत प्रदान गर्नेछ ।




