१ असोज , काठमाण्डौ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ५ बजे सम्म १ हजार ४०९ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १९९ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी १ हजार ४०७ जनाको शव फेला परेको हो ।
साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २३७ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ ।

शव पहिचानका लागि मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९१४ गरी कुल ३ हजार २०० वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३६१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ८९ जनाको खोजी कार्य भइरहेको छ ।
यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ९७९ जना व्यक्तिहरूलाई राखिएको छ । प्राधिकरणका अनुसार बाढीपछि अहिलेसम्म १३ हजार ७४२ जनाको उद्धार गरिएको छ । प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ ।
सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ । यसबीच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत १९१ सवारीसाधनमा क्षति पुगेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढीले देशभरका नौ कम्पनीका १९१ सवारीसाधनमा क्षति पुग्दा उक्त सवारीसाधनका चालक, सहचालक र यात्रु गरी ३४४ व्यक्ति बेपत्ता भएका छन् ।
महासङ्घका अनुसार भोटेकोशी बाढीबाट नेपाल अरनिको यातायात सेवा प्रालिअन्तर्गत १९ बस, एक मिनिट्रक, दुई जीप, चार कन्टेनरमा क्षति पुग्दा ५० मजदुर बेपत्ता भएका छन् । यस्तै, नमस्ते पासाङ ल्हामु यातायात प्रालि बालाजुका १९ बस क्षति हुँदा २१ व्यक्ति बेपत्ता भएका छन् ।
भक्तपुर न्यू भिजन यातायात प्रालिका दुई कन्टेनरमा क्षति पुग्दा दुई चालक बेपत्ता भएका छन् । यसैगरी, हिमालयन यातायात कम्पनीका चार ट्रक, १६ कन्टेनर, एक सुमोमा क्षति पुग्दा १० चालक बेपत्ता भएका छन् । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिअन्तर्गत सात टिपर, २२ कन्टेनर, २३ ट्रक र एक ट्रेलरमा क्षति हुँदा ४५ चालक बेपत्ता भएका छन् ।
नारायणी यातायात व्यवसायी कम्पनी प्रालिको ५९ ट्रक र कन्टेनरमा क्षति पुग्दा ७० जना बेपत्ता भएका छन् भने नेपाल माइक्रो कम्पनीका नौ माइक्रोबसमा क्षति पुगेको छ । यसैगरी, पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको एक बसमा क्षति पुग्दा एक चालक र २२ यात्री बेपत्ता भएका छन् ।
यस्तै, धादिङ मण्डली यातायात प्रालिको एक बसमा क्षति पुग्दा एक चालक र २५ तीर्थयात्री बेपत्ता भएको महासङ्घका महासचिव गौतमले बताए । यता हिजोदेखि देशका केही जिल्लामा भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लमजुङ, कपिलवस्तु, म्याग्दी, नवलपुर र संखुवासभामा भारी वर्षा भएको छ ।
आज पनि देशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी तथा तराई भू–भाग, बागमती प्रदेशको तराई र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा कर्णालीका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। देशका पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने तराईका थोरै स्थानमा समेत मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ ।
राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा लुम्बिनीका पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना छ।
कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। मधेश तथा कोशी प्रदेशका तराई भू–भागका केही स्थान र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसबीच पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा नयाँ ट्र्याक खोलिएसँगै १८ दिनपछि दुईतर्फी सवारीसाधनहरू गुड्न थालेका छन् । भोटेकोशीमा विनाशकारी बाढी आएको चार दिनपछि अर्थात १४ भदौमा त्रिशूलीमा आएको बाढीले कृष्णभिरमा सडक कटान गरेपछि त्यसयता यो राजमार्ग अवरुद्ध थियो ।
२८ भदौमा केही हेभी सवारीसाधन पास गराएर नयाँ ट्र्याकको परीक्षण गरिएको थियो । त्यसपछि पनि नयाँ ट्र्याकलाई पूर्णता दिन निरन्तर काम गरिएको थियो । जिल्ला प्रशासन कार्यालय धादिङले आज बिहान ६ बजेदेखि पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा ल्याउने निर्णय बुधबार गरेको थियो ।
कृष्णभिर क्षेत्रमा सम्बन्धित निकायहरूको निरन्तरको प्रयासबाट नयाँ ट्र्याक निर्माण गरिएको भन्दै आज बिहान ६ बजेदेखि राजमार्ग दुईतर्फी सञ्चालन गर्ने निर्णय गरिएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले जानकारी दिइन् ।
पृथ्वी राजमार्गका विभिन्न स्थानहरूमा अझै पनि सडक भासिने, पहिरो जाने, ढुंगा–माटो खस्ने त था अन्य जोखिम कायमै रहेको भन्दै प्रशासनले सवारी चालक र यात्रुहरूलाई सावधान अपनाउन अनुरोध समेत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आज बिहानैदेखि पृथ्वी राजमार्गमा सवारीसाधनहरू सञ्चालनमा आएका छन् । पृथ्वी राजमार्ग सञ्चालनमा आएसँगै संघीय राजधानी काठमाडौं आउजाउ गर्न यात्रुहरूलाई सहज हुने भएको छ ।
पृथ्वी राजमार्ग बन्द हुँदा सो मार्ग भएर चल्ने ठूला तथा साना सवारीसाधनहरू वैकल्पिक राजमार्ग प्रयोग हुँदै काठमाडौं आउजाउ गरिरहेका थिए । यसबीच पहिरो तथा बाढीका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका केही सडकखण्डमा यातायात पूर्ण रूपमा रोकिएको छ भने केही स्थानमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ । बागमती प्रदेशअन्तर्गत रसुवामा बाढीका कारण मुख्य राजमार्गको सम्पूर्ण सडकखण्ड अवरुद्ध भएको छ । विभागले अर्को सूचना नभएसम्मका लागि सडक बन्द रहेको जनाएको छ ।
नुवाकोटमा टोखा–छहरे सडकखण्डको शिवपुरी गाउँपालिका–६ धादिङखोला क्षेत्रमा बाढी तथा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै, विदुर नगरपालिका–१० सिमटारमा पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको विवरणमा उल्लेख छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित पृथ्वी लोकमार्गमा पहिरोका कारण यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । यस्तै, गण्डकी प्रदेशको मनाङमा नासों गाउँपालिका–३ क्षेत्रमा चामे–बेँसीसहर सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
कर्णाली प्रदेशको हुम्लामा सर्केगाड गाउँपालिका–६ क्षेत्रमा कर्णाली करिडोरसमेत पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको सडक विभागको विवरणमा उल्लेख छ । विभागले सम्भावित बाढी, पहिरो तथा जोखिमयुक्त सडकखण्डमा आवश्यक सतर्कता अपनाउन र सडक खुल्ने÷बन्द हुने अवस्थाबारे सम्बन्धित निकायको सूचनालाई आधार मानेर यात्रा गर्न आग्रह गरेको छ ।




